PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एसियन कप क्वालिफायर : प्रतिष्ठाका लागि यमनसँग खेल्दै नेपाल



पहिलोपोस्ट

एसियन कप क्वालिफायर : प्रतिष्ठाका लागि यमनसँग खेल्दै नेपाल

दोहा : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत समूह एफ मा रहेको नेपालले आफ्नो अन्तिम खेल मंगलवार मंगलवार यमनसँग खेल्दैछ।

यमनविरुद्धको खेलअघि नै नेपाल एसिया कप छनोटको होडबाट बाहिरिसकेको छ। त्यसैले कतारको दोहास्थित तटस्थ मैदानमा हुने खेल नेपालका लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। यद्यपि एसिया कपमा छनोट हुने दावेदारी प्रस्तुत गरिरहेको यमनका लागि भने यो खेल महत्वपूर्ण छ। नेपाललाई हराएमा यमन एसिया कपमा चयन हुनेछ।

समूह एफ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन्। समूह चरणबाट शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०१९ मा युइएमा हुने एएफसी एसियन कपमा सहभागिता जनाउनेछन्।

आइतवार कतार पुगेको नेपालले सोमवार खेल हुने कतार स्पोर्ट्स क्लब सुहेन बिन हमाद रंशालामा नै साँझ एक घन्टा अभ्यास गरेको छ।


नेपाल पुछारमा

पाँच खेलबाट २ अंक मात्र जोडेको नेपाल समूह एफ को पुछारमा छ। घरेलु मैदानमा यमन र फिलिपिन्सविरुद्ध गोलरहित बराबरी खेल्दै नेपालले अंक जोडेको थियो। नेपाल फिलिपिन्समा ४–१ र ताजकिस्तानमा ३–० ले हारेको थियो। यसैगरी, ताजकिस्तानविरुद्ध नेपालले घरेलु मैदानमा पनि २–१ ले पराजय बेहोरेको थियो।

 

खेलअघि के भन्छन् नेपालका कोच र कप्तान?

ग्योतोकु कोजी : कोच

नेपाललाई खेल सजिलो हुने छैन। घरेलु प्रतियोगितामा खेलाडीहरु धेरै व्यस्त बने। एक टिमको रुपमा मात्र तीन दिन मात्र राम्रो प्रशिक्षण गर्न पायौँ तर हामी यमनविरुद्ध आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछौँ। हामीलाई यमनको जति दबाब हुनेछैन। तर यमन राम्रो टिम हो। टेक्निकली र फिजिकली हामीभन्दा सशक्त छ। तर ट्याक्टिसको कुरा गर्ने हो भने दुवै टिममा फरक छैन। भोलिको खेल जित्न गाह्रो हुनेछ तर हामी प्रयास गर्नेछौँ।

विराज महर्जन : कप्तान

हामी दुई महिनादेखि लगातार घरेलु प्रतियोगतामा प्रतिस्पर्धात्मक फुटबल खेल्दैछौँ, हामी अब एसिया कपमा छनोट हुन सक्दैनौँ र पनि हाम्रो लागि भोलिको खेल महत्वपूर्ण छ। हामी देशका लागि खेल्दैछौँ। यसलाई हामीले साफ च्याम्पियन्सीपको तयारीको रुपमा लिएका छौँ। हामी प्रशिक्षकको रणनीतिलाई मैदानमा राम्ररी कार्यान्वयन गर्नेछौँ।

 

नेपाली टिम :

गोलकिपर : किरण लिम्बु, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर : विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी

डिफिल्डर : विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनील बल, अञ्जन विष्ट

फरवार्ड : जर्ज प्रिन्स कार्की, विमल घर्ती मगर, नवुग श्रेष्ठ, सुमन लामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell