PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : विनोदको टिमले पारसको टिमलाई हरायो, पुनित मेहराको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

डीपीएल : विनोदको टिमले पारसको टिमलाई हरायो, पुनित मेहराको अलराउण्ड प्रदर्शन
फोटो : रमन शिवाकोटी

काठमाडौं : विदेशी खेलाडी पुनित मेहराको अलराउण्ड प्रदर्शन मद्दतमा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आइतवार भएको खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित गरेको छ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर विरुद्ध जित दिलाउन विनोद भण्डारीको नेतृत्वमा रहेको महेन्द्रनगरका लागि मेहराले ब्याटिङमा नटआउट ३८ रन बनाउनुका साथै बलिङमा २ विकेट लिए।

धनगढीस्थित एसएसपी क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। जवाफमा विराटनगर १९ ओभरमा १३५ रनमा अलआउट भयो।

पुनित मेहराले अन्तिम ओभरमा बसन्त रेग्मीलाई २ चौका र २ छक्कासहित २४ रन प्रहार गरेपछि महेन्द्रनगरले सम्मानजनक स्कोर बनाएको थियो। १८ बल खेलेका मेहराले २ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ३८ रन बनाए। ओपनर कप्तान विनोद भण्डारीले ३५ रन जोडे। यस्तै पुनित विष्टले २४, आरिफ शेखले २० तथा हरी शंकर शाहले १९ रन जोडे।

बलिङमा विराटनगरमा मन्जित श्रेष्ठले २ विकेट लिए।

१६९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले राम्रो सुरुवात गरेपनि नियमित अन्तरमा विकेट गुमाउँदा अलआउट भयो।

विराटनगरका लागि पृथु बास्कोटाले सर्वाधिक ३५ रन जोडे। तेस्रो नम्वरमा ब्याटिङ गरेका विदेशी खेलाडी बाबर हायतले १० बल खेल्दै २ चौका र ४ छक्काको मद्दतमा ३२ रन जोडे। यस्तै अनिल कुमार शाहले २३, कप्तान पारस खड्काले १६ तथा दीलिप नाथले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

विराटनगरलाई अलआउट गर्न महेन्द्रनगरका अभिनास कर्णले ३ तथा पुनित मेहरा, भुवन कार्की र रिन क्षेत्रीले २-२ विकेट लिए। कर्णले ३ ओभर बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिए। ४ ओभर बलिङ गरेका मेहराले १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिएका हुन्। यस्तै क्षेत्रीले २ ओभर बलिङ गर्दा ८ रन मात्र खर्चेर २ विकेट लिए।

३८ रन बनाउनुका साथै २ विकेट लिएका मेहरा म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell