PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

वर्ल्डकप क्वालिफायर : दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले पिएनजीलाई हरायो, ओडिआई स्ट्याटसका लागि अर्को खेलको नतिजा कुर्नुपर्ने



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले पिएनजीलाई हरायो, ओडिआई स्ट्याटसका लागि अर्को खेलको नतिजा कुर्नुपर्ने

काठमाडौं : बलरहरुको उत्कृष्ट प्रदर्नशन तथा दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा वर्ल्डकप क्वालिफायर अन्तर्गत क्रस प्लेअफ खेलमा नेपालले पपुअ न्यू गिनी (पिएनजी)लाई ६ विकेटले पराजित गरेको छ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिदै अर्धशतक समेत पुरा गरे। नेपालसँग पराजित भएपछि पिएनजी भने डिभिजन टू मा घटुवा हुने पक्का भएको छ।

११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो। त्यसअघि टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले २७.२ ओभरमा ११४ रनमा अलआउट गरेको थियो। सुरुवात देखिनै विकेट लिन थालेको नेपालले पिएनजीलाई सम्हालिन नपाउँदै अलआउट गर्‍यो।

पिएनजीलाई २७.२ ओभरमा अलआउट गर्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए। यस्तै सोमपाल कामी र करण केसीले समान १ विकेट झारे।

सोमपाल र करणले ओपनरलाई आउट गर्दै सुखद सुरुवात दिलाएका थिए। सोमपालले कप्ता खसद भालालई तेस्रो ओभरमा एलबीडब्लु आउट गरे भने करणले आठौँ ओभरमा टोनी उरालाई अनिलको हातबाट क्याचआउट गराए।

त्यसपछि सन्दीप र दीपेन्द्रले कसिलो बलिङ गरेपछि पिएनजी कम स्कोरमा अलआउट भयो।

पिएनजीका लागि चार्ल्स अमिनीद्ये सर्वाधिक १९ रन बनाए भने जासोन किलाले १५ रन जोडे।

सन्दीपले चाड सुपर, सेस बाउ, महुरु दाई र डोरिगालाई आउट गरे भने दीपेन्द्रले चार्ल्स अमिनी जासोल किला, रेभा र नोर्मन भानुअलाई बउट गरे। २६औँ ओभरको तेस्रो र चौथो बलमा लगातार विकेट लिएका दीपेन्द्र ह्याट्रिक विकेट लिनबाट भने चुके।

११५ रनको लक्ष्य पट्याएको नेपालले यस खेलमा पनि राम्रो सुरुवात गर्न सकेन। ओपनिङमा पुरानै समस्या कायम रहदा ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै १ रनमा आउट भए। मल्ललाई अलेई नाओले भालाको हातबाट क्याचआउट गराए। अर्का ओपनर अनिल शाह पनि ९ रन बनाएर आउट भए। उनलाई भानुअले एलबीडब्लु आउट गरे। १८ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २० रन बनाएका कप्तान पारस खड्का जोन रेभाको बलमा उराबाट क्याचआउट भएपछि नेपाल ६.५ ओभरमा ३५-३ को स्थतीमा पुगेको थियो।

तर चौथो नम्वरमा ब्याटिङ गरेका दीपेन्द्रले आरिफ शेखसँग पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याए। आरिफले ४२ बल खेल्दै १ चौकाको मद्दतमा २६ रन जोडे।

दीपेन्द्रले ५८ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। यू-१९ टिमका कप्तान समेत रहेका दीपेन्द्रको सिनियर टिममा यो दोस्रो अर्धशतक हो। यसअघि उनले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए। रोहित कुमार ३ रनमा नटआउट रहे। ऐरी खेलको म्यान अफ दि म्याच घोषित भए।

बलिङमा पिएनजीका भानुअले २ तथा नाओ र रेभाले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell