PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण 'जस्तापाता काण्ड' : बहादुर सिंह लामा



पहिलोपोस्ट

नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण 'जस्तापाता काण्ड' : बहादुर सिंह लामा

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले नुवाकोटमा कांग्रेस हार्नुको मुख्य कारण जस्तापाता काण्ड भएको बताएका छन्।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिमा आज कांग्रेस हारका कारण पेस गर्दै लामाले जस्तापाता काण्डका नाइकेहरूले नै टिकट पाउँदा लज्जास्पद हार व्यहोर्नु परेको दाबी गरे।

‘भूकम्पको बेला जनताका लागि लगेका जस्ता आफ्नै घरतिर लानेले टिकट पाएकाले नुवाकोटमा कांग्रेस हार्‍यो, यस्ता नियतले काँग्रेसमा राजनीति गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसले यस्तै परिणाम भोग्नुपर्छ,’ उनले भने।

भूकम्पपीडितलाई राहतका लागि भूकम्प पीडितलाई वितरण गर्न लगिएको जस्तापाता तत्कालीन अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिवसमेत रहेका रमेश महतले बिक्री गर्न खोजेको भन्दै स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका थिए। उनै महतले प्रदेशको टिकट पाएका थिए। महत एमालेका बद्री मैनालीसँग पराजित भएका थिए।

जिल्लामा सीमांकनका विषयमासमेत कांग्रेसले विवाद ल्याउँदा मत घटेको लामाको दाबी थियो।

त्यसै गरी उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा संविधान जारीपछि एमालेसँग सहमति गरेअनुसार सरकार नछाडेका कारण पनि काँग्रेसलाई क्षति पुगेको बताए। उनले स्थानीय निर्वाचन जबरजस्ती गरेकाले पनि कांग्रेसको पक्षमा मत नआएको बताए।

‘संविधान जारी गरी देशको हितमा काम गरेर पनि प्रचार गर्न नसकेको अवस्थामा एमालेले राष्ट्रवादीको ‘क्रेडिट’ पाएकै बेला जबरजस्ती स्थानीय निर्वाचन भयो,’ लामाले भने, ‘यसले पनि कांग्रेसको पक्षमा मत नआउने वातावरण बनाइदियो।’

पार्टी सभापति पदाधिकारी चयनमा असक्षम रहेको भन्नेबारेमा भने उनले सभापति शेरबहादुर देउवाको बचाउ गरेका थिए। कतिपय नेताहरूले ६०/४० को भागबण्डाको नाममा आफ्नो भाग मागेकाले पदाधिकारी चयनमा ढिलाइ भएको उनको दाबी थियो। भागबण्डाको अत्तो थाप्ने काम बन्द गर्नुपर्ने उनको सुझाव थियो।

कांग्रेस सरकारले आदिवासी जनजातिलाई संविधान संशोधन गर्ने वाचा गरे पनि त्यो पुरा नगरेका कारण जनजातिले नरुचाएको उनको तर्क थियो। अहिलेको सरकार जनजाति विरोधी हुँदै गएकोले यसको सेन्टिमेन्ट कांग्रेसले पकड्न सक्नुपर्ने सुझावसमेत लामाले पेस गरेका थिए।

आजको बैठकमा लामासहित केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, प्रदीप पौडेल,  देवेन्द्रराज कँडेल आ–आफ्नो धारणा राखेका थिए। बैठक भोलि ८:३० मा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell