PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : चौराहको लगातार दोस्रो जित, ब्याटिङमा विदेशी खेलाडीको प्रभाव



पहिलोपोस्ट

डीपीएल : चौराहको लगातार दोस्रो जित, ब्याटिङमा विदेशी खेलाडीको प्रभाव

काठमाडौं : ब्याटिङमा विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरेको दिन साविक विजेता टिम चौराह धनगढीले धनगढी प्रिमियर लिग डीपीएल-२ मा लगातार दोस्रो जित हात पारेको छ।

उद्घाटन खेलमै काठमाडौं गोल्डेन्ससँग पराजित भएको सोमपालको टोली चौराहले मंगलवार महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो।

महेन्द्रनगरले दिएको १३२ रनको लक्ष्य चौराहले १८ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले ८ विकेट गुमाएर १३१ रन बनाएको थियो।

चौराहको जितमा सुनिल धमलाले नटआउट ४६ रन बनाए। यस्तै दुई विदेशी खेलाडी रोहन मुस्ताफा र अस्फाक अहमदले उत्कृष्ट ब्याटिङ गरे।

३० रन बनाएर आउट हुनुअघि युएईका अहमदले धमलासँग पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। धमलाले दोस्रो विकेटका लागि अर्का युएईका खेलाडी रोहन मुस्ताफासँग ६७ रनको साझदारी गरे। मुस्ताफाले ३० बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ३९ रन जोडे।

धमलाले ४७ बल खेल्दै ३ चौका र २ छक्को मद्दतमा नटआउट ४६ रन बनाए। यस्तै ७ बल खेलेका सोनु तामाङले समान १ चौका र छक्काको मद्दतमा नटआउट १५ रन जोडे।

बलिङमा महेन्द्रगरका अभिनास कर्ण र पुनित मेहराले १-१ विकेट लिए।

त्यसअघि पुनित मेहरा र पुनित विष्ट तथा नेपालका भुवन कार्कीले राम्रो ब्याटिङ गरेपछि महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रनको मध्यम स्कोर बनाउन सफल भएको थियो।

८ ओभरमा ४७ रन बनाउँदा सुरुको ५ विकेट गुमाएको महेन्द्रनगरको इनिङ्स यीनै खेलाडीले उकासेका थिए। छैटौँ विकेटका लागि पुनित विष्ट र भुवन कार्कीले २२ रनको साझदारी गरे। विष्टले २४ बलमा ४ चौकाको मद्दतमा २४ रन नै बनाए। आठौँ नम्वरमा ब्याटिङ गरेका पुनित मेहरा र भुवनले सातौँ विकेटका लागि ५३ रनको साझदारी गरे।

२२ बल खेलेका पुनित मेहराले ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए। यस्तै भुवनले धैर्यतापूर्वक ब्याटिङ गर्दै ४० बलमा ३२ रन जोडे।

कप्तान विनोद भण्डारीले महेन्द्रनगरका लागि ११ रन बनाए। आसिफ शेख ८ तथा रोहित पौ८ल ३ रन बनाएर आउट हुँदा हरीशंकर शाह र आरिफ शेखले खाता खोल्नज सकेनन्।

बलिङमा ललित सिहं भण्डारीले ४ तथा कप्तान सोमपाल काकी र संसद शेखले १-१ विकेट लिए।

सुरुको २ ओभर स्पेलमा ७ रन मात्र दिएर ३ विकेट लिएका ललित दोस्रो स्पेशमा महंगो सावित हुँदा ३० रन खर्चेका थिए।

३ खेलपछि २ जित र १ हारको नतिजाका साथ ४ अंक जोडेको चौराह अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। २ खेलबाट अपराजित रहदै ४ अंक जोडेको काठमाडौं गोल्डेन्स शीर्ष स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell