काठमाडौंः प्रहरीले अवैध हुन्डी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जयदुर्गा ट्रेड इन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्णगोपाल अग्रवाल, मुस्कान तामाङ र कुरियरको काम गर्ने जयराम कार्की रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरी १५ लाख ९२ हजार रुपैयाँ समेत बरामद गरेको छ।
पक्राउ परे हुन्डी कारोबारी
पवि क्षेत्री र लक्ष्मीदेवी चपागाईँलाई फेसबुकमार्फत् केही समय अगाडि चिनजान भएका व्यक्तिले बेलायतबाट ४० हजार पाउण्ड उपहार परेको जानकारी दिन्छ। उसले उपहार रकम दिल्ली हुँदै नेपाल पठाउने जानकारी फेसबुकबाटै दिन्छ।
४० हजार पाउण्ड उपहार आउन लागेकोमा पवि र लक्ष्मी दुबै दङ्ग हुन्छन्। दुबै जनालाई केही दिनमा भारतबाट अपरिचित नम्बरबाट फोन आउँछ। फोनमा अपरिचित व्यक्तिले भन्छन 'तपाइँहरुको उपहार रकम दिल्लीमा आइसकेको छ। अब केही दस्तुर तिर्नुपर्छ।'
४० हजार पाउण्डको लोभमा उनीहरुले पटक-पटक गरेर दुबै जनाले ५१ लाख रुपैयाँसम्म पठाएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक अनिल अधिकारीले बताए।
अधिकारी भन्छन 'दुबै जनाले पटक-पटक गरेर ५१ लाख रुपैयाँ पठाएपछि पनि पैसा नआएपछि ठगीएको भन्दै प्रहरीको सम्पर्कमा आउनुभएको हो।'
दुबै महिलाले दिल्लीबाट फोनमा बताए अनुसार सीतापाइला बस्ने वर्ष ४१ को जयराम कार्कीलाई ४ पटक गरी ४६ लाख रुपैयाँ दिल्ली पठाउनका लागि दिएको देखिएको छ। कार्कीले उक्त रकम दिल्लीको व्यक्तिलाई पठाउन भनी सुनसरी धरान स्थायी घर भई हाल काठमाण्डौ खिचापोखरीमा जयदुर्गा ट्रेड इन्टरनेशनल नामक कस्मेटिक होलसेल पसल सञ्चालन गरी बस्ने नारायण अग्रवाललाई दिने गरेका थिए।
अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई रकम पठाउने गरेको अनुसन्धानमा देखिएको हो। उनीहरु ठगीसँगै हुन्डीको कारोबारी हुन्।