PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सिरिया संकट : विश्व नै दुर्इ ध्रुबमा विभक्त, ह्वाइट हाउस अगाडि प्रदर्शन



पहिलोपोस्ट

सिरिया संकट : विश्व नै दुर्इ ध्रुबमा विभक्त, ह्वाइट हाउस अगाडि प्रदर्शन

वासिङटन : अमेरिकी नेतृत्वमा सिरियामाथि भएको हवाइ अाक्रमणसँगै विश्व नै दुर्इ ध्रुबमा बाँडिएको छ। आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन सुरू भएको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि दर्जनौँ प्रदर्शनकारीहरू जम्मा भएका छन्। उनीहरूले अाक्रमणको विरोधमा हस्ताक्षार संकलन समेत गरेका छन्। 

अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नबित्दै उनीहरुले हस्ताक्षर संकलन गरेका हुन्। 

प्रदर्शनकारीहरुले पहेलो व्यानर सहित 'सिरियालाई मुक्त गर', 'सिरियामा अमेरिकाको युद्ध हुँदैन' 'सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यस्ले उनीहरुलाई मार्छ,' जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए। 

उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए। उनीहरुले विभिन्न शहरहरुमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेको इरो न्यूजले जनाएको छ।

सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन्। 

यो हमला अहिलेको लागि पूरा भएको अमेरिकाले बताएको छ। अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ। 

यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए। 

सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच सो आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मिक बैठक शनिबार बसेको छ। 

सो बैठकमा उपस्थित संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले सिरियाका बारेमा गम्भीर भएर सोच्न आग्रह गरेका थिए। 

उनले सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेकोले यसको समाधान सोही अथवा गम्भीर रुपमा नै सोच्नुपर्नेमा जोड दिए। 

उनले सिरियाले रासायनिक हतियारहरुले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल हो भन्दै तर त्यसका विरुद्धमा हतियारकै कारबाही पनि राष्ट्रसंघले सोचेको विकल्प नभएको बताए। 

सो बैठकमा रुसले भने उक्त आक्रमणको विरोध गरेको छ। संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले सो आक्रमणको विरोध गरे। 

उनले सिरियामा बिना सूचना र तीन वटा देशको सेनाले एकै पटक हवाई हमला गरेर अन्तर्राष्ट्रिय कानुनको अपव्याख्या र उल्लंघन गरेको आरोप लगाए। यसको प्रतिउत्तरमा अमेरिकी विशेष दूतले भने सिरियाली सरकारले यस्ता घातक आक्रमणहरु गर्दा पनि रुसले विरोधको सट्टा उल्टै सघाएको आरोप लगाइन्। सुरक्षा परिषदमा रूसले अत्यावश्यक महत्त्वको विषय प्रवेश गराएपछि अापतकालीन रूपमा बैठक बसेको थियो। यद्पि, सो प्रस्ताव असफल भएको छ। 

सुरक्षा परिषदका १५ सदस्य मध्ये प्रस्तावको पक्षमा रूससँगै बोलिभिया र चीनले मत दिएका थिए। 

यसैबीच उक्त हमलाको सिरियाले निन्दा गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघका लागि सिरियाली राजदूत बसर जा अफारीले अमेरिकी नेतृत्वको सो हमलाको निन्दा गरे। 

'अमेरिकी नेतृत्वका ती देशले गरेको सो हमला अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुन विपरीत हो, पहिलेको दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालीन अवस्था पुनः फर्किएको छ,' उनले भने। 

उनले यस्तो हमलाले सिरियामाथि ठूलो अन्याय भएको भन्दै तुरुन्त यस्ता सिरियामाथि धावा बोल्ने कार्य रोक्न लगाउन विश्व समुदायसमक्ष आग्रह गरेका छन्। 

विश्व नै दुर्इ ध्रुबमा विभक्त

सिरियामाथिको अाक्रमणलार्इ अमेरिका, फ्रान्स र वेलायतसँगै युरोपेली मुलुकहरूले समर्थन गरिरहँदा रूस, चीन र इरानले विरोध गरिरहेका छन्। 

वेलायती प्रधानमन्त्री थेरेसा मेले अाक्रमणको पक्षमा उभिन विश्व समुदायलार्इ अाग्रह गरेकी छन्। प्रधानमन्त्री मेले अन्तर्राष्ट्रिय समुदायको समर्थनका लागि जोर्डन, साउदी अरब, साइप्रस, इटाली, जर्मनी, अष्ट्रेलिया र क्यानाडाका नेताहरूसँग कुरा गरेको सीएननले जनाएको छ। 'सबै नेताहरू प्रधानमन्त्री मेको प्रस्तावमा सहमत भएका छन्,' वेलायती प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

यता उनलार्इ विश्वले समर्थन गरे पनि उनी देशभित्रै संकटमा पर्न सक्ने अनुमान गरिएको छ। अागामी संसद बैठकमा उनीमाथि प्रश्न उठ्ने समाचारमा जनाइएको छ। देशको व्यवस्थापिकाको अनुमति नलिइ अाक्रमण गरिएको भन्दै संसदमा अाक्रमण विरूद्भ प्रश्न उठ्न सक्ने बताइएको छ। 

पुटिनको चेतावनी

यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले राष्ट्रसंघीय चार्टरको उल्लंघन गर्दै अाक्रमण गरेको अारोप लगाएको छ। क्रेमिलिनले शनिबार जारी गरेको वक्तव्यमा  अमेरिकाले डुमामा रासायनीक हतियार प्रयोग गरेको भनेर लगाएको अारोपमा कुनै सत्यता नरहेको अारोप लगाएको छ। 

क्रेमिलिनले गत वर्ष सिरयाको एयरबेस क्याम्पमा गरेको अाक्रमण जस्तै यो अाक्रमण भएको बताएको छ। 

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताएका छन्। अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरेका छन्। 

फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उनले बताएका छन्। 

सिरियाको पक्षमा इरान

यसैबीच इरानले समेत सिरियामाथिको अमेरिकी अाक्रमणको निन्दा गरेको छ। इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन्। 

'म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,' खमेनीले भने। 

आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने उनले बताएका हुन्। 

अाक्रमणले समस्या समाधान गर्न सक्दैनः चीन

यसैबीच अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। 

चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो। सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सवै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ। 

चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी घटनामा अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको अारोप लगाएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुन्नाइङले भनिन्, 'चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ। साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौँ।'

उनले कुनै पनि देशको सार्वभौमिकतामाथिको अाक्रमण स्वीकार्य नभएको बताइन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell