PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

शेयर बजार घट्नु लगानीकर्ता सरकारसँग सशंकित हुनु हो: महत



पहिलोपोस्ट

शेयर बजार घट्नु लगानीकर्ता सरकारसँग सशंकित हुनु हो: महत

काठमाडौं: डा. रामशरण महतले शेयर बजारमा हुने 'स्पेकुलेसन' लाई अनुत्पादक नै मान्नु पर्ने बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादक भनिरहेका बेला पूर्वअर्थमन्त्री महतले समग्र शेयर बजार उत्पादनमूलक भए पनि 'स्पेकुलेशन' भने अनुत्पाकमूलक नै भएको बताएका हुन्।

'समग्र शेयर बजारलाई अनुत्पादक भन्न मिल्दैन' धुम्वाराहीस्थित निवासमा केही पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'स्पेकुलेटिङ साइड जुन छ, त्यो चै उत्पादनमूलक होइन। तर यसको अर्थ समग्र बजार नै अनुत्पादक क्षेत्र हो भनेर पनि भन्न मिल्दैन।'
 
युवराज खतिवडाले 'ह्वाइट पेपर' नभइ 'रेड पेपर' ल्याएको भन्दै उनले बाम गठबन्धनको सरकार बनेपछि शेयर बजार निरन्तर झर्न थालेको बताए। 'पुँजी बजार अर्थतन्त्रको ऐना हो। कुनै पनि मुलुकमा लगानीकर्ताले हेर्दा सुरुमा त्यहाँको शेयर बजारलाई हेर्छ,' महतले भने, 'शेयर बजारले धेरै कुरा बताइरहेको हुन्छ।' उनले बामपन्थहरुको रातो चिन्हलाई संकेत गर्दै 'रेडहरुको सरकार' भन्ने संकेत गरेका हुन्। रेड सरकारकातर्फबाट आएको श्वेतपत्रलाई त्यही आधारमा 'रेड पेपर' भनेका हुन्।
 
उनले लगानीकर्ताले शेयर बजार कस्तो छ? त्यहाँका जनताले सरकारलाई विश्वास गर्छन् कि गर्दैनन्? भन्ने कुरा शेयर बजारबाटै हेर्ने भएकाले बजार निरन्तर घट्नु नकारात्मक संकेत भएको बताए।  'जहाँ स्टक मार्केट बुम भइरहेको हुन्छ, बुम हुँदा लगानीको बातावरण रहेछ भन्ने बुझिन्छ,' उनले भने, 'तर बाम गठबन्धनको सरकार आएपछि निरन्तर घटिरहेको छ।'
 
नयाँ सरकार बनेपछि शेयर बजार निरन्तर घट्नुलाई महतले 'लगानीकर्ता सरकारसँग संशङकित' भएको रुपमा लिनु पर्ने बताए। 'अर्थमन्त्रीले आपूर्ति बढेर बजार घटेको भन्ने कुरा बताएको सुनिन्छ,' उनले भने, 'आपूर्ति बढ्ने माग बढ्ने भन्ने कुरा धेरै फ्याक्टरमा भर पर्छ। सरकारको नीति, सरकारको विश्वासनियताका आधारमा अहिले बजार झरेको हो।' 
 
डा. महतले शेयर बजार पूँजी बृद्धिका कारण बढेको भए पनि अहिले घट्नु अस्वभाविक भएको बताए। 'अहिले बजार करेक्सन भएको भन्ने कुरा छ, त्यो हुँदै होइन' उनले भने, 'अहिले बजार डिप्रेस्ड नै भएको हो।' उनले बजार १४/१५ सयको हाराहारीमा बस्नु पर्ने बताउँदै १८८१ अंकलाई छोएको बजार निरन्तर घटेर १२ सयमा आउनुलाई करेक्सनका रुपमा मात्र लिन नसकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell