PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डीपीएल : काठमाडौं गोल्डेन्सलाई १ विकेटले हराउँदै टीम चौराह फाइनलमा



पहिलोपोस्ट

डीपीएल : काठमाडौं गोल्डेन्सलाई १ विकेटले हराउँदै टीम चौराह फाइनलमा

काठमाडौं : मोहम्मद सांसद शेखले अन्तिम ओभरको पाँचौ बलमा छक्का प्रहार गरेपछि काठमाडौं गोल्डेन्सलाई १ विकेट पराजित गर्दै साविक विजेता टिम चौराह धनगढी डीपीएलको फाइनलमा प्रवेश गरेको छ।

लो स्कोरिङ पहिलो क्वालिफायरमा चौराहले १२८ रनको लक्ष्य अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो।

लिग चरणको पहिलो खेलमै काठमाडौंसँग पराजित भएको चौराहले त्यस हारेको बदला समेत लिएको छ। लिगमा अपराजित रहेको काठमाडौंको प्रतियोगितामा यो पहिलो हार हो। तर काठमाडौंले फाइनल पुग्ने अर्को मौका पाउनेछ। महेन्द्रनगर युनाइटेड रसिवाइती अत्तरियाबीच आजै हुने एलिमिनेटर खेलको विजेतासँग काठमाडौंले दोस्रो क्वालिफायर खेल खेल्नेछ।

निकै रोमाञ्चक खेलमा चौराहलाई अन्तिम ओभरमा जितका लागि १० बल आवश्यक थियो। काठमाडौँका रसिद खानले बलिङ गरेको उक्त ओभरको पहिलो बल वाइड हुँदा चौराहले ३ रन जोडेको थियो। अर्को बलमा चौराहका शंकर रानाले १ रन जोडे। दोस्रो बलमा रसिदले कुनै रन दिएनन्। त्यसपछि चौराहले लगातार दुई विकेट गुमाउँदा खेल रोमाञ्चक मोडमा पुगेको थियो। तेस्रो बलमा शंकर राना रनआउट भए भने योगेन्द्र सिंह कार्की चौथो बलमा आउट भए। तर त्यसपछि क्रिजमा पुगेका सांसद शेखले पहिलो बलमै छक्का प्रहार गर्दै खेल जिताए।

चौराहका लागि विदेशी खेलाडी रोहन मुस्ताफाले सर्वाधिक ३३ रन बनाए। २० बल खेलेका मुस्ताफाले २ चौका र १ छक्का प्रहार गरे। यस्तै शंकर रानाले २८ रनको योगदान गरे। सोनु तामाङले १४ तथा सुनिल धमलाले १३ रन जोडे।

बलिङमा काठमाडौंका सन्नी पटेल, रसिद खान र शहाद आलमले २-२ विकेट लिए। सुबोध भाटी र ललित राजवंशीले समान १ विकेट लिए।

त्यअघि धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेट गुमाएर १२७ रन बनाएको थियो। खेलको दोस्रो ओभरमै काठमाडौंले ओपनर सुबोध भाटी (०) लाई गुमाएको थियो। तेस्रो नम्बरमा ब्याटिङ गरेका भुपेन्द्र थापा पनि १० रन बनाएर आउट भएपछि

ओपनर अमित श्रेष्ठ र कप्तान ज्ञानेन्द्र मल्ले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। ज्ञानेन्द्रले २३ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ३८ रन बनाए। अमितले ३८ बलमा ३६ रन जोडे। पुष्प थापा १६ रनमा नटआउट रहे। बलिङमा चौराहका सोमपाल कामी र। ललित सिंह भण्डारीले २-२ विकेट लिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell