काठमाडौं: न्यायाधीश चोलेन्द्रशम्शेर जवराले विवादित प्रधान न्यायाधीशसँगको बेन्चमा रहेर न्याय सम्पादन गर्न अस्वीकार गरेपछि कान्तिपुर दैनिकविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दामा नयाँ ट्विस्ट आएको छ।
मुद्दा सुनुवाइको दोस्रो दिन जवराले फरक मत राखेसँगै प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि थप दवाव सिर्जना भएको छ। प्रधान न्यायाधीश पराजुलीसँगै बसेर न्याय सम्पादन गर्न नसकिने तर्क फुल बेन्चकै न्यायाधीशबाट आएपछि आज प्रकृया अगाडि नै बढ्न सकेन।
सर्वोच्च अदालतको अवहेलनामा डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दा गोपाल पराजुलीले आफूसहितको पूर्ण इजलासमा राखेका थिए। जवराले कान्तिपुर र केसीकोमात्र होइन अबदेखि पराजुलीसँग बेन्चमा नबस्नेसमेत बताएपछि प्रधान न्यायाधीशमाथि थप दवावमा परेको छ।
पराजुली फरक फरक मितिका नागरिकताका कारण विवादको केन्द्रमा रहँदै आएका छन्। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठाउँदै समाचार लेखेको कान्तिपुर दैनिक र अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई अदालतको अवहेलना मुद्दा छ।
जवराले विवादित न्यायाधीश पराजुलीको यथार्थ उमेरअनुसार गत वर्षको साउनमा नै अवकाश भइसक्नुपर्ने जनाएका छन्। अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बेन्चमा नबस्ने उनले इजलास सुरु हुनुअघि जानकारी गराएका थिए। पराजुली, जवरासँगै इजलासमा ओमप्रकाश मिश्र, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए।