PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित, रसिद खानको ४ विकेट



पहिलोपोस्ट

डीपीएल : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित, रसिद खानको ४ विकेट
म्यान अफ दि म्याच गोल्डेन्सका सन्नी पटेल

काठमाडौं : काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा काठमाडौंले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको हो।

प्रतियोगितामा रुपन्देहीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा रुपन्देही अत्तरियासँग पराजित भएको थियो।

धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १८६ रन बनाएको थियो। प्रतियोगिताकै उच्च स्कोर बनाएको काठमाडौंले रुपन्देहीलाई १८.२ ओभरमा १२३ रनमा अलआउट गर्दै लगातार जित हासिल गरेको हो।

सुबोध भाटी

काठमाडौंका लागि दुई विदेशी खेलाडी सुबोध भाटी र सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे। सन्नी पटेलले नटटउट रहदै सर्वाधिक ४८ रन बनाए भने ओपनिङ गरेका सुबोधले ४२ रन जोडे। जयकसिन कोल्सावालाको स्थानमा टिममा आएका सुबोधले पहिलो विकेटका लागि अमित श्रेष्ठसँग ६५ रनको साझेदारी गरेका थिए।

पहिलो खेलमा नटआउट ८१ रन बनाएका अमित २७ बल खेल्दै  ३० रन बनाएर आउट भए। २५ बल खेलेका सुबोधले ३ चौका र ४ छक्काको मद्दतमा ४२ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले २० तथा विकेटकिपर भुपेन्द्र थापाले १४ रन जोडे। १०९ रनमा ४ विकेट गुमाएको काठमाडौंका लागि सन्नी पटेल र नरेश बुढाएरले पाँचौ विकेटका लागि नटआउट ७७ रनको साझेदारी गरे।

१८ बल खेलेका पटेलले आक्रमक ब्याटिङ गर्दै ५ चौका र ३ छक्का प्रहार गर्दै नटबउट ४८ रन बनाए। नरेशले १८ बल खेल्दै  समान २ चौका र छक्काको सहयोगमा नटबउट ३० रन जोडे।

प्रदिप ऐरी

१८७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले गतिलो सुरुवात गरेको थियो। तर ओपनरद्वय प्रदिप ऐरी र सागर पुन आउट भएपछि निरन्तर रुपमा विकेट झर्‍दा रुपन्देही सम्हालिन सकेन। प्रदिप र सागरले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। प्रदिपले ४१ बल खेल्दै ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए। यसैगरी सागर पुनले १८ तथा विदेशी खेलाडी दीपक प्रसादले १० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

रसिद खान

रुपन्देहीलाई अलआउट गर्न काठमाडौंका रसिद खानले कसिलो बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। २.४ ओभर बलिङ गरेका रसिदले ६ रन मात्र खर्चेर ४ विकेट लिए। ललित राजवंशीले ३ तथा शाहब आलमले २ विकेट लिए। यस्तै सन्नी पटेलले ४ ओभरमा ८ रन मात्र खर्चेर १ विकेट लिए।

ब्याटिङमा ४८ रन बनाउनुका साथै कसिलो बलिङ गर्दै १ विकेट लिएका सन्नी पटेल 'म्यान अफ दि म्याच' घोषित भए।

लगातार दुई जितपछि ४ अंक जोडेको काठमाडौं गोल्डेन्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिता अन्तर्गत मंगलवार महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell