
काठमाडौं : गोपाल पराजुली नेतृत्वको बेन्चमा सहभागी हुन अस्वीकार गर्दै चोलेन्द्र शमशेर जवराले 'विद्रोह' गरेपछि गहिरिएको संकटको भूमरीबाट उम्किन प्रधान न्यायाधीशलाई थप कठिन हुने देखिएको छ।
जवराले विद्रोह गरेपछि बसेको फूलकोर्टमा प्रधानन्यायाधीश पराजुलीले सबैसँग सुझाव मागेका थिए। सर्वोच्च अदालतको अवहेलनामा कान्तिपुर दैनिक र प्राध्यापक गोविन्द केसीको मुद्दा पेचिलो हुँदै गएको अवस्थामा अधिकांश न्यायाधीशले पराजुलीलाई विदामा बस्न सुझाव दिए।
अवहेलना मुद्दालाई आफ्नै नेतृत्वको पूर्ण इजलास तोकेका पराजुलीलाई विदामा बस्नमात्र होइन, न्यायाधीशहरुले मुद्दाको पेशी नतोक्न समेत सुझाव दिए। सँगै कान्तिपुर र डाक्टर केसीसँग जोडिएको मुद्दाबाट टाढै रहनसमेत भने। उनीहरुको सोझो सुझाव थियो – आफ्नै बेन्चमा त्यो मुद्दा नहेर्नुस्।
सुझाव दिँदै न्यायाधीशहरुले पराजुलीले पेशी तोक्दा काम गर्न कठिन भएको समेत बताए। उनीहरुले पहिले नै आफूहरुले सुझाव दिएको स्मरणसमेत गराएका थिए। जवराको विद्रोहले संकटमा धकेलिएका पराजुलीको पक्षमा अन्य न्यायाधीशहरु नउभिने संकेत दिएपछि उनी थप दबावमा परेका छन्।
यतिसम्म कि न्यायाधीशहरुले पराजुलीलाई सुझाव दिए – सर्वोच्च अदालतभित्रको आन्तरिक समस्या तपाईँले नेतृत्व छाडेपछि सुल्झाउँछौं।
अधिकांश न्यायाधीशहरुले विदामा बस्न सुझाव दिए पनि पराजुलीले भने 'वैंधानिक रुपमा जे फेस गर्नुपर्छ गर्छु' भन्दै भोलि फेरि फूलकोर्ट बस्ने बताए।
'म वैधानिक रुपमा न्यायपरिषद् मार्फत् आएको हुँ,' उनले भनेका थिए, 'म वैधानिक प्रधान न्यायधीश हो। मैले जे फेस गर्छु वैधानिक रुपमा फेस गर्छु।'
न्यायाधीश दीपकराज जोशीले प्रधानन्यायाधीशको निर्णयलाई वैधानिक नभएको जवाफ दिएका थिए। 'तपाईँको निर्णय वैधानिक होइन,' उनले भनेका थिए, 'तपाईँको व्यक्तिगत निर्णयमात्र हो त्यो।'
फूलकोर्टमा दुई न्यायाधीशले भने चोलेन्द्र शमशेर राणाले हतार गरेको बताएका थिए।