PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारको घुँडा टेकाउने यातायात व्यवसायीको दाउ, देशव्यापी चक्काजामको निर्णय



दिनेश खड्का

सरकारको घुँडा टेकाउने यातायात व्यवसायीको दाउ, देशव्यापी चक्काजामको निर्णय
फाइल फोटो

काठमाडौं : सरकारलार्इ 'घुँडा टेकाउन' यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन्।

सरकारले सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन्। आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। महासंघले आन्दोलनका कार्यक्रमलार्इ गोप्य राखेको छ। आन्दोलनका बारेमा महासंघले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।

‘सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको खारेजीको माग गर्दै वैशाख २० गते सबै भाडाका गाडी नचलाउने निर्णय भएको छ,’ नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले भने, ‘सरकारले हाम्रो माग सुनुवार्इ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने निर्णय भएको छ।’ महासंघको निर्णय अनुसार पेट्रोल ढुवानी समेत ठप्प हुनेछ।

सरकारले निर्देशिका जारी गर्दै कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउनुपर्ने, यातायात समिति असारदेखि नविकरण नगर्ने लगायतका सुधारका मुद्दा अघि बढाएको थियो। यातायात व्यवस्था विभागले कम्पनीमार्फत् सार्वजनिक यातायात चलाउन अनुमति दिन थालेको थियो।विभागको अनुमतिपछि काठमाडौंदेखि बनेपासम्म मयुर यातायातले सेवा थालेको थियो।

मयुर यातायातको सेवाका विरुद्धमा कोटेश्वर पूर्वका व्यवसायीले एक दिन यातायात बन्द गरेका थिए। कोटेश्वर पूर्वका यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि विभागले एकै दिन पाँच वटा कम्पनीलार्इ अस्थायी रुट इजाजत दिएको थियो। यता विभागले भने सार्वजनिक यातायात बन्द गर्नै नपाउने जिकिर गरेको छ। ‘अत्यावश्यक सेवा बन्द गर्न पाइँदैन। हामी बन्द गर्ने व्यवसायीलार्इ कारवाही गर्छौं,’ विभागका प्रवक्ता तुलसीराम अर्यालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell