PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

ज्ञानेन्द्रको अर्धशतक र सन्नी पटेलको आक्रमक ब्याटिङमा काठमाडौंको लगातार चौथो जित, प्लेअफमा पुग्ने पहिलो टिम



पहिलोपोस्ट

ज्ञानेन्द्रको अर्धशतक र सन्नी पटेलको आक्रमक ब्याटिङमा काठमाडौंको लगातार चौथो जित, प्लेअफमा पुग्ने पहिलो टिम
फाइल फोटो

काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक तथा सन्नी पटेलको 'लेट क्येमियो' मा काठमाडौं गोल्डेन्स विराटनगर किंग्सलाई पराजित गर्दै धनगढी प्रिमियर लिग (डीपीएल)को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

शुक्रवार भएको एक मात्र खेलमा विराटनगरलाई ५ विकेटले पराजित गर्ने क्रममा ज्ञानेन्द्रले कप्तानी इनिङ्स खेल्दै नटआउट ६८ रन बनाए भने सन्नी पटेलले नटआउट २५ रन जोडे। 

१६५ रनको लक्ष्य पछ्याउने क्रममा स्कोर टाइ भएको अवस्थामा ज्ञानेन्द्र ले अन्तिम बलमा छक्का प्रहार गर्दै काठमाडौंलाई जित दिलाएका हुन्।

१८औँ ओभरको दोस्रो बलमा पुष्प थापा आउट भएपछि क्रिजमा पुगेका पटेलले सुरुको दुई बलमा चौका र छक्का प्रहार गर्दै आक्रमक सुरुवात गरे। त्यसै ओभरको पाँचौ बलमा १ रन लिएका पटेल पारस खड्काको १९औँ ओभरमा २ छक्कासहित १३ रन जोडे र काठमाडौंको जित सहज बनाए। अन्तिम ओभरमा रामनरेश गीले कसिलो बलिङ गरेपनि काठमाडौंले सुरुको ५ बलमा ५ रन जोड्दै स्कोर बराबरी गर्‍यो। त्यसपछि स्ट्राइकमा रहेका ज्ञानेन्द्रले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल जिताए।

लगातार ४ खेल जित्दै ८ अंक जोडेको काठमाडौँ एक खेल अघि नै प्लेअफमा पुगेको हो। उता ४ खेल खेलिसकेको विराटनगरको २ जित र २ हारपछि ४ अंक नै छ र प्लेअफ पुग्न अन्तिम खेल जित्नैपर्ने दबाब बढेको छ।

काठमाडौंलाई जितसम्म डोहोर्‍याउने क्रममा महत्वपूर्ण भूमिका खेलेका ज्ञानेन्द्रले ४० बल खेल्दै ५ चौका ४ छक्का प्रहार गरे। सातौँ नम्वरमा ब्याटिङ गरेका सन्नी पटेलले १० बलमा २५ रन जोडे। पटेलले १ चौका  र ३ छक्का प्रहार गरे। यस्तै भुपेन्द्र थापाले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३६ तथा पुष्प थापाले १७ बलमा २४ रनको योगदान गरे। बलिङमा विराटनगरका बसन्त रगेमीले २ विकेट लिए।

त्यसअघि धनगढीस्थित एसएसपी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो। ३३ बल खेलेका हायतले आक्रमक ब्याटिङ गर्दै ३ चौंका र ७ छक्काको मद्दतमा ६७ रन बनाए। यस्तै दीलिप नाथले ३३ रन जोडे।

बलिङमा काठमाडौं गोल्डेन्सका ललित राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बसन्त रेग्मीले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell