काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता को रुपमा खटाएको छ।
अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।
एसएसपी पोखरेलले भने, 'हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा छ।'
राजधानीमा विभिन्न पेशा, संस्था र विद्यालयमा आवद्ध युवालाई ‘खबरी’को रुपमा परिचालन गर्न लागिएको हो। प्रहरीलाई अपराध र फरार अभियुक्तको बारेमा जानकारी दिने युवालाई पुस्कृत गरिने एसएसपी पोखरेलले बताए।
प्रहरीलाई सुराकी दिने युवाको समूहमा ट्याक्सी चालकदेखि चिकित्सकसम्म रहेका छन्। प्रहरीमा सूचनाको अभाव हुँदा अपराध नियन्त्रणमा समस्या आएको एसएसपी पोखरेले बताए। उनले भने, 'युवा परिचालन गरिएपछि प्रहरीमा सूचनाको अभाव हुँदैन।'
यसरी प्रहरीमा सूचनाका लागि युवालाई परिचान गर्दा कसैले गतल सूचना दिने र आफूलाई प्रहरीको मान्छे हुँ भन्दै समाजमा त्रास फैलाउने सम्भावना पनि देखिन्छ।