PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दिल्लीका व्यवसायीलाई प्रधानमन्त्री ओलीको प्रश्न : विश्वभर लगानी गर्दा दैलो छेउ किन नगर्ने?



पहिलोपोस्ट

दिल्लीका व्यवसायीलाई प्रधानमन्त्री ओलीको प्रश्न : विश्वभर लगानी गर्दा दैलो छेउ किन नगर्ने?
फोटो : परराष्ट्र मन्त्रालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारती व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नयाँ दिल्लीमा आयोजित नेपाल भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

विश्वभर लगानी गरिरहेका भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै प्रश्न गरे, ‘भारतीय लगानीकर्ताहरुले विश्वभर लगानी गरिरहेका छन्, तपाईँको दैलाको अर्को छिमेक नेपालमा किन नजाने?’

नेपालमा भारतीय लगानीकर्ताहरुले भौगोलिक निकटता, सहज पहुँच, सांस्कृतिक समानताका कारण सहज वातावरण पाउने भन्दै अगाडि भने, ‘अवसरको सदुपोग गर्नुहोस्।’

नेपालमा बजारको समस्या नभएको भन्दै उत्पादनमा समस्या रहेको बताए। ‘हाम्रा लागि बजार समस्या होइन, उत्पादन हो,’ उनले भने, ‘नेपाल दुई ठूला चलायमान आर्थिक शक्तिहरु भारत र चीनका बीचमा छ, यसले तपाईँहरुलाई २ करोड ५० लाख जनसंख्याबीच आफ्नो बजार विस्तार गर्ने वातावरण दिएको छ।’ 

नेपालले छिमेकी देशसँग कररहित निर्यात सुविधा पाएको र युरोपमा समेत यो सुविधा उपलब्ध भएकाले लगानीको वातावरण राम्रो भएको बताए। 

प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीहरुसँग २५ बुँदामा आफ्ना अभिव्यक्ति दिएका थिए। 

नेपालमा संविधान कार्यान्वयन र नयाँ सरकार गठनसँगै सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित विकासका दिशामा अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित गन्तव्य भएको बताए। 

‘संविधान कार्यान्वयनसँगै नेपालमा शक्तिशाली सरकार बनेको छ, कानुनी शासन सुदृढ भएको छ यसको मतलव अब नेपाल वैदेशिक लगानीका लागि सुरक्षित छ,’ उनले भने, 'कानुनी शासन विरुद्धका कुनै पनि तत्वलाई सरकारले तत्काल नै नियन्त्र गर्ने छ।’ 

प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको बताए। भने, ‘हामीलाई विकासका हरेक क्षेत्रमा ठूलो लगानी आवश्यक छ। नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’हो। जुनसुकै क्षेत्रमा गरिएको लागानी उच्च लाभदायी छ। लगानीका लागि प्रतिस्पर्धा पनि छैन।’

उनले नेपालमा लगानीका लागि देखिने समस्या समाधानका लागि नेपाल सरकार तयार रहेको विश्वास समेत भारतीय व्यापारीहरुलाई दिलाए।

‘हामी तपाईँहरुलाई सुन्न तयार छौँ, तपाईँहरुका विचारहरु सुन्न चाहन्छौँ। हामी नेपालमा व्यवसायिक वातावरण थप सुधार गर्नका लागि प्रतिवद्ध छौँ,’ प्रधानमन्त्री ओलीले अगाडि भने। लगानीको वातावरण बनाउनका लागि कानुन, नीति नियमहरु समेत सुधार गरिरहेको भन्दै उनले अगाडि भने, ‘आउनुस् हाम्रा अधिकारीहरुसँग कुरा गर्नुस्।’

प्रधानमन्त्री ओलीले नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि विभेद नभएको बताए। 

भारतको तीन दिने राजकीय भ्रमणका लागि शुक्रबार नै भारत पुगेका प्रधानमन्त्री ओलीले आजै दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। लगत्तै उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न उनको सरकारी निवासमा पुग्ने कार्यक्रम रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell