PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

प्रधान मन्त्री ओलीको प्रश्न : देब्रे घुँडा र दाहिने घुँडा पनि नचिन्ने सेवाले कहाँ पुर्‍याउँछ?



पहिलोपोस्ट

प्रधान मन्त्री ओलीको प्रश्न : देब्रे घुँडा र दाहिने घुँडा पनि नचिन्ने सेवाले कहाँ पुर्‍याउँछ?

काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले समयसीमा भित्र काम सम्पन्न नगर्ने माथि कारवाही गर्ने बताएका छन्। वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'मैले सुनेको छु, एउटा पुलको ११ पटक शिलान्यास भयो, अब यस्तो दिन समाप्त भयो,' उनले भने 'समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नै पर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ ।'

प्रधान मन्त्री ओलीले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने दाबी गर्दै अगाडि भने, 'विसं २०७७ भित्र मैले शीलान्यास गरेको भवन निर्माण सम्पन्न हुनै पर्छ।'

वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको बताउँदै उनले भने, 'म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचार मुक्त बनाउँछु।' 

कार्यक्रममा बोल्दै ओलीले सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा रहेको भन्दै स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई निर्देशन दिए। 

'देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काको उपचार गर्ने? यो तहको चिकित्सा सेवाले कहाँ पुर्‍याउँछ?,' प्रधान मन्त्री ओलीले प्रश्न गर्दै अगाडि भने, 'यस प्रकारको हेलचेक्राइ दोहोरिन भएन, चिकित्सक र सिंगो चिकित्सा क्षेत्र गम्भीर बन्नुपर्‍यो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell