PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

'जबज' र 'माओवाद' थाँती राख्दै तयार भयो एकताको मस्यौदा: लेनिन जयन्तीमा पार्टी एकता



पहिलोपोस्ट

'जबज' र 'माओवाद' थाँती राख्दै तयार भयो एकताको मस्यौदा: लेनिन जयन्तीमा पार्टी एकता

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदनलार्इ अन्तिम रूप दिएको छ। 

पार्टी एकताको आवश्यकता र न्यूनतम समाजवादी कार्यक्रमलार्इ समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए। 

गठबन्धनले चुनावी घोषणापत्रमा समावेश गरेका योजना तथा कार्यक्रमहरूलार्इ प्रतिवेदनको मस्यौदामा समावेश गरेको छ। 

'हामीले चुनावमा जनतामाझ गरेका प्रतिवद्धताहरू, चुनावी कार्यक्रम र घोषणापत्रमा समावेश भएका विषयवस्तुलार्इ समावेश गरी न्यूनत समाजवादी कार्यक्रमहरू तयार पारेका छौं,' पौडेलले भने, 'चुनावी प्रतिवद्धता अनुसार हामीले सरकारले गर्नुपर्ने कामहरूलार्इ समेटेर सरकारको न्यूनतम कार्यक्रमहरूलार्इ समेत समावेश गरेका छौं।'

एमाले नेता माधव नेपाल संयोजक रहेको कार्यदलले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा माक्सवाद र लेलिनवादलार्इ समावेश गरी प्रतिवेदन तयार पारेको उनले जानकारी दिए। 

सिद्धान्तमा दुर्इ पार्टीबीच विवाद रहेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादलार्इ भने छलफलका लागि थाँती राखिएको छ।
नेकपा एमालेले मान्दै आएको जबज र माओवादी केन्द्रले मान्दै आएको माओवादलार्इ महाधिवेशनसम्म थाँती राखिएको हो। 

'तत्काललार्इ दुर्इ पार्टीबीच सहमति हुन नसकेका सैद्धान्तिक विषयलार्इ महाधिवेशन सम्म थाँती राखेर लैजाने सहमति भएको छ,' पौडेलले भने, 'हामीलार्इ दिइएको जिम्मेवारी अनुसार हामीले पार्टीको सैद्धान्तिक विषयहरूको अन्तरिम मस्यौदा तयार गरेका छौं।'

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि यी विषयलाई महाधिवेशनबाट टुंगो लगाउने गरी पार्टी एकता गर्ने सहमति भएको थियो। 

सरकारका कार्यक्रम समेत समेटेर प्रतिवेदनको मस्यौदा तयार पारिएको उनले जानकारी दिए। 

विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा

एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने गरी तयार पारिएको प्रतिवेदनको मस्यौदामा विश्व कम्युनिस्ट आन्दोलन र नेपाल कम्युनिस्ट आन्दोलनको समीक्षा समेत गरिएको छ। 

'पछिल्लो समय विश्वमा कम्युनिस्टहरू कमजोर हुँदै गएको अवस्थामा विश्वका कम्युनिष्टहरूलार्इ कसरी एउटै सूत्रमा बाँध्न सकिन्छ भन्ने विषयामा पनि प्रतिवेदन बोलेको छ,' नेता पौडेलले भने, 'हामीले नेपालबाट विश्वका कम्युनिष्टहरूलार्इ नयाँ ऊर्जा प्रदान गर्न सकिन्छ। सोही अनुरूप उनीहरूसँगको सम्बन्धलार्इ समेत जोड दिएका छौं।'

प्रतिवेदनमा नेपालको कम्युनिस्ट आन्दोलनको टुट-फुटको इतिहासको समीक्षा गरिएको उनले जानकारी दिए। 'नेपालमा कम्युनिस्ट आन्दोलनका क्रममा विभिन्न कालखण्डमा भएका विग्रहहरूको समीक्षा गर्दै एकीकृत र शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माणको दिशामा अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ,' उनले भने। 

कार्यदलको ११ गते बस्ने बैठक प्रतिवेदन पेश गरिने उनले जानकारी दिए। बैठकले मस्यौदालार्इ अन्तिम रूप दिने छ। 

पार्टी एकता संयोजन समितिले फागुन ७ गते १५ दिनको कार्यावधीसहित माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो। 

२०७४ वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको घोषणा गर्ने गरी तयारी भइरहेको नेता पौडेलले जानकारी दिए। सोही अनुरूप कार्यदलहरूले काम गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell