PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

राष्ट्रिय सभा अध्यक्षको रेसमा को को छन् एमाले नेता? 



पासाङ ठकुल्ला

राष्ट्रिय सभा अध्यक्षको रेसमा को को छन् एमाले नेता? 

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै एमालेभित्र आकांक्षीहरुको दौडधुप सुरु भएको छ। 

वाम गठबन्धनभित्रका दल एमाले-माओवादीबीच भएको भागबन्डा अनुसार राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको छ। एमाले नेताहरु भित्रभित्रै राष्ट्रिय सभा अध्यक्षका लागि लविङ सुरु गरेका छन्। 

एमालेभित्र पोलिटव्यूरो सदस्यहरु गणेश तिमिल्सिना र परशुराम मेघी गुरुङसँगै केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम राष्ट्रिय सभा अध्यक्षका लागि चर्चामा छ। 


को को छन् रेसमा? 

गणेश तिमिल्सिना

नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्षका आकांक्षी हुन्। उनी प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। 

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका तिमिल्सिना पञ्चायती सरकार विरुद्ध विद्रोह गर्दा ४ वर्ष जेल परेका थिए। जेलमै रहँदा उनको भेट हालका प्रधान मन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट नेता हितकाजी गुरुङसँग भयो। त्यसपछि उनी कम्युनिष्ट आन्दोलनमा झन् सक्रिय भए। 

२०४६ सालमा उनी जेलबाट छुटेपछि प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए। नेकपा एमालेको छैटौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसपछि पार्टी राजनीतिमा पछाडि फर्किनु परेको छैन। 

नवौँ महाधिवेशनबाट एमालेको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएका उनी २४ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश ४ बाट निर्वाचित भएका थिए। 

पार्टीको पुरानो नेता भएको भन्दै उनले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गरिरहेका छन्। 'मेरो राजनीतिक अनुभव, जिल्लामा कुशलतापूर्वक निर्वाह गरेको भूमिकाको आधारमा पनि मलार्इ राष्ट्रिय सभाको अध्यक्षका लागि अगाडि सार्नुभएको हो,' उनले पहिलोपोस्टसँग भने, 'पार्टीले मलार्इ विश्वास गरेर जिम्मेवारी दिएमा म पछाडि हट्दिन।'


खिमलाल भट्टराई

एमाले नेता खिमलाल भट्टराई पनि राष्ट्रिय सभा अध्यक्षका आकांक्षी हुन्। प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ५ बाट निर्वाचन लड्ने चर्चा चलेको थियो। अन्तिम समयमा माओवादीसँग भएको सहमतिपछि उनी पछि हट्नु परेको थियो। 

विद्यार्थी जिवनबाट राजनीतिमा प्रवेश गरेका भट्टरार्इ नवौँ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका उनी राष्ट्रिय सभा सदस्यमा प्रदेश ५ बाट खुला तर्फ ३००६ मत लिएर विजयी भएका थिए। 

नयाँ परिस्थितिमा बनेको राष्ट्रिय सभाको गरिमालार्इ माथि उठाउन आफ्नो दाबेदारी रहेको उनको भनाइ छ। 

'राष्ट्रिय सभा समावेशी ढंगले बनेको छ, यसको राष्ट्रिय चरित्रलार्इ अगाडि बढाउनका लागि मेरो अनुभव र मेरो क्षमताकै आधारमा मैले दाबी गरेको हुँ,' उनले भने, 'अहिलेको नयाँ परिवेशमा यसको गरिमालार्इ माथि लैजानका लागि पनि मेरो साझा चरित्रले काम गर्न सक्छ।'

उनले पार्टीभित्र छलफलकै क्रममा रहेको भन्दै पार्टीले जिम्मेवारी दिए पूरा गर्ने बताए। 
 

परशुराम मेघी गुरुङ

प्रदेश १ बाट राष्ट्रय सभा सदस्यमा निर्वाचित भएका गुरुङ यसअघि दुर्इपटक सांसद भइसकेका छन्। एमालेका पोलिटव्यूरो सदस्यसमेत रहेका उनी यसअघि २०४८ र २०५१ मा सांसद भएका थिए। 

राष्ट्रिय सभाको अध्यक्षका लागि उनले पनि इच्छा देखाइरहेका छन्। पार्टीभित्र पुरानो र अनुभवी नेताको आधारमा पनि उनको नाम अगाडि आएको छ। 'मेरो अनुभव र छविकै कारण साथीहरुले स्वभाविक रुपमा मेरो नाम लिनु भएको छ,' उनले भने, 'पार्टीले योग्य ठानेर जिम्मेवारी दिए पूरा गर्नेछु।'

राष्ट्रिय सभाका अध्यक्षका लागि फागुन ३० गते निर्वाचन हुने कार्यसूची तय भएको छ। निर्वाचन कार्यतालिका अनुसार २९ गते राष्ट्रिय सभा अध्यक्षको लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell