काठमाडौं : टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलालीका सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइँदैछ। जिल्ला कारागारमा अनशनरत चौधरी विरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याउन लागिएको हो।
बुद्ध एयरको विमानबाट काठमाडौं पठाउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहोराले पहिलोपोस्टलाई जानकारी दिए।
एक साताअघिदेखि चौधरी हिरासतभित्रै आमरण अनशनमा थिए। अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको वीर अस्पताल पठाउन लागेको डिएसपी बोहोराले बताए।
चौधरी सहित टीकापुर घटनामा समातिएकाहरु अनशनमा छन्। उनीहरुले राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेका चौधरीलाई प्रतिनिधि सभामा निवार्चित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने जनाएका छन्।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यले शनिवार गृह मन्त्री रामबहादुर थापालाई भेटेर चौधरीको माग पूरा गर्न ध्यानाकर्षण गराएका थिए। साथै राजपाले प्रधान मन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ।