ड्वाने ब्राभोले विष्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रनको योगदान गरेपछि चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल)मा विजयी सुरुवात गरेको छ।
मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा मुम्बईले दिएको १६६ रनको लक्ष्य चेन्नाईले १ बल बाँकी छदा ९ विकेट गुमाएर पुरा गर्यो।
७५ रनमा ५, १०८ रनमा ८ विकेट गुमाएको चेन्नाईलाई जित दिलाउन ब्राभोले शानदार ब्याटिङ गर्दै ६८ रन बनाए। १९औँ ओभरको अन्तिम बलमा आउट हुनुअघि ब्राभोले ३० बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे। ब्राभोले नवौँ विकेटका लागि इमरान ताहिरसँग ४१ रनको साझेदारी गरे।
अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि ७ रन आवश्यक थियो। केदार जादवले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेललाई चेन्नाईको पक्षमा पारेका थिए। जादवले पाँचौ बलमा चौका प्रहार गर्दै खेल जिताए। त्यसअघि रिटायर्ड हर्ट भएर पवेलियन फर्केका जादव अन्तिम ओभरमा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए।
बलिङमा मुम्बईका हार्दिक पान्ड्या र मायाङ्क मार्कन्डेले ३-३ विकेट लिए।
त्यसअघि टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले घरेलु मैदानमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४३ रन बनाए भने इशान किसनले ४० रन जोडे। यस्तै क्रुनल पान्ड्याले नटआउट ४१ रन जोडे। बलिङमा चेन्नाईका शेन वाट्सनले २ विकेट लिए।