PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : महेन्द्रनगरको दोस्रो जित, चौथो हारपछि रुपन्देही बाहिरियो



पहिलोपोस्ट

डीपीएल : महेन्द्रनगरको दोस्रो जित, चौथो हारपछि रुपन्देही बाहिरियो

पुनित विष्टको अलराउण्ड प्रदर्शन तथा कप्तान विनोद भण्डारीको अर्धशतक मद्दतमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै धनगढी प्रिमियर लिग डीपीएल मा दोस्रो जित हात पारेको छ। उता लगातार चार खेलमा पराजित भएपछि शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही भने लिग चरणबाटै बाहिरिएको छ।

३ मध्ये २ मा जित र १ हारको नतिजा निकालेको महेन्द्रनगर ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। समान ४ अंक रहेको विराटनगर तेस्रो तथा टिम चौराह चौथो स्थानमा छ। अपराजित रहदै ३ खेल जितेर ६ अंक जोडेको शीर्ष स्थानको काठमाडौं गोल्डेन्स प्लेअफ पुग्ने लगभग पक्का भएको छ। अब बाँकी चारमध्ये ३ टिम प्लेअफमा पुग्नेछन्।

१४५ रनको लक्ष्य महेन्द्रनगरले १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। महेन्द्रनगरको जितमा कप्तान विनोदले सर्वाधिक ६१ रन बनाए भने पुनितले ४५ रन जोडे। एक छेउबाट लगातार विकेट झरिरहेको बेला कप्तान विनोदले अर्को छेउबाट इनिङ्स सम्हाल्दै ४८ बल खेलेर ५ चौका र २ छक्का प्रहार गरे।

तेस्रो विकेटका लागि विनोद र पुनितले ५७ रनको साझेदारी गरेका थिए। पुनितले २२ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ४५ रन बनाए। पुनित मेहरा १६ रनमा नटआउट रहे। पहिलो बलमै छक्का प्रहार गरेका रोहित पौलले एक रन लिदै महेन्द्रनगरलाई जित दिलाए।

बलिङमा रुपन्देहीका दीपेश श्रेष्ठले ३ तथा सुशन भारीले २ विकेट लिए।

धनगढीस्थित एसएसपी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। रुपन्देहीका लागि ओपनर प्रदप ऐरीले सर्वाधिक ३९ रन बनाए। सागर पुनले २८, दीपक प्रसादले १७ तथा कुशल मल्लले १५ रन जोडे। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङमा महेन्द्रनगरका पुनित विष्टले ४ ओभरमा १२ रन मात्र खर्चेर ४ विकेट लिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell