PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारी अस्पतालमा अनियमितताका चाङ : कर लुकाउनेदेखि करोडौ गायब पार्नेसम्म



सागर बुढाथोकी

सरकारी अस्पतालमा अनियमितताका चाङ : कर लुकाउनेदेखि करोडौ गायब पार्नेसम्म

काठमाठौं: वीर अस्पतालले मूल्य अविवृद्धि कर २७ लाख ४५ हजार नबुझाएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४ ले जनाएको छ। वीर अस्पतालले पुरानो संरचना भत्काउँदा प्राप्त लिलामी रकमको कर नतिरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार औषधि खरिदमा पनि वीर अस्पतालमा अनियमितता भएको छ। २८ लाख ४६ हजार बढी मूल्य तिरी ५० आइटम औषधि खरिद भएको हो। 

कर्मचारीको तलब वितरण पनि नियमसम्मत भएको देखिन्न। १९ करोड ३० लाख ५ हजार सम्बन्धित निकायबाट स्वीकृति नलिइ वीर अस्पतालले तलब भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

असार मसान्तमा वीर अस्पतालले १७ करोड ८९ लाख ६७ हजारको चेक  नियमविपरित भुक्तानी गरेको छ। अस्पतालले वित्तीय अनुशासन उल्लघंन गर्दै चेक भुक्तानी गरेको हो।

त्यस्तै राष्ट्रिय ट्रामा सेन्टरले स्वास्थ्य उपकरण खरिद गर्दा १४ करोड ३४ लाख नियमसम्मत भुक्तानी गरेको छैन। २०७ कर्मचारीलाई ५० लाख ३२ हजार तलब नियम विपरीत भुक्तानी गरेर अनियमितता गरेको छ। त्यस्तै १५ लाख ६९ हजार करारका कर्मचारीलाई सम्झौता विपरीत  भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फर्मास्युटिकल्स कम्पनीलाई ४० करोड ४० लाख लगानी उठाउन सकेको छैन। त्यस्तै ९३ लाख ३८ हजार  भुक्तानी गरेको रकम खर्चमा नदेखाइकन अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

३५ लाख ४१ हजार भन्दा बढी रकम प्रतिष्ठानले सम्झौता विपरीत भुक्तानी  गरेको छ। ४६ लाख ४ हजार कर नै तिरेको छैन।

कान्ति बाल अस्पतालमा आम्दानीभन्दा  ९५ लाख १७ हजार खर्च भएको छ। अस्पतालले सम्झौता विपरीत तलबमा मात्रै ७१ लाख ७२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। ८८ लाख ८५ हजार  रुपैयाँ नियम विपरीत फार्मशीको कर्चारीहरुको तलबमा खर्च भएको छ।
 
भरतपुर अस्पतालमा पनि अनियमितता भएको छ। ९७ लाख ९३ हजार फिर्ता आउनुपर्ने रकम कोषमा फिर्ता आएको छैन।

कोसी अञ्चल अस्पतालमा ६४ लाख ७९ हजार को दोब्बर रकम भुक्तान गर्दा पनि आवश्यक सामान आयात भएको छैन।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा ८१ करोड ४२ लाख २२ हजार विनियोजन भएको थियो।  जसमध्ये १६ करोड २२ लाख बजेट खर्च नभइकन निष्क्रिय भएको प्रतिवेदनमा उल्लेख छ।

क्षयरोग कार्यक्रममा ८ लाख ९२ हजार ६८६ अमेरिकी डलर खर्च गरेको उल्लेख छ। तर त्यो रकमको विवरण क्षयरोग केन्द्रसँग छैन।  त्यस्तै ७ करोडमध्ये ४ करोड (अमेरिकी डलर) खर्च भए पनि बाँकी रकम खर्च नभएको उल्लेख छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ४१ करोड ४६ लाख ७४ हजार रकम गायब गरेको देखिन्छ। कुल खर्च देखाएपनि सो रकमलाई कुनै शीर्षकमा खर्च गरेको देखाएको छैन। केन्द्रको १ करोड ६० लाख ८० हजार खर्च लेखेपनि कागजात प्रस्तुत नगरेको प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell