PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्रेक फेलका ‘अनुहार नपर्‍या’ ससुरा भाइ: रत्यौलीबाट राम्रो अाम्दानी



नेत्र तामाङ

ब्रेक फेलका ‘अनुहार नपर्‍या’ ससुरा भाइ: रत्यौलीबाट राम्रो अाम्दानी

नेपाल टेलिभिजनमा प्रत्येक सोमबार राति ९ बजे आउने हास्य टेलि श्रृंखला ‘ब्रेक फेल’ का ससुरा भाइ ‘अनुहार नपर्‍या’ थेगोबाट चर्चामा छन्। जिरे खुर्सानीमा गोविन्दे हवाल्दारको भूमिकामा देखिएका यी कलाकार सुटिङ युनिटमा ‘मुस्कान अंकल’ का नामले चिनिन्छन्। 

२०४७ सालबाट कला यात्रा थालेका उनी फिचर फिल्मदेखि सानो पर्दाका फिल्मसम्म देखिएका छन्। अशोक शर्मा निर्मित गरिब फिल्मबाट अभिनय थालेका उनले ललितपुरको इमाडोलमा स्कुलमा छँदै नाटकमा अभिनय थालेका थिए। अहिलेसम्म उनले १६ फिल्ममा अभिनय गरिसकेका छन् भने इमेज टेलिभिजनमा प्रसारण हुने आममै, नेपाल वानबाट आउने खोतलखातल, जिरे खुर्सानी, तितोसत्यमासमेत अभिनय गरिसकेका छन्। अभिनयमा व्यस्त यी कलाकारको अर्को प्रतिभा भनेको गायन पनि हो। 

उनै कलाकार धनराम मुस्कान केसीका अनुभव 

‘अनुहार नपर्‍या’को न्वारान


ब्रेक फेल सुरु हुँदा मलाई किरण केसी राता मकैले केही नयाँ थेगो ल्याउनुपर्‍यो भन्नुभयो। मलाई पनि केही नयाँ गरु लागिरहेको थियो। त्यसैले यही अनुहार नपर्‍या भन्ने थेगो प्रयोग गरें। यो थेगोकै कारण अहिले मलाई देशविदेशबाट दर्शकहरूले मनपराउनु भएको छ। कतिले फेसबुक मेसेन्जरबाटै कल गरेर एक पटक अनुहार नपर्‍या भन्दिनुपर्‍यो भनी अनुरोध गर्नुहुन्छ। म झिसार मान्दिनँ। मैले अनुहार नपर्‍या मात्र भन्दिदाँ पनि एकदम खुसी हुन्छन्। एउटा कलाकारले चाहने भनेको दर्शकको माया हो। जुन मैले पाएको छु। त्यसैले खुसीको सीमै छैन।

थेगोले मात्र त काम गर्दैन। कथावस्तु पनि राम्रो हुनुपर्छ। यसमा किरण केसीको ठुलो देन छ। उहाँकै सहयोगमा यो थेगोले जीवन्त हुने मौका पायो। वास्तावमा यो थेगो १० वर्षअगाडि नै गंगाजल मा सुशील क्षेत्रीलाई हानेको डायलग थियो। त्यति बेला पनि चर्चामा आएको थियो। तर, बिस्तारै सबैले बिर्सेकाले होला। अहिले धेरैले मनपराउन थाले।

हरेक फिल्म र टेलिफिल्ममा फरकफरक अभिनय हुन्छ। पात्र फरक हुन्छ। कथाअनुसार आफूले दुःख गरेकै हुन्छ। तर, ती अभिनयहरूमा भन्दा ब्रेक फेलको पात्रबाट दर्शकमा अलि बढी नै नोटिस भएको मलाई पनि लाग्दै छ। यो सबै ब्रेक फेल टिमको मेहेनतको फल हो। मलाई अहिले स्टेजसम्म पुर्‍याइरहेको छ ससुराभाईले। अमेरिकासम्म पनि आउने निम्तो आउन थालेको छ। जता पुगे पनि दर्शकको माया विना कलाकार बाँच्न सकिँदैन। 

रत्यौली गाएर राम्रो कमाई

म गायनमा पनि छु। अहिले काठे गीत गाउँछु। पाँच वटा एल्बम बजारमा आइसक्यो। अहिले इमाडोल सानागाउँ बोलको गीत रेकर्डिङ हुँदैछ। अहिले त म्युजिक भिडियो पनि बनाउनुपर्‍यो। त्यसैले म्युजिक भिडियो पनि तयार गर्दैछु। लगत्तै यही सालमा सातौं एल्बममा ल्याउने तयारीमा छु। 

गीत गाउन स्टेज कार्यक्रममा अस्ट्रेलियासम्म पुगें। स्टेज कार्यक्रममा भन्दा पनि म रत्यौलीमा बढी जान्छु। अहिले बिहेमा रत्यौली गाउनेहरु घट्दै गएको छ। केटालाई प्रवेश दिइदैनथ्यो पहिले। अहिले यो गाउने क्रम घट्दै गएकाले केटालाई पनि प्रवेश पाउन थालेका छन्। त्यसैले रत्यौलीको टिम बनाएको छु।

काठमाडौं वरपर हुने विवाहहरूमा हामी जान्छौ रत्यौली खेल्न। ११ जनाको समूहमा हुन्छौ हामी। ३ जना केटा ३ जना केटी। जोर मादल। बाँसुरी गरी चारजना संगीतकार  र एक जना टेक्निसियन साथमा हुन्छौ। बाजा बजाएर छमछमी नचाउँछौ। यसले बिहेको माहौल छुट्टै बन्छ। म काठ क्षेत्रको गीत बचाउनुपर्छ भनेर पनि लागिरहेको छु। अहिले संगीतकर्मी संघको ललितपुर जिल्ला अध्यक्ष पनि हुँ।

१३ वर्षमै भागी बिहे 

मेरी श्रीमती गमला केसी, अहिले मलाई यतिसम्म चिनाउन सघाउने उनी पनि हुन्। हामी सानैदेखि नाटकमा पनि अभिनय गर्थ्यौ। महेन्द्र आदर्श माविमा एउटै कक्षामा पढ्ने। ७ कक्षामा पढ्ने बेला १३ वर्ष पुगेको होला। हाम्रो माया बस्यो। बुवा भैरवबहादुर केसी उपप्रधानपञ्च हुनुहुन्थ्यो। मैले बुवासँग हकी कुरा राखे। बुवाले पनि बिहे गर्दा हुन्छ भन्नुभयो। भागी बिहेका लागि त्यति बेला अलि गाह्रै कुरा थियो। बुवाको साथ पाएपछि गमलालाई भगाए। माइत घर छेवैमा भएकोले थाहा पाउला भनेर साँखु भागें। त्यहाँ ८ दिन बसेर घर फर्के। त्यसपछि त माइतीले पनि नाइनास्ती गरेन। राम्रो भयो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell