इस्लामाबादः नोबेल पुरस्कार विजेता मलला युसुफजाई ५ वर्षपछि घर फर्किएकी छन्। सन् २०१२ मा तालिवान लडाकुले आक्रमण गरेपछि निर्वासित भएकी उनी आज स्वदेश फर्किएकी हुन्।
उनलाई बिहीबार इस्लामावादमा पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासीले सम्मान गरेका छन्।
५ वर्षपछि स्वदेश फर्किएकी उनले स्वदेश फर्किन पाउँदा खुसी भएको भन्दै शिक्षा सम्बन्धी आफ्नो अभियानलाई निरन्तरता दिने घोषणा समेत गरेकी छन्।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा बोल्दै उनले स्वदेश फर्कन पाँच वर्ष कुर्नु परेको भन्दै पाँच वर्ष सम्मको पर्खाइ दुःखदायी रहेको बताइन्।
प्रधानमन्त्री अब्बासीले मललाले बालिका शिक्षाका लागि खेलेको भूमिकाको प्रशंसा गरे। उनले भने, ‘म मललालाई स्वागत गर्न पाउँदा सुसी छु, अब यहाँ आतंकवाद निर्मूल भएको छ।’
बिहीबार बिहान उच्च सुरक्षा सतर्कताकाबीच मललालाई पाकिस्तानको बेनेजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।
उनको सुरक्षाका लागि १५ वटा सवारी साधना खटिएका थिए। अधिकांश सवारी साधना सशस्त्र प्रहरीले भरिएका थिए।
उनको फिर्ती गोप्य राखिएको थियो। जब उनी आउने समाचार सार्वजनिक भयो उनको स्वागतमा पाकिस्तानीहरु विमानस्थलसम्म पुगेका थिए।
उनी आफ्नो गृहनगर मिङ्गोरा भने नजाने बताइएको थियो। त्यहाँ उनलाई २०१२ मा आक्रमण गरिएको थियो।
उनको आगमन पाकिस्तानमा अतिवादको परास्त भएको संकेत भएको पूर्व क्रिकेटर तथा विपक्षी दलका नेता इमरान खानले बताएका छन्।
सत्तारुढ दलकी नेतृ मर्भी मेमनले पाकिस्तानमा स्वागत गर्ने दिन पाकिस्तानका लागि गर्वको दिन भएको बताएकी छन्।