PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : अमितको नटआउट ८१ रन मद्दतमा काठमाडौं गोल्डेन्सको टिम चौराहलाई हरायो



पहिलोपोस्ट

डीपीएल : अमितको नटआउट ८१ रन मद्दतमा काठमाडौं गोल्डेन्सको टिम चौराहलाई हरायो
फोटो : रासस

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल-२) को उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई हराउँदै विजयी सुरुवात गरेको छ।

शनिवार धनगढीको एसएसपी क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले सोमपाल कामीको नेतृत्वमा रहेको चौराहलाई ७ विकेटले हरायो। काठमाडौंको जितमा बलिङतर्फ शाहब आलमले ह्याट्रिक विकेट लिए भने अमित श्रेष्ठले अर्धशतकिय रनको पारी खेले।

त्यसअघि सुनिल धमलाको अर्धशतक मद्दतमा चौराहले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो।

अमितको नटआउट ८१ रन मद्दतमा काठमाडौंले १४६ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। ६५ बल खेलेका अमितले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै नरेश बुढाएरले १८ बलमा नटआउट २४ रन जोडे। उनले १९औँ ओभरको चौथो बलमा विजयी छक्का प्रहार गरेका थिए। चौराहका संसद शेखले २ तथा सुनिल धमलाले १ विकेट लिए।

त्यसअघि शाहब आलमले १८औँ ओभरमा लगातार ३ विकेट लिदै प्रतियोगिताको पहिलो ह्याट्रिक विकेट लिने कीर्तिमान बनाउँदा चौराहलाई १४५ रनमै रोक्न सफल भएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले राम्रो सुरुवात गरेपनि सही फिनिसिङ गर्न नसक्दा सामान्य स्कोरमा रोकिएको थियो। चौराहका सुनिल धमला र पुनित मिश्राले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि सुनिल र शंकर रानाले ७१ रनको साझेदारी गरे। सुनिलले ५७ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा चौराहका लागि ६८ रन बनाए। शंकरले ३६ रन जोडे। राजु रिजाल ११ रनमा नटआउट रहे।

काठमाडौंका शहाबले १८औँ ओभरमा सुनिल धमला, सोमपाल कामीर सोनु तामाङको विकेट लिएपछि चौराहको इनिङ्स धर्मराएको थियो। काठमाडौंका किशोर महतो, सन्नी पटेल र रसिद खानले १-१ विकेट लिए।

काठमाडौंको जितमा नटआउट ८१ रन बनाएका अमित खेलको म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत आइतवार रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया तथा महेन्द्रनगर युनाइटेड र विराटनगर कंग्सबीच खेल हुनेछ।

 

पूर्व प्रशिक्षक अर्यालर र पूर्व कप्तान खड्का सम्मानित

डीपीएल-२ को अवसरमा पूर्व प्रशिक्षक अरुण कुमार अर्याल र पूर्व कप्तान राजु खड्कालाई नगदसहित सम्मान गरिएको छ। प्रशिक्षक अर्याललाई स्व. अर्जुन खड्का स्मृति सम्मान र खड्कालाई धनगढी क्रिकेट सम्मानबाट सम्मान गरिएको हो।

दुवैले नगद १-१ लाख प्रदान गरियो। अर्याल र खड्कालाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्मान पत्र प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell