PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप : आयोजकको शानदार जित



पहिलोपोस्ट

बुटवल : तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले शानदार जित हात पादै क्वाटरफाईनलमा स्थान बनाएको छ।

बुटवलको रामनगरस्थित मैदानमा शुक्रवार भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सिजी सुदूर-पश्चिमाञ्चल स्पोर्टसलाई ५–१ गोल अन्तरले हराउँदै क्वाटरफाईनलमा आर्मीसग भेट पक्का गरेको हो।

आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि प्रकाश बुढाथोकीले १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा सुदूरका प्रणय अन्जनले गोल गर्दै खेल बराबरी गरेका थिए तर आयोजकले दोस्रो हाफमा ४ गोल गर्‍यो।

बुढाथोकीले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकला२ २-१ को अग्रता दिलाए। यस्तै ७१औँ मिनेटमा बिदेशी खेलाडी अक्बाले तेश्रो गोल गरे।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका बिश्व अधिकारीले ७८औँ र दिपेश आलेले ८९औं मिनेटमा गोल गर्दै ५–१ को सहज जित दिलाए। खेलमा २ गोल गरेका प्रकाश बुढाथोकीले नगद १० हजार प्राप्त गरे।

प्रतियोगिताको राष्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्नु भएको थियो। नकाउटका आधारमा चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले १५ लाख, उपविजेताले ७ लाख ५० हजार र सेमिफाईनलमा प्रवेश गर्ने टिमले ५०-५० हजार नगद प्राप्त गर्ने छन्।

यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन् भने उत्कृष्ट गोलकिपर,उत्कृष्ट  डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २०-२० हजार पुरस्कार प्राप्त गर्ने छन्। प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्ने छन्।

प्रतियोगिता अन्तर्गत आइतवार झापा–११ र एपीएफबीच खेल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell