PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सात वर्षपछि सरकारी सिटामोल



सागर बुढाथोकी

सात वर्षपछि सरकारी सिटामोल

काठमाडौं : नेपाल औषधि लिमिटेडले बन्द भएको सात वर्षपछि सिटामोल उत्पादन सुरु गरेको छ। औषधि लिमिटेडका महाप्रबन्धक रोवस कुसुम सुवेदीले ८० हजार सिटामोल ट्यावलेट परीक्षणमा लैजाने तयारी गरेको बताए। यो उत्पादनको एक चौथाइ हो। 

अबको एक सातामा परीक्षणको नतिजा आउने सुवेदीले बताए। भने, ‘परीक्षणको नतिजा पछि कमर्सियल ब्याच उत्पादन गर्छौं। जनताको हातमा औषधि फागुनभरमा पुग्छ।’

सिटामोलको माग धेरै भएकाले अन्य उत्पादनमा गृहकार्य गर्न नसकेको सुवेदी बताउँछन्। अन्य उत्पादनहरुको नाम नयाँ वर्षसम्म सार्वजानिक गर्ने उनले बताए। विश्व स्वास्थ्य संगठनको गुणस्तर मापन चिन्ह (जिएमपी) पूरा गर्न नसकेर बन्द भएको औषधि लिमिटेडले १० महिनाअघि जीवनजल उत्पादन सुरु गरेको थियो।

‘अहिले हामी क्वालिटीमा कुनै कम्प्रोमाइज गर्दैनौं। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रयोगशाला र प्रविधि छ,’ सुवेदीले भने, ‘एउटा उत्पादनबाट हामीलाई धेरै फाइदा कमाउनु छैन। अबको केही महिनामा दुर्गम ठाउँमा सिटामोल नपाएर जनता मर्दैनन्।’

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वार्षिक १३ करोड सिटामोलको माग छ। बजारमा सिटामोलको अभाव छ। उत्पादन भएको १० महिना पुग्दासम्म जीवनजल माग अनुसार आपूर्ति भएको छैन्। जीवनजलको जस्तै सिटामोलमा अभाव हुन नदिन गृहकार्य भइरहेको सुवेदीले बताए। भने, ‘सिटामोल उत्पादन गरेर बजारमा पठाउनुअघि स्टक राखेर मात्र पठाउने योजना  छ। त्यसका लागि औषधिका १५ लाख चक्की उत्पादन गर्नुपर्छ। जीवनजल अभाव हुन नदिन पनि उत्पादन बढाउने कार्य भइरहेको छ।’

नेपाल औषधि लिमिटेड २०२९ सालमा स्थापना भएर २०६७ सालमा बन्द भएको थियो। लिमिटेडले १ सय २० थरी ‍औषधि उत्पादन गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell