PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विमान दुर्घटनाबारे युएस बंगला एयर र विमानस्थलको आ-आफ्नै दाबी, कसरी भयो दुर्घटना?



पहिलोपोस्ट

विमान दुर्घटनाबारे युएस बंगला एयर र विमानस्थलको आ-आफ्नै दाबी, कसरी भयो दुर्घटना?

सविन मिश्र/वसन्तराज उप्रेती-

काठमाडौं‌:
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चालकले एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशअनुसार ल्यान्ड नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरेको छ। युएस बंगला एयरले भने एटिसीको गलत सूचनाका कारण विमान दुर्घटनामा परेको जनाएको छ। एटिसीको खराब सूचनाका कारण विमान दुर्घटनामा परेको र यसमा विमानका चालकको कुनै दोष नरहेको उसले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एटिसी कार्यालयले विमानलाई दक्षिण दिशातर्फबाट रन वे ०२ मा अवतरणका लागि निर्देशन दिए पनि विमान उत्तरतर्फको २० रनवेतर्फ गएको र जसका कारण अवतरणमा समस्या हुँदा दुर्घटनामा भएको जनाएको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जहाजले 'एबनर्मल विहेवियर' देखाएपछि अरु सबै विमानलाई होल्ड गराएर अवतरणको प्रयास गरेको बताए।

'एटिसी कार्यालयले विमानलाई केही समस्या छ भनेर सोधेको थियो, विमानबाट केही समस्या छैन भन्ने जवाफ आएको देखिन्छ तर एटिसीको निर्देशनअनुसार जहाज अवतरण नभएपछि हामीले एब्नर्मल ल्याण्डिङ भएको अनुमान गरेका छौँ,' गौतमले भने, 'तर त्यतिन्जेल विमानले एमर्जेन्सी घोषणा गरेको थिएन।' अवतरणको प्रयास गर्ने क्रममा विमानको पांग्राले धावनमार्गलाई थोरै छोएर घाँसे मैदानतर्फ प्रवेश गरेको थियो।


यसैबीच सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ। आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनहरु केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

नेपालबाट बंगलादेश चिकित्साशास्त्र अध्ययनमा गएका तथा बंगदलादेशमा चिकित्साशास्त्र अध्ययन गरी भ्रमणका क्रममा आएकाहरु परेका छन्। बंगलादेशको एमबिबीएसको अन्तिम परीक्षा दिएर उनीहरु फर्केका थिए। ती मध्ये श्रेया झा कुमुदिनी ओमन्स कलेजका र अरु जलालवाद राजीव रबेया मेडिकल कलेजका विद्यार्थी रहेका छन्।

एमबिबिएस दिएका सञ्जय पौडेल, सञ्जय महर्जन, निगा महर्जन, एन्जिला श्रेष्ठ, पुर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरीमा श्रेष्ठ, अल्जिना बराल, चारु बराल, समिरा ब्यञ्जनकार, आस्ना शाक्य, प्रिन्सी धामी र श्रेया झा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा ३३ नेपाली, ३२ बंगलादेशी एक चिनियाँ र एक माल्दिभ्सका नागरिक परेका छन्। तीमध्ये केही नेपाली, केही बंगलादेशी र एक माल्दिभ्सका नागरिक चिकित्साशास्त्र अध्ययन गरी नेपाल फर्कनेहरु रहेका अनुमान गरिएको छ। उनीहरुको पेशा तथा पहिचान भने सार्वजनिक गरिएको छैन। यस्तै केही नेपाली पर्यटन व्यवसायी पनि दुर्घटनामा परेका छन्।

एटिसी कार्यालय र विमानका चालकबीच भएको संवाद सामाजिक सञ्जाल तथा आमसञ्चारका माध्यममा सार्वजनिक भएपछि प्राधिकरणले त्यसलाई गम्भीर घटना भनेको छ। प्राधिकरणका महानिर्देशक गौतमले अति गोप्य प्रकृतिको सूचना बाहिरिनु अपराध भएको पनि उल्लेख गरे।

यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि प्राधिकरणलाई अडियो सार्वजनिक प्रकरणमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ।

संवेदनशील सूचना बाहिरिएपछि त्यसका विषयमा विभिन्न धारणा बाहिरिएपछि मन्त्रालयले प्राधिकरणलाई स्पष्टिकरण सोध्ने तयारी गरेको हो।
विमान दुर्घटनापछि दिउँसो २:१८ बजेबाट बन्द भएको विमान अपरान्ह ४:५० बजे खुलाइएको थियो। नेपाल आउने क्रममा रहेका विदेशी विमानलाई भारतीय शहर तथा उनीहरु आएकै गन्तव्यमा डाइभर्ट गराएको थियो। यस्तै आन्तरिक उडान पनि त्यतिन्जेल अवरुद्ध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell