PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

बल्लतल्ल ओडिआइ स्ट्याटस: यस्तो सफलतामा के खुसी मनाउनु? 


पहिलोपोस्ट

बल्लतल्ल ओडिआइ स्ट्याटस: यस्तो सफलतामा के खुसी मनाउनु? 

  • राधेश्याम दाहाल-

नेपालले क्रिकेटमा एकदिवसीय खेल्ने अवसर ओडिआई(वान डे इन्टरनेसनल स्टाटस) पाएपछि सामाजिक सञ्जाल लगायत विधिन्न स्थानमा नेपाली टोलीको प्रशंसा हुन थाल्यो। धेरैले अब नेपालले ठूला टिमलाई हराएको हेर्ने चाहना व्यक्त गरे भने केहीले खेलेको हेर्न चाहे। केहीले भारतलाई नै हराएको हेर्ने चाहना व्यक्त गरे।

वान डे स्टाटस पाउने बित्तिकै सबै कुरा एकैपटक भइहाल्ने होइन। एक दुई पटक हामीले जित पनि हात पारिएला। तर त्यस पछि के? भारतकै कुरा गर्ने हो भनेपनि वर्तमानको भारतको क्रिकेट र त्यहाँका खेलाडीका जीवन शैली अनि नेपाली खेलाडीको जीवन शैलीको फरक सबैलाई थाहै भएको विषय हो। भारतमा हुने घरेलु क्रिकेटको लहर, क्रिकेटमा हुने पैसा, अन्तर्राष्ट्रिय क्रिकेटका प्रतियोगिता, त्यहाँको भौतिक संरचना। 


जितकै भोलिपल्टैबाट नेपालको खेलको स्तर के ह्वात्तै बढ्ने हो? नेपालमा खेलले विशेष प्राथमिकता पाउने हो? यदि त्यस्तै भयो भने पनि त्यसको भोलिपल्ट भारतीय खेलाडीहरू आफ्नो खेल सुधार्न विशेष प्रशिक्षणका लागि लन्डन, अस्ट्रेलिया वा दक्षिण अफ्रिकाको भ्रमणमा निस्कन्छन्। तिनै नेपाली खेलाडी एक दुई दिन आत्मरतीमा रमायो अनि उही नेपाली आम जीवन शैलीमा फर्कियो। 

अनि केही वर्ष पछाडि हामीले नै भारतलाई हराउने नेपाली खेलाडीको विजोग भनेर समाचार लेख्नु पर्ने दिन आउनेछ। जसरी अरू खेलमा हामीले लेखेका छौँ। विगतमा ठुला ठुला सफलता पाएका खेलाडीहरूको विजोगका धेरै घटना तपाईँ हामी सबैलाई थाहै छ।

वान डे खेल्ने अवसर पाउनु कप्तान पारस खड्काका अनुसार नेपालका लागी सफलता हो। तर वान डे स्टाटसको मात्र होइन विश्व कप खेल्ने टिमका रूपमा तत्कालीन अध्यक्ष जयकुमार नाथ शाहले सन् २००४ तिर नेपाललाई परिकल्पना गरेका थिए। 'अबका दुई/चार वर्षमा नेपालले विश्व कप खेल्न सक्छ।' त्यति मात्र होइन टेस्ट मान्यता प्राप्त गर्न सक्ने देशका रूपमा पनि नेपाललाई परिकल्पना त्यति बेला नै गरिएको थियो। तर आज २०१८ मा आइपुग्दा बल्ल बल्ल एक दिवसीय खेल खेल्न पाउने देशका रूपमा आइसीसीले नेपाललाई स्थान दिएको छ। 

राज्यले गरेको लगानी र खेलाडीको मिहिनेतले यो सफलता प्राप्त भएकै हो। तर तपाइहरू मध्ये धेरैलाई खुसी लागेपनि मलाई नेपालले पाएको यो सफलताले गद्गद बनाउन सकेको छैन। मेरो यो भनाई पछि तपाइहरू मध्ये धेरैले मेरा बारेमा अनेक धारणा बनाइ पनि सक्नुभयो होला तर मेरो अन्तरआत्माले जे सोचेको छ मैले त्यही कलम मार्फत उतारेको हु। मलाई देश प्रेम नभएको मान्छे वा सफलता नरुचाउने नकारात्मक सोचको मान्छे वा यस्तै यस्तै भन्ने धारणा पाठकहरूले बनाउनु भएको छ भने पनि त्यो तपाईँहरूको पाटो भयो तर नेपालको जितमा म खुसी हुन सकिरहेको छैन। 

विगतमा पनि नेपालले क्रिकेट मात्र होइन अन्य खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदा पनि प्राय खेलमा मैले नेपालको समर्थन गरिन। बरु हारे पनि हुन्थ्यो भन्ने सोच राखे। त्यो कुरा म सँग काम गर्ने धेरै सहकर्मीलाई थाहा पछि छ। त्यो फुटबल होस वा अन्य खेल हुँदा पनि मेरो धारणा यही नै थियो। सायद अहिलेसम्म पनि त्यही नै छ।

जित्ने बित्तिकै नेपालका खेल अधिकारी मात्र होइन राजनैतिक तहले समेत जस लिन खोज्ने र धोको फेर्ने चलन छ नेपालमा। बधाईको ओइरो लाग्छ। तर भोलिपल्टैबाट त्यसलाई बिर्सेर फेरि आफ्नो दैनिकीमा नेपाली समाज फर्कने गरेको उदाहरण प्रशस्तै छ। न त जीत पछि खेल नीति वा खेल संरचनाका विषयमा विशेष पहल गरिएको छ, न त केही ठुला ठुला योजना नै अगाडी सारिएको छ। गरिएको छ त सस्तो लोकप्रियताका लागि केही नगद पुरस्कार र ट्रक सम्मान।

क्रिकेटकै विषय भएकाले क्रिकेटको जितमा खुसी हुन नसक्नुको कारणबाटै म आफ्नो भनाई राख्न चाहन्छु। नेपालले वान डे स्टाटस पायो भनेर आइसीसीले आधिकारिक रूपमा पत्र पठाउने राष्ट्रिय सङ्घ पनि नभएको अवस्था छ अहिले। अर्थात् नेपाल क्रिकेट सङ्घको विवाद र खेल पदाधिकारीकाबीचमा देखिएको चरम राजनैतिक अराजकताका कारण प्रतिबन्धित छ। अन्तर्राष्ट्रिय जगतले नेपाल क्रिकेट संघलाई अमान्य घोषणा गरेको बेला छ। अर्को सबैभन्दा महत्त्वपूर्ण विषय भनेको वान डे स्टाटस पाएको नेपालसँग एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल्न सक्ने स्टेडियम पनि छैन। भाडामा चलाएको त्रिवि क्रिकेट मैदानमै मात्र कहिलेसम्म निर्भर हुने हो। अन्तर्राष्ट्रिय स्तरको क्रिकेट एकेडेमी बनाउने विषय आज भन्दा १५ वर्ष अगाडी देखी नै चलेपनि पोखरामा बनाउने कि काठमाण्डौमा बनाउने भन्ने विवादले त्यसलाई अलत्रप नै बनाइदियो। अर्को प्रयास पछि सुरु भएको मुलपानी क्रिकेट एकेडेमी पनि बल्ल बल्ल बन्दैछ। त्यो बन्ने क्रममा भएका अनियमितता र पदाधिकारीको खिचातानीको विषय अख्तियार हुँदै अदालत सम्म पनि पुग्यो। जिल्ला सङ्घ र अन्य क्लबहरूको अवस्था अहिलेसम्म पनि कमजोर र अस्तब्यस्त नै छ। बर्षौ देखिको यो अस्तब्यस्तता अहिलेसम्म पनि कायम नै छ। 

क्रिकेट सङ्घको विवादमा केही खेलाडी, प्रशिक्षक र सङ्घमा बसेर हाली मुहाली गर्न खोज्नेहरुको हर्कत नै प्रमुख जिम्मेवार हो। यी र यस्तै कारणहरूले अन्तर्राष्ट्रिय जगतका प्राय सबै खाले खेलहरूमा नेपाल हारोस् नै भन्ने सोच राखियो। मेरो सोच त्यो दिन सम्म परिवर्तन हुने वाला छैन जुन दिनसम्म नेपालको खेल क्षेत्रले राज्यका सबै तहबाट प्राथमिकता पाउँछ। खेल बाट पनि पर्यटन प्रर्बधन हुन सक्छ, देशको आर्थिक उन्नतिको मुख्य आधार खेल हुन सक्छ भन्ने मान्यता जबसम्म आम रूपमा पलाउँदैन म व्यक्तिगत रूपमा नेपाल जितेको हेर्न चाहान्न। मलाई क्रिकेटमा भारतलाई वा फुटबलमा अर्जेन्टिना वा ब्राजिल, तेक्वान्दोमा कोरिया र बास्केटबलमा अमेरिकालाई हराएको हेर्ने धोको छैन।

५४ वर्ष अगाडी देखी नेपालले ओलम्पिक्समा सहभागी हुँदै आएको छ तर आजसम्म पनि नेपालको लागी ओलम्पिक्स भनेको पर्यटकीय यात्रा बाहेक अरू केही बन्न सकेको छैन। आधुनिक विश्वमा कुनै पनि देशको विकास क्रम कुन गतिमा अगाडी बढेको छ भनेर हेर्नका लागी ओलम्पिक्समा त्यो देशले पाउने गरेको सफलतालाई समेत हेर्ने गरिन्छ। तर नेपालमा ओलम्पिक्सको समाचार कि त खेलाडी भाग्दा वा पदाधिकारीले सामान चोर्दा वा खेल अधिकारीले विदेश जाना खोज्दा हुने विवादका दौरान मात्रै पहिलो पृष्ठमा छापिने गरेका छन्। मुलुक सञ्चालनको नेतृत्व सम्हाल्नेहरुले त यो विषयमा न कहिले बुझ्न खोजे न त खेलका सरोकारवालाले यो विषय उनीहरूलाई बुझाउन नै खोजे। यस्तै साना सफलतालाई नै लिएर सञ्चार जगत् पनि चाहिने भन्दा बढी हौसिने गरेको छ। देश सञ्चालनको सु अवसर पाएकाहरु पनि सस्तो लोकप्रियताका लागी पुरस्कारका नाममा नगद बाँड्न र फोटो सेसन गर्नमा व्यस्त देखिन्छन्। विगत देखी आजसम्मको अवस्था नेपाली खेल क्षेत्रमा यस्तै हो। आमूल परिवर्तन भएन भने सायद आगामी धेरै वर्षसम्म यस्तै रहला। यस्तो अवस्थामा रहेको खेल क्षेत्रले थेग्नै मुस्किल हुने गरी पाएको सफलतालाई लिएर खुसी हुनु पर्ने कारण म देख्दिन। 

क्रिकेटकै सफलताको कुरा गर्ने हो भने विगतमा पनि अन्तर्राष्ट्रिय पदक जितिएका उदाहरण छन्। तर कुनै पनि प्रधानमन्त्री वा मन्त्रीले त्यही जितको अवसर पारेरै भए पनि कुनै स्टेडियमको शिलान्यास वा निर्माणका लागी प्रतिबद्धता जनाएको भए पनि हुन्थ्यो तर आजसम्म कसैले त्यसो गरेको पाइएन। सफलतामा आफ्ना कमजोरी लुकाउने काम विगत देखी नै हुँदै आएको छ। त्यसैले बरु हार पछि कम्तीमा त्यसमा कडा आलोचना हुने र कमजोरी बाहिर आउने भएका कारण पनि नेपालले खेल हार्न आवश्यक छ। क्रिकेट सङ्घमा देखिएको विवादमा भित्री र बाहिरी खेलाडी दुवैको उत्तिकै दोष छ। कम्तीमा नेपालले पराजय ब्यहोरेको भए यो विषयको थप खोजी हुन्थ्यो कि भनेर आशा गर्न सकिन्छ।

विगतमा फुटबल खेलमा कोरियामा नेपालले १६ गोल खादा तत्कालीन एन्फा अध्यक्ष गणेश थापा विरुद्ध आवाज उठाउन खोज्ने खेलाडी बल्ल आज १५ वर्ष  पछाडि गणेश गलत भएको स्वीकार गर्न सफल भएका छन्। यदि त्यति नै बेला हिम्मत गरेको भए सायद आज नेपाली फुटबलमा पनि ठुलै परिवर्तन भइसकेको हुन्थ्यो कि? त्यसैले खेल राज्यको प्राथमिकतामा पर्नु पर्योप। खेल र खेल सङ्घ सञ्चालनका आधारभूत पक्षलाई सबैले आत्मसात् गर्न सक्ने अवस्था बन्नु पर्याय। खेलको आँखाबाट राज्यलाई हेर्ने बानीको विकास गर्नु पर्योत। सबै राजनैतिक दलले खेल विना अबको समाज अगाडि बढ्न सक्दैन भन्ने मान्यता बनाउनु पर्योक। सबैभन्दा महत्त्वपूर्ण विषय भनेको खेल क्षेत्र चरम राजनैतिक हस्तक्षेपबाट मुक्त हुनु पर्‍यो। राजनैतिक दलका कार्यकर्ता खेलको एजेन्डा बोकेर आफ्नो दलको टेबुल ठोक्न जानु पर्नेमा उनीहरू दलको एजेन्डा बोकेर खेलकुद क्षेत्रमा मुड्की बजारिरहेका छन्।  

जति माथि पुग्यो त्यति नै उचाइ कायम राख्न कठिन हुन्छ। अझ नेपाल जस्तो देश जहाँ खेल क्षेत्र अझै पनि उपहासको क्षेत्र छ त्यहाँ सफलता लाई थेगी राख्नु थप चुनौतीपूर्ण हुन्छ। क्रिकेटमा वान डे सफलता पछि अब धेरै चुनौती देशलाई थपिएको छ। अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने देखि नेपाल क्रिकेट सङ्घको विवाद समाधान गर्ने, खेलाडी उत्पादनका लागी सातै वटा प्रदेशमा एकेडेमी सञ्चालन गर्ने, खेलाडीको वृती विकास र खेलाडीको जीवनयापन सहज बनाउने सम्मका अभिभारा सरकारको काँधमा थपिएको छ। खेल भनेकै बुझ्न अझै कति वर्ष लाग्ने यो सरकारलाई यस्तो चुनौतीपूर्ण अभिभारा थपिदिन्छन् यस्ता सफलताले। अनि केही साता पछि नै खेल क्षेत्र पुरानै शैलीमा निराश हुन्छ। यो वास्तविकता बुझ्दा बुझ्दै म खुसी हुनुको औचित्य होला र। विगतमा जस्तै कतै यो सरकारले पनि केही लाख रुपैयाँ खेलाडीलाई बाँडेर सस्तो लोकप्रियताको पर्दाले चुनौतीलाई ढाक्ने हो कि भन्ने ठुलो आशङ्का मलाई छ। खेलाडीको जीवन यापन सहज बनाउन राज्यले  पहल गर्नु नै पर्छ तर यसरी नगद बाँड्ने काम हिजो पनि गलत थियो र आज बाँडिन्छ भने त्यो पनि गलत नै हो भन्छु म।

नेपालको खेल क्षेत्रमा धमिराहरूको बिगबिगी रहुन्जेल म नेपालको समर्थक बन्न सक्दिन। खेलका नाममा झेल गरेर नेपालको झन्डालाई विदेशी भूमिमा विक्री गर्नेहरुको गिरोहले नेपाली खेल क्षेत्रलाई क्षतविक्षत बनाइसकेको छ। त्यसैले आमूल परिवर्तन आवश्यक भएको खेल क्षेत्र अहिले यी र यस्ता सफलताले गद्गद हुने अवस्थामा छैन। खेल र खेलाडीको नाममा आएका सेवा र सुविधा आफ्नो गोजीमा हाल्ने संस्कारको अन्त्य नभएसम्म समर्थक बन्ने कसरी? चाहे क्रिकेट होस वा अन्य खेलमा विवाद खेल र खेलाडीको हितका लागी आजसम्म भएको मलाई थाहा छैन। अनि यस्ता विवाद समाधान गर्न इमान्दार पहल कदम कहीँ कसैले गरेको पाइएन। अनि खेल ध्वस्त बनाउन सक्रियहरूलाई प्रोत्साहान गर्न मैले किन जितमा रमाउनु? यसको अन्त्यका लागी सबै क्षेत्रको सार्थक पहल आवश्यक छ। खेल विगार्नेहरुलाई बाई बाई गर्न सकियो भने खेल क्षेत्रले एउटा वास्तविक जितको अनुभूति गर्नेछ। 
   
अझै पनि खेल्ने छोरो बिग्रन्छ भन्ने संस्कारबाट अगाडि बढेको नेपाली समाजमा आजका दिनसम्म मैले खेल क्षेत्रका उपलब्धिमा खुसी मनाउने अवस्था देखेको छैन। सायद अबका मन्त्री वा प्रधानमन्त्री वा सरकारले मलाई खुसी हुने अवसर प्रदान गर्छन् कि? म प्रतिक्षारत छु।

 



बल्लतल्ल ओडिआइ स्ट्याटस: यस्तो सफलतामा के खुसी मनाउनु?  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट