PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

डिफेन्डिङ च्याम्पियन चौराहले जित्यो डीपीएल-२ को उपाधि



पहिलोपोस्ट

डिफेन्डिङ च्याम्पियन चौराहले जित्यो डीपीएल-२ को उपाधि

काठमाडौं : डिफेन्डिङ च्याम्पियन टिम चौराह धनगढीले दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधि जितेको छ।

सुनिल धमला र रोहन मुस्ताफाको उत्कृष्ट ब्याटिङ तथा ललित भण्डारीको उत्कृष्ट बलिङको मद्दतमा स्थानिय टिम चौराहले फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

उपाधिसँगै चौराहले नगद २५ लाख र ट्रफी हात पार्नेछ। उपविजेता काठमाडौले १० लाख पाउनेछ। लिग चरणको उदघाटन खेलमै काठमाडौंसँग पराजित चौराहले फाइनलमा काठमाडौंलाई नै हराउँदै च्याम्पियन बन्यो। लिगमा दोस्रो भएको चौराहाले पहिलो क्वालिफायरमा काठमाडौंलाई नै हराउँदै फाइनल पुगेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको चौराहले सुनिल धमला र रोहन मुस्ताफाको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफमा काठमाडौंले २० ओभर खेल्दै ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।

धनगढीस्थित एसएसपी मैदानमा भएको खेलको तेस्रो ओभरको पहिलो बलमै ओपनर अस्फाक अहमेदलाई ४ रनमा गुमाएको चौराहका लागि सुनिल धमला र मुस्ताफाले शतकिय साझेदारी गरे। यी दुईले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गर्दै चौरालाई उच्च स्कोर बनाउन सहयोग गरे।

सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए। सन्नी पटेलले बलिङ गरेको अन्तिम ओभरको दोस्रो बलमा नरेश बुढाएरको हातबाट क्याचआउट हुनुअघि सुनिलले ६३ बल खेल्दै ८ चौका र ३ छक्का समेत प्रहार गरे।

यस्तै मुस्ताफाले ४२ बल खेल्दै समान ४ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए। हार्ड हिटर सोनु तामाङ पहिलो बलमै बोल्ड आउट हुँदा कप्तान सोमपाल कामीले ४ बलमा नटआउट ८ रन बनाए। चौराहले ३१ रन एक्स्ट्रा पाएको थियो।

बलिङमा काठमाडौंका सुबोध भाटीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिए।

फाइनलमा उच्च स्कोर पछ्याएको काठमाडैले पनि टिमको स्कोर १२ हुँदा नै सुबोध भाटी (५)लाई गुमाएको थियो। दोस्रो विकेटका लागि अमित श्रेष्ठ र पुष्प थापाले ५४ रनको साझेदारी गरे। ५९ बल खेलेका अमितले ७ चौका र ३ छक्का मद्दतमा ५८ रन बनाए। पुष्पले १० बलमा १५ रन जोडे।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले चौथो विकेटका लागि नरेश बुढाएरसँग ३६ रनको साझेदारी गरे। ज्ञानेन्द्रले २७ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा ३० रन बनाए। नरेश बुढाएरले १९ तथा सन्नी पटेलले २२ रन बनाए।

बलिङमा चौराहका ललित भण्डारीले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिए। यस्तै रोहन मुस्ताफाले २ विकेट लिए। ब्याटिङमा ६० रन बनाउनुका साथै २ विकेट लिएका मुस्ताफा खेलको म्यान अफ दि म्याच घोषित भए।

चौराहका विकेट किपर राजु रिजाल लगातार दोस्रो पटक उपाधि जित्ने पहिलो खेलाडी भएका छन्। गत सिजनमा पारस खड्काको कप्तानीमा चौराहले पहिलो पटक डीपीएलको उपाधि जितेको थियो। र, राजु त्यस टिमका सदस्य थिए। यसपटक फास्टबलर सोमपाल कामीको कप्तानीमा चौराहाले उपाधि जितेको हो।

चैत १७ बाट सुरु भएको प्रतियोगितामा ६ शहरको नामबाट ६ टिमले सिंगल राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell