PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अझै पनि पुरुष देख्दा तर्सिन्छिन् यी बालिका  



सागर बुढाथोकी

अझै पनि पुरुष देख्दा तर्सिन्छिन् यी बालिका  

काठमाडौँ :  बेडमा पल्टेर हातले बेलुन खेलाइरहेकी गुडियाको आँखा मोटु-पत्लु कार्टुन आइरहेको टेलिभिजन स्क्रिनमा भए पनि मुहारमा हाँसो हराएको थियो।     

राजधानीमा रहेको अस्पतालको चौथो तलामा रहेको सिंगल क्याबिन (भिआइपी) रुमको बेड नम्बर ८८ को ढोकाबाहिर लेखिएको थियो, 'डाक्टर र नर्सलाई बाहेक भित्र छिर्न अनुमति छैन।'

'मेरै छोरा आए पनि भित्र छिर्न अनुमति छैन,' ढोकाबाट चियाउँदै कुरुवा बसेकी महिलाले कारण दिइन्, 'केटा मान्छे देख्दा नानी तर्सिन्छिन्। गाह्रो हुन्छ उनलाई।'

सिरानी नजिकैको टेबलमा औषधिका सिसी र ट्याबलेटहरु। सलाइन पानीको पाइप झुण्ड्याइएको। दिसापिसाब गराउने पाइप पनि तयारी अवस्थामा। 

ओछ्यानभरि विभिन्न खैलौनाहरु। बेडको तल सानो साइजको चप्पल। 

खैलौना, अस्पतालको भिआइपी क्याबिनको उपचार र सुरक्षा देख्दा कुनै धनाढ्यकी छोरीको उपचार भइरहेको लाग्यो भने त्यो गलत हो। 

उनी हुन् — पर्साको पटेर्वासुगौलीकी एक सामान्य परिवारकी 'गुडिया', भर्खर ७ वर्ष ३ महिना पुगिन्। तर सामूहिक बलात्कारको सिकार भइन्।

उनका आँखाले खोजिरहेको थियो बुवाआमालाई। आमा गाउँमा सातौँ सन्तान जन्मने 'डेट' कुरिरहेकी छिन्। बुवा उनलाई अस्पताल छोडेर गाउँ गइसके।

'पापा, पापा'  र 'मलाई घर लगिदेऊ' भन्दै बेला-बेलामा बर्बराउँछिन्। 



***

गुडिया स्कूल जान थालेको तीन दिनमात्र भएको थियो। कखरा सिक्न भ्याएकै थिइनन्। उनकी आमा सातौँ बच्चा जन्माउने तयारीमा थिइन्। डेलिभरी हुन केही दिन मात्रै बाँकी थियो। 

छोराको पर्खाइमा धेरै बच्चा जन्माइसकेको गुडियाको बाबुआमाले चेतिसकेका थिए। छोरीले पनि केही गर्न सक्छ भन्दै गुडियालाई स्कूल पठाउन थालेका थिए। 

फागुन १६ गते, साँझको ६ बजे। गुडिया साथीहरुसँग घाँस लिएर घर फर्कँदै थिइन्। बाटामा तीन जना पुरुषले 'माछा दिन्छु' भन्दै फकाए। चिनेकै मान्छे भएकाले गुडिया उनीहरुसँगै गइन्। अन्य साथीहरु घर पुगे, गुडिया पुगिनन्। निकै बेरसम्म घर नफर्केपछि खोजी भयो। 

नजिकैको उखु बारीमा गुडिया बेहोश अवस्थामा भेटिइन्। अर्धनग्न, लुगा च्यातिएका। जिउभरि कोरिएको। अनुहार कोतरिएर रक्ताम्य। कम्मरमुनिबाट रगत बगेर मरणासन्न अवस्था।

छोरीलाई त्यस्तो अवस्थामा भेटेपछि यादव आत्तिए। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल लगियो। अस्पतालले बल्लतल्ल आइसियुमा भर्ना गर्‍यो। तैपनि गुडिया बाँच्ने अवस्थामा थिइनन्। बाँकी उपचार त्यहाँ सम्भव थिएन। ४ दिनपछि उनलाई काठमाडौँ ल्याइयो।

***

गुडियाको अहिले काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको छ। अनुहारमा कोतरिएको घाउको दाग आलै छ। उपचारमा संलग्न डाक्टर रुपा झाका अनुसार गोप्य अंग बाहिर १२ र भित्रपट्टी ७ वटा टाँका लगाइएको छ।

एकोहोरो टोलाइरहेकी उनी बेलाबेलामा झस्किन्छिन् पनि। नेपाली भाषा बुझ्दिनन्। भोजपुरी भाषामा बारम्बार बुबालाई खोज्दै घर लगिदिन आग्रह गरिरहन्छिन्। 

अझै पनि पुरुष देख्दा तर्सिन्छिन् उनी। आफ्नो बुबाबाहेक अरु कुनै पुरुषको विस्वास छैन उनलाई। नयाँ महिला देख्नासाथ घर लगिदिन बिन्ति बिसाउँछिन्। बेला-बेलामा नबुझिने तरिकाले बर्बराउँछिन्। टिभीमा कार्टुन देखाए चूप हुन्छिन्। भोक लाग्ने बित्तिकै आमाले पकाएको जस्तो रोटी चाहियो भनेर माग्छिन्, अरु बेला चुपचाप। 

डा. झाका अनुसार दिसा पिसाब चुहिने समस्या भएकोले पाइप राखिएको छ। तर पहिलाभन्दा क्रमिक सुधार हुँदैछ। भित्री घाउ र मानसिक रुपमा ठीक हुन समय लाग्ने उनको भनाई छ।

अस्पताल ल्याउँदा गुडिया बोल्न सक्ने अवस्थामा थिइनन्। रोइरहन्थिन्। रातभरी ननिदाउने र मानसिक रुपमा समेत विक्षिप्त थिइन्। रोइरहने र ननिदाउने भएकाले उनलाई अल्मल्याउन गाह्रो पर्थ्यो। 

जीवनभर दिसा र पिसाब चुहिन सक्ने सम्भावना रहेको उनी सुनाउँछिन्। भन्छिन्, 'के हुन्छ अहिले नै भन्न सकिन्न।'

***

गुडियाकी गर्भवती आमा जो सातौँ सन्तान जन्माउने तयारीमा छिन्

गुडियाको उपचार रक्षा नेपालको पहलमा भइरहेको छ। रक्षा नेपालकी वीरगन्ज प्रतिनिधि सावित्री सुवेदीले गुडियालाई काठमाडौँ ल्याएकी हुन्। 
नारायणी अस्पतालको बेडमा गुडिया छटपटाइरहेको बेला सावित्री पुगेकी थिइन्। त्यतिबेला गुडियाले 'तीन जनाले समातेर लगे' भनेको उनी सुनाउँछिन्।

लगत्तै गुडियाका बुबाले तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी उजुरी दिए। तत्काल २२ वर्षीय सुनील साह प्रकाउ परे। घटनामा अन्य दुई जना पनि संलग्न रहेको प्रहरीलाई बयान दिए।

तर ती दुई युवकलाई पक्रन नपाउँदै सुनीलले बयान फेरे, 'रिसको कारण तिनीहरुको नाम लिएको हुँ। उनीहरु यो घटनामा संलग्न छैनन्।' 

ती दुई जना गाउँका मुखियाका आफन्तहरु भएका कारण उम्किएको गुडियाको बुवा रामनारायण यादवको आरोप छ। 

घटनास्थलमा तीन जनाको पाइला देखेको र तीन जनानै आफ्नी कलिली छोरीमाथि कुकृत्यमा संलग्न रहे पनि प्रहरीले एक जनालाई मात्र पक्रेर दुई जनालाई बचाएको बताउँछन् उनी। 

सुनील अहिले प्रहरी हिरासतमा छन्। अन्य दुई फरार छन्। 

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा अपराधी संरक्षण गर्ने परिपाटीले यस्तो घटना बढेको बताउँछिन्। 'यो एउटा चेलीलाई मात्र भएको बलात्कार हैन। उसको समाज परिवार र राष्ट्रलाई भएको बलात्कार हो', उनी भन्छिन्, 'अपराधीलाई प्रहरीले उन्मुक्ति दिने काम गरिरहेको छ। यो नै दुःखद कुरा हो। '

गुडिया उपचाररत अस्पतालले उपचार निःशुल्क गरिदिएको छ। उनको जीवन सहज होस् भनेर एक लाख रुपैयाँ जम्मा गर्दै बैंक खाता समेत खोलिदिएको छ, सहयोगको अपेक्षा गर्दै। खाता नम्बर — ००२०७२४६२००००१८ नाम — सविताकुमारी मुखिया। बैंक —हिमालयन बैंक।

फोटोहरु : गगन थापा

(गोपनीयताको लागि बालिका र उनको परिवारको नाम परिवर्तन गरिएको छ)
 

यो पनि पढ्नुहोस् :

असुरक्षित छन् छोरीहरु

फेरि ती दिन सम्झन चाहन्न् ...... !

सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell