PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीलाई इंगेज गर्न मोदीको अस्त्र : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका चार फ्याक्टर



विधुर ढकाल

ओलीलाई इंगेज गर्न मोदीको अस्त्र : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका चार फ्याक्टर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएको एक महिना नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल यात्राको चर्चा सुरु भएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख २८ गते (मे ११) मा हुने समाचार प्रकाशित गरेपछि कुटनीतिक वृत्तमा एकखाले तरङ्ग फैलिएको छ। 

नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणको विषयलाई पुष्टि गरेको छैन्। परराष्ट्र स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको भए पनि मिति तय भसकेको छैन। ‘भारतीय प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको छ। मिति भने तय भइसकेको छैन्,’ मन्त्रालयको दक्षिण एसिया महासाखाका एक अधिकारीले भने, ‘सम्भवतः एक महिनाभित्र हुनेछ, दुई देशका अधिकारीसँग भारतीय प्रधानमन्त्रीको भ्रमण एक महिनाको अन्तरालमा हुने बताइएको छ।’

यद्यपि, परराष्ट्र मन्त्रालयले मातहतका निकायमा तयारी थाल्न समेत निर्देशन दिइसकेको छ। मोदी नेपाल भ्रमणका क्रममा जनकपुरमा जाने कार्यक्रम छ। सोही अनुरुप धनुषा जिल्ला र प्रदेश २ लाई समेत तयारीका लागि निर्देशन दिइएको छ। 

भारतीय प्रधानमन्त्री मोदी अबको एक महिनाभित्र नेपाल भ्रमण गरे भने यही वर्षभित्र उनी दुई पटक नेपाल आउने सम्भावना समेत रहन्छ। नेपाल विम्स्टेकको अध्यक्ष राष्ट्र हो। यही वर्ष नेपालले विम्स्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ। सम्मेलनमा सदस्य राष्ट्रबाट सरकार प्रमुख सहभागी हुँदै आएका छन्। सोही कार्यक्रममा समेत मोदी नेपाल आउने छन्। 

२०७१ वैशाखमा ‘छिमेक पहिलो’ नीति अनुरुप प्रधानमन्त्री भएपछि मोदी पहिलो पटक नेपाल आएका थिए। सोही वर्ष सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन उनी दोस्रो पटक नेपाल आएका थिए।

यस वर्ष पनि भारतीय प्रधानमन्त्री दुई पटक नेपाल आउने सम्भावना रहेको छ। ‘भारतीय प्रधानमन्त्री मोदी नेपालमा विम्स्टेकका लागि नेपाल आउने कार्यक्रम थियो। तर विम्स्टेकको सम्मेलनको तयारी ढिलाई भएको कारण सो भन्दा अगाडि नै मोदी नेपाल आउन लागेका हुन्,’ मन्त्रालय स्रोतले भन्यो। 
 

मोदीको नेपाल भ्रमण : चीन फ्याक्टर

यति छिटै भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउनुको प्रमुख कारण चीनसँग नेपालको नजिकिँदो नाता नै हो। नेपाललाई बोआओ फोरममा सहभागी हुनबाट रोक्न सफल भारत पुनः नेपाललाई चीनसँग नजिक हुनबाट रोक्ने रणनीतिमा छ। 

हालसम्म बोआओ फोरममा उच्चस्तरीय सहभागिता जनाउँदै आएको नेपालबाट यसपटक पनि उच्चस्तरीय सहभागिताको तयारी थियो। फोरममा प्रधानमन्त्री ओली सहभागी हुने संकेत पाएको भारतले सोही मितिमा ओलीलाई भारतमा डाक्यो। सम्मेलनमा नेपाललाई सहभागी हुनबाट रोक्न भारत सफल भयो। 

पछिल्लो समय दक्षिण एसियामा चिनियाँ प्रभाव बढ्दै गएको अवस्थामा भारतको अन्तिम अस्त्र नेपाल नै देखिएको छ। पाकिस्तान सँधै भारतको विपक्षमा थियो। दक्षिण एसियाका अफगानस्तान, बंगलादेश, मालदिभ्स, श्रीलंका र भुटान भारतको पक्षमा थिए। भारतीय प्रभाव थियो। यद्यपि, यी देशहरु समेत भारतको हातबाट फुस्किसकेका छन्। यस्तो अवस्थामा भारतका लागि नेपाल चीनलाई रोक्ने रणनीतिक भूगोल हो। 

अर्को कुरा भूगोलका कारण पनि नेपाल चीन र भारत दुवैका लागि रणनीतिक महत्त्व राखेका छन्। नेपाली भूभाग दुई देशको रणनीतिक महत्त्व भएका कारण पनि दुवै देशले नेपाललाई महत्त्व दिइरहेका छन्। 
 

नेपालमा वाम सरकार

नेपालमा वाम गठबन्धनको सरकार छ। निर्वाचन अगाडि नै वाम गठबन्धन बन्दै गर्दा भारतले नेपालमाथि रणनीतिक रुपमा चासो दिँदै आएको थियो। यसअघि व्यूरोक्रेसीले चलाउँदै आएको भारतीय ‘डिप्लोमेसी’ राजनीतिक नेतृत्वमा आएको छ। नेपालमा कर्मचारीबाट कुटनीति चलाउँदै आएको भारतले वाम गठबन्धनले निर्वाचनमा बहुमत हासिल गरेसँगै राजनीतिक तहबाटै कदम चालिरहेको छ। 

‘प्रो चाइनिज लिडर’को छवि बनाएका प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधारका लागि मोदीले उनी प्रधानमन्त्री हुनु अगाडि नै विशेष दूतका रुपमा विदेशमन्त्री सुष्मा स्वराजलाई पठाएर सम्बन्ध सुधारको प्रयास थालेका थिए। त्यसअघि नै उनले दुईपटक ओलीलाई टेलिफोन गरिसकेका थिए। 

प्रधानमन्त्री भएको दुई महिना नपुग्दै मोदीले ओलीलाई दिल्लीमा स्वागत गरे। नेपालको वाम सरकारलाई चीनसँग बढी नजिक नहोस् भन्ने भारतीय चाहना प्रस्ट देखिएको छ। भारतीय राजनीतिक नेतृत्वले समेत यो विषयलाई विभिन्न फोरममा राख्दै आएको छ। 

परराष्ट्रमन्त्रीको चीन भ्रमण

मोदीले प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत गरेको दुई साता नबित्दै बेइजिङले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई विशेष महत्त्वका साथ स्वागत गर्‍यो। बेइजिङमा त्यहाँ राष्ट्रपति सी जिङ पिङ पछिका प्रभावशाली मानिएका उपराष्ट्रपति वाङ छिशाङसँग शिष्टाचार भेट गरे। 

रक्सौलबाट काठमाडौँसम्म इलेक्टिफाइड रेल जोडिदिने भारतीय सहमतिको १० दिन नबित्दै नेपालले बेइजिङसँग केरुङ हुँदै लुम्बिनीसम्मको तिब्र गतिको विद्युतीय रेल अनुदानमा बनाइदिन प्रस्ताव गर्यो। नेपाल चीनले अगाडि सारेको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को फ्रेमवर्कमा हस्ताक्षर गरेको छ। नेपालमा चिनियाँ प्रभाव बढ्दै जाँदा आफ्नो प्रभावमा कमी नहोस् भन्नेतर्फ भारत सतर्क छ। सोही कारण पनि मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। 

ओलीको चीन भ्रमण र सीको नेपाल भ्रमण

मोदीलाई नेपालसम्म ल्याउने अर्को फ्याक्टर भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पनि हो। परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणको एउटा एजेण्डा ओलीको चीन भ्रमण पनि थियो। दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानका विषयमा सहमति भएको छ। सोही अनुरुप ओलीको चीन भ्रमणको तयारी पनि भइरहेको छ। यस्तोमा ओलीको चीन भ्रमणलाई प्रभाव पार्नका लागि मोदीको नेपाल भ्रमण तय हुन थालको कुटनीतिक वृत्तमा चर्चा सुरु भएको छ। 

त्यस्तै चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपालले यसैवर्ष स्वागत गर्ने तयारी समेत गरिरहेको छ। सो भ्रमण पनि मोदीको यस भ्रमणको चासो हो। दुई वर्ष अगाडिदेखि सीको नेपाल भ्रमण चर्चामा रहँदै आएको छ। तर, अहिलेसम्म भ्रमण हुन सकिरहेको छैन। सी राष्ट्रपति भएपछि जुन जुन देशमा गएका छन्, ती देशमा ठूलो लगानी उपहार दिएर फर्किरहेका छन्। सोही अनुरुप सी नेपाल आए भने नेपाललाई ठूलो उपहार दिने अपेक्षा गरिएको छ। जसले नेपालमा चिनियाँ प्रभावलाई थप उचाइमा पुर्याउने विश्लेषण भारतीय संस्थापन पक्षको छ। सोही अनुरुप मोदी नेपाललाई भारतीय कुटनीतिमा इंगेज गराउन चाहन्छ। नेपाली राजनीतिमा सोही इंगेजमेन्टका लागि पनि मोदी नेपाल आउन लागेका हुन्। 

नेपालका लागि के त?

सरकार गठनसँगै प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीति मित्रताका आधारमा हुने बताउँदै आएका छन्। उनले दुवै छिमेकीलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रस्ट्याइसकेका छन्। हालसम्म नेपालको राजनीतिमा कहिले दिल्ली त कहिले बेइजिङ ढल्किँदै आएको छ। अझ बढी दिल्लीतिर झुकाब देखिन्छ। यस्तो अवस्थामा दुवै देशलाई सन्तुलन कायम गरेर अगाडि बढ्नु नेपालको लागि चुनौती पनि हो। 

परराष्ट्रमन्त्री ज्ञवालीको बेइजिङ भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त पत्रकार सम्मेलनमा ज्ञवालीसँग उभिँदै भारतलाई त्रिदेशीय साझेदारीका लागि प्रस्ताव समेत राखेका छन्। नेपालले पटक-पटक यो प्रस्ताव उठाउँदै आएको छ। यद्यपि, चीन तथा भारतबाट यस्तो प्रस्ताव आएको थिएन। यीको यो प्रस्ताव नेपालका लागि सुखद् संकेत हुन सक्छ। 

नेपालले भारतीय नजरमा दुई ठूला शक्ति राष्ट्रको बीचको ‘स्याण्डवीच’ नेपाल पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भन्दै आएको जस्तो दुवै देशबीचको गतिशील पुल बन्ने बाटो चिनियाँ प्रस्तावले समेत खोलेको छ। 

‘हामीले दुवै देशबाट फाइदा लिनुपर्छ, उनीहरुको विकासबाट फाइदा लिन सक्यौँ भने मात्र हामीले कल्पना गरेको समृद्धि प्राप्त गर्न सक्छौँ,’ परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘हमी कहिले कसको कहिले कसको गोटीको रुपमा प्रयोग हुँदै आयौँ। अब हामीले हाम्रो स्वार्थ अनुरुप दुई देशको सम्पन्नताबाट फाइदा लिन सक्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell