PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चुनावी हारको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति, दुबै समूहका आफ्नै रणनीति



पहिलोपोस्ट

चुनावी हारको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति, दुबै समूहका आफ्नै रणनीति

काठमाडौँः चुनावी हारको समीक्षाका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ। प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि कांग्रेस केन्द्रीय समितिमा चुनावी समीक्षा हुन लागेको हो। पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ।

निर्वाचनमा पराजयपछि नै कांग्रेसमा केन्द्रीय समितिदेखि महासमिति बैठक आह्वानको माग हुँदै आएको थियो। तर, लामो समयसम्म पार्टीको कुनै पनि फोरममा चुनावी समीक्षा भएको थिएन। चुनावपछि केन्द्रीय समिति बैठक बसे पनि त्यसमा चुनावी समीक्षा हुन सकेको थिएन। पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको मागलाई टार्दै आएका थिए। 

चुनावी परिणामपछि कांग्रेसमा देउवा र पौडेल समूहले हारको कारण एक अर्कालाई लगाउँदै आएका छन्। तेस्रो धारका रूपमा केही युवा केन्द्रीय सदस्यहरूले चुनावी समीक्षा र पार्टी शुद्धीकरण भन्दै जिल्ला जिल्लामा अभियान चलाइरहेका छन्। 

पार्टी नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला तथा गगन थापा लगायतले पार्टीको विशेष अधिवेशन माग गर्दै आएका छन्। केन्द्रीय समिति र महासमितिमा हारका आन्तरिक कारण छलफल गरेर विशेष महाधिवेशन गर्नुपर्ने उनीहरूको माग छ। 

तर, सभापति देउवा पक्षले भने विशेष महाधिवेशनको आवश्यकता नभएको बताउँदै आएको छ। केन्द्रीय समितिमा बहुमतमा रहे पनि चुनावी हारको समीक्षाका विषयमा भने बहुमतप्राप्त समितिमा देउवा पक्ष रक्षात्मक अवस्थामा छ। 

हारको कारण अधिकांश नेताहरूले पार्टी नेतृत्वमाथि लगाउँदै आएका छन्। सभापति देउवाले भने वाम गठबन्धन नै कांग्रेसको हारको मुख्य कारण रहेको जवाफ आन्तरिक बैठकहरुमा दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell