PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफूलाई राजा महेन्द्रसँग नदाँज्न बुद्धिजीवीलाई प्रधानमन्त्री ओलीको चेतावनी 



पहिलोपोस्ट

आफूलाई राजा महेन्द्रसँग नदाँज्न बुद्धिजीवीलाई प्रधानमन्त्री ओलीको चेतावनी 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिएको भन्दै आपत्ति जनाएका छन्। नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले विकासका कुरा गर्दा यो त महेन्द्रले भनेको हो भन्छन्, रारा तालबाट मैले सम्बोधन गर्दा राराताल महेन्द्र ताल भन्ने गर्छन्। अचम्मका छन् बुद्धिजीवी।’

उनले नेपालमा बुद्धिजीवी भनिएकाहरुले समेत आफ्नो विरुद्धमा टिप्पणी गरेकोमा आपत्ति जनाए। 

‘मैले पानी जहाज चलाउने,  रेल कुदाउने, केबलकार चलाउने कुरा गर्छु। जनताका कुरा खोइ भन्दै प्रश्न गर्छन्, यस्ता नि बुद्धिजीवी हुन्छन्?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे। 

उनले गत दुई साता अगाडि भएको आफ्नो भारत भ्रमण सफल भएको समेत दाबी गरे। ‘म भारत भ्रमणमा रहँदा नेताहरूले भनेको सुनेको छु, प्रधानमन्त्री भारतसँग लम्पसार पर्‍यो भनेर। सायद विगतका प्रधानमन्त्री लम्पसार परेको देखेका होलान्। उनीहरूले नबुझेका होलान् अहिलेका प्रधानमन्त्रीलाई लम्पसारवादी भने दुनियाँ हाँस्छ भनेर।’ 

प्रधानमन्त्री ओलीले नेपालमा सामाजिक सद्भाव र एकता भाँड्ने प्रयास देश बाहिरबाट भइरहेको समेत बताए। ‘नेपालको सामाजिक सद्भाव र एकता भाँड्न विवाद सिर्जना गर्न र द्वन्द्व फैलाउने काम भइरहेका छन्,’ उनले भने, ‘यसको स्वीच अन्तै छ त्यो स्वीचबाट कतै अन्डर ग्राउन्ड तारबाट आएको तारले यहाँ फुरफुर उफ्रिन्छन्।’ 

प्रधानमन्त्री ओलीले विदेशीहरूले नेपालका समस्याहरूको समाधान हुन नदिनको लागि द्वन्द्व सिर्जना गराउन खोजेको समेत आरोप लगाए। 
उनले नेपालमा द्वन्द्व फैलाएर हतियार बेच्ने सोचका साथ सामाजिक सद्भाव भड्काउने काम भइरहेको बताए। ‘पहिले घृणा फैलाउने अनि विवाद द्वन्द्व सिर्जना गरेर हतियार बेच्ने सोच होला, द्वन्द्व व्यवस्थापन गर्न विशेषज्ञ सहितका टोली नेपाल पठाउने सोच होला,’ उनले भने, ‘हामीलाई हाम्रो समस्या के हो थाहा छ, हामीले हाम्रो समस्या समाधान गर्न सक्छौँ। हामी नेपालमा रहेको गरिबी अशिक्षा हटाएर विकास गर्न सक्छौँ।’ 

प्रधानमन्त्री ओलीले नयाँ शक्ति नेपालका कार्यकारिणी सदस्य लीला भण्डारीको नेतृत्वमा नयाँ शक्ति र नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट १४६ जनालाई एमालेमा प्रवेश गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell