PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ढाई वर्षपछि के हुन्छ ढाई वर्षपछिको रिजल्टले बताउँछ : देवेन्द्र पौडेल



पहिलोपोस्ट

ढाई वर्षपछि के हुन्छ ढाई वर्षपछिको रिजल्टले बताउँछ : देवेन्द्र पौडेल

संविधान घोषणासँगै माओवादी केन्द्रसँग सम्बन्ध बिच्छेद गरी नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टरार्इको निकट रहेर काम गरेका नेता देवेन्द्र पौडेल (सुनिल) पुन: माओवादी केन्द्रमै मात्र फर्किएनन्, प्रतिनिधि सभा निर्वाचनमा जितसमेत हासिल गरे। माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताका लागि गठन भएको माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य समेत रहेका पौडेलसँग पार्टी एकता, संगठनात्मक प्रणाली र नेतृत्वको विषयमा विधुर ढकालले गरेको कुराकानी: 


तपाईँहरुको पार्टी एकताको प्रकृया अहिले कहाँ पुगेको छ?

अप्रिल २२ मा एकता प्रकृया टुंग्याउने गरी काम अगाडि बढेको छ। औपचारिकरूपमा लेनिन जयन्तीको दिन घोषणा गर्ने गरी अगाडि बढेका छौं। लेनिन जन्मेको दिन पार्टी एकताको घोषणा गरेर नयाँ सन्देश दिने गरी तयारी गरिरहेका हौं। त्यतिबेलासम्म पार्टीको आधारभूत राजनीतिक सिद्धान्तका कुरा र आधारभूत रूपमा तत्काल व्यवस्थापन गर्नुपर्ने संगठनात्मक विषयहरूमा दुर्इ वटा कार्यदलले  छलफल अगाडि बढाएको छ। 


एकताका लागि गठन गरिएका कार्यदलले चाहिँ प्रतिवेदन लेखन कहाँसम्म पुर्‍यायो त?

प्रतिवेदन हामीले तयार गरिसकेका छौं। कार्यदलभित्र पनि सहमति भएका विषयहरूलार्इ सुत्रवद्ध गर्नका लागि, त्यसलार्इ डकुमेन्टको फर्ममा ल्याउनका लागि हामीले उप-समिति बनाएका थियौं। उप-समितिका साथीहरूले कार्यविभाजन गरेर आफूले लिएको विषय अनुसार जिम्मेवारी  पूरा गरेर बुझाइसक्नु भएको छ। त्यसलार्इ कार्यदलले पुनःलेखन गरेर त्यसलार्इ थपघट गरेर मिलाएर करिब करिब बुझाउनका लागि आफ्नो मस्यौदा तयार पारेको छ। 


पार्टी एकतामा नेतृत्वको विषय जटिल देखिएको छ किनकि दुवै दलका नेताका फरक फरक अभिव्यक्ति आइरहेका छन्। एकताका लागि नेतृत्वको विषयमा कस्तो सहमति भएको छ?

हाललार्इ दुवै पार्टीका अध्यक्षहरूको एउटै पद रहने गरी सहमति भएको छ। हामीले को-चियर भनेका छौं। आलोपालो गरेर पार्टी कमिटीका बैठकहरूको अध्यक्षता गर्ने र आलोपालो गरेर संगठनात्मक र सरकार सञ्चालन गर्ने गरी दुर्इ पार्टी बीच सहमति भइसकेको छ। हाललार्इ पार्टी एकतापछि दुर्इवटै पार्टीका अध्यक्षहरू दुवै जना अध्यक्ष हुनुहुनुहुन्छ।

जिम्मेवारीका हिसाबले केपी ओलीले सरकारको नेतृत्व गर्नुभएको छ। प्रचण्डले पार्टीको संगठनात्मक र दैनिक कामहरूको नेतृत्व गर्नुहुने छ। त्यसको साथसाथै पूर्व प्रधानमन्त्रीहरू र सिनियर लिडरहरूको तत्काल केही न केही व्यवस्थापन गर्ने गरी संगठनात्मक कार्यदलले प्रतिवेदन तयार गरेको छ। हामीले तत्काललार्इ केन्द्रीय कमिटी र स्थानीय तहसम्मका कमिटीलार्इ मर्ज गर्नेगरी नीति र लक्ष्यहरू बनाएका छौं। बाँकी कुरामा महाधिवेशनले टुंगो लगाउने छ। 
 

त्यसो भए अबको अढाई वर्षपछि प्रचण्ड प्रधानमन्त्री हुने र पार्टीको नेतृत्व ओलीले गर्ने सहमति भएको हो?

त्यो अहिले नै किन भन्नु पर्‍यो र? ढाई वर्षपछि के हुन्छ ढाई वर्षपछिको रिजल्टले बताउँछ। हाललार्इ दुवै जना अध्यक्ष। सरकारको नेतृत्व केपी ओलीले गर्नुभएको छ। हाललार्इ भएको सहमति त्यही हो। तर, पार्टीमा उहाँहरू दुवै जनाको जिम्मेवारी फेरवदल गर्ने जेन्टलमेन एग्रिमेन्ट भएको छ। 

दुर्इ पार्टीबीच संगठनात्मक संरचना केही भिन्न खालका छन्। यसलार्इ कसरी मर्ज गर्दै हुनुहुन्छ?

हामीले चार तह रहने गरी संगठनात्मक संरचना बनाउने मोटामोटी सहमति गरेका छौं। एउटा, स्थानीय तहमा नगर कमिटी र गाँउपालिका कमिटी रहने छ। त्यस मातहत उप-प्रारम्भिक कमिटीहरू सेल कमिटीहरू रहनेछन्। ती कमिटीहरूलार्इ स्थानीय तहको संगठनात्मक संरचना अनुरूप हामीले व्यवस्थित गर्छौं। प्रादेशिक संरचना हुने छ।  दुवैतिरका प्रदेश कमिटीलार्इ मर्ज गरेर वा प्रदेश कमिटीको संरचना नभएको भए बनाएर त्यसलार्इ कार्यकारी बनाउने छौं। हाललार्इ त्यस मातहत रहने गरी जिल्ला समन्वय समिति रहने छ। जिल्लामा पनि प्रशासनिक संयन्त्र रहने गरी त्यसलार्इ पनि हाललार्इ समन्वय समितिको रूपमा जिल्ला कमिटीहरू समेत रहने छन्। त्यसपछि संघीय तह भनेर राज्यमा एउटा प्रणाली बनेको छ। त्यही अनुसार हामीले पनि केन्द्रीय किमिटीको फर्मेसन गर्ने छौं। 

केन्द्रीय कमिटीमा धेरै तह बनाउनुभन्दा पनि दुर्इ अध्यक्ष र एउटा समूहको केन्द्रिकृत अभिव्यक्ति हुने गरी त्यस्तो प्रणाली बनाउने गरी सहमति भएको छ। 
 

निर्वाचन भएको लामो समयसम्म पनि सरकारहरूले पूर्णता पाउन सकेन। संघीय तथा प्रदेश सरकारले पूर्णता पाउन नसक्नु पार्टी एकताले गति लिन नसकेर हो? 

सरकार गठन करिब करिब सकिन लागेको छ। हिजोमात्रै उप-सभामुखको चुनाव भयो। ९ गते उप-राष्ट्रपतिको निर्वाचन हुन्छ। प्रदेशका सरकारहरू बनिसके। यिनले पनि पूर्णता पाउँदै छन्। संघीय सरकार बनिसक्यो। यसलार्इ पूर्णता दिने काम करिब करिब टुंगिँदैछ। त्यसपछि हामीले चुनावी घोषणापत्रमा गरेका प्रतिवद्धतालार्इ डेलिभरी दिने कामहरू सुरू हुन्छ। हामी हाम्रा प्रतिवद्धता पूरा गर्नका लागि आतुर छौं।
 

प्रसंग बदलौं, तपार्इँ कुनै समय माओवादी छाडेर नयाँ शक्ति निर्माण गर्ने भन्दै डा. बाबुराम भट्टरार्इको साथमा लाग्नु भयो। पुनः माओवादीमै फर्कनु भयो। हिजो मात्र आफ्नो कुर्सी जोगाउन प्रचण्डले माओवादी शक्तिलार्इ एमालेको समुन्द्रमा होम्न थालेको बाबुराम भट्टरार्इले आरोप लगाउनु भएको छ? के माओवादी शक्ति एमालेको समुन्द्रमा होमिन लागेकै हो?

व्यक्तिगत टिका टिप्पणी म अहिले गर्न चाहन्न। बाबुराम भट्टरार्इले पनि यो देशमा आन्दोलनमा भाग लिएको हुँदाखेरी मैले कुनै कालखण्डमा उहाँलार्इ साथ दिएको हुँ। उहाँले कहीँ न कहीँ वामपन्थी समाजवादी विचार दृष्टिकोण र लक्ष्य लिइ अगाडि बढ्नु भएको खण्डमा फेरि पनि मेरो साथ उहाँलार्इ रहने छ।  तर, अहिले यो बृहत ध्रुविकरण र नेपालका समाजवादीहरू, वामपन्थीहरू, प्रगतिशीलहरू एउटै झण्डामुनि गोलबन्द हुनुपर्छ भन्ने अभियान अन्तर्गत हामीले दुवै कामरेडहरूलार्इ, कामरेड प्रचण्डलार्इ पनि र कामरेड बाबुरामलार्इ पनि कुरा राखेका हौं। प्रचण्ड तयार हुनुभयो। यतिसम्म कि एमालेलार्इ समेत यो अभियानमा साथ लिएर अगाडि बढ्नुपर्छ भन्नुभयो। बाबुरामजीको सहमति यसमा देखा परेन। आशा गरौं उहाँ पनि निकट भविष्यमा यो अभियानमा सहभागि हुनुहुने छ र हामी सबै मिलेर नेपालका परिवर्तनकारी शक्तिहरूले प्राप्त गरेको उपलब्धिहरूको जगबाट जनताको स्वामित्व र जनताको अपनत्व हुने गरी विकास सम्वृद्धि र सुशासनसहितको समाजवादी प्रणाली हामीले ल्याउने छौं। त्यसका निम्ति बाबुरामजीलार्इ पनि यो अभियानमा सहभागी हुन म हार्दिक आमन्त्रण गर्न चाहन्छु। 
 

डा. बाबुराम भट्टरार्इको समूहमात्र होइन हिजो माओवादी आन्दोलनमा सहभागी अन्य दुर्इ समूह पनि यो ध्रुविकरणबाट बाहिरै छन्। उनीहरूको यो ध्रुविकरणलार्इ दक्षिणपन्थी ध्रुबीकरणको संज्ञा दिइरहेका छन् नि?

उहाँहरूलार्इ मेरो केमात्र अनुरोध हो भने, यान्त्रिक र अहिले तत्काल  कार्यन्वयन गर्न नसकिने कार्यनीति लिएर देशले शाब्दिक वुद्धिविलासबाहेक अरू कुनै पनि फाइदा लिन सक्दैन। शाब्दिक परम्पराबादी वुद्धिविलास गर्नुभन्दा अहिलेको बदलिएको परिस्थिति अनुसार आफ्नो कार्यनीति बदलेर बृहत वामपन्थी एकीकरण र ध्रुविकरणको महाअभियानमा सरिक हुनुपर्छ। उहाँलार्इ यो अभियानमा सहभागी हुनका लागि समेत म आग्रह गर्दछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell