PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कहाँ हुनेछ ट्रम्प र किमबीचको बहुप्रतिक्षित शिखर वार्ता? यी हुन् सम्भावित ठाउँ



विधुर ढकाल

कहाँ हुनेछ ट्रम्प र किमबीचको बहुप्रतिक्षित शिखर वार्ता? यी हुन् सम्भावित ठाउँ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच द्वीपक्षीय वार्ताको तयारी भइरहेको छ। दुई नेताबीच वार्ताको तयारी भइरहे पनि वार्ता हुने स्थान भने टुंगो लागिसकेको छैन। 

राष्ट्रपति ट्रम्पले नेता किमसँग आउँदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउँदै आएका छन्। वार्ता उपलब्धिमूलक नहुने देखिएमा बीचमै छाड्ने बताउँदै उनले वार्तालाई उपलब्धिमूलक बनाउन शर्तहरू पनि राखेका छन्। 

तर, उनले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताएका छैनन्।
 
यद्यपि, यी दुई नेताबीच मंगोलियामा भेट हुने सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सन् २०१८ को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय घटनाको रूपमा रहने यो भेटवार्ताको आयोजनाका लागि मंगोलियाले चासो देखाइसकेको छ।
 
यसबीच उत्तर कोरियाली राजदूत तथा अमेरिकी अधिकारीहरूले मंगोलियाका राष्ट्रपतिका प्रमुख सल्लाहकारसँग भेटवार्ता गरेका छन्। 

दुई नेताबीच वार्ता हुने सुरक्षित स्थान संसारभर खोजिँदै छ। दुई नेताबीचको वार्ता दक्षिण कोरिया, जापान, रुस वा चीनमा हुन सक्ने अनुमान लगाइएको थियो। यद्यपि, चीन र रुसमा राष्ट्रपति ट्रम्प जान नचाहेको र जापान र दक्षिण कोरियामा किम जान नचाहेकाले पनि यी देश विकल्पबाट हटेका छन्।
 
यसबीच तटस्थ देशको खोजी समेत भइरहेको छ। यस्तोमा स्वीडेन यसको उत्कृष्ट स्थान हुन सक्छ। तर, वार्ता यहाँ आयोजना गर्नका लागि समेत समस्या देखिएको छ। यहाँसम्म पुग्न उत्तर कोरियाली नेता किमका लागि समस्या हुने देखिएको छ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एयर फोर्स वानबाट स्वीडेन उत्रिनसक्ने छन्। तर, किमको विमान यति लामो यात्रा तय गर्न सक्दैन्। ‘एयर फोर्स उन’ एक पटकमा ३ हजार २०० किमी मात्र यात्रा तय गर्न सक्छ। त्यसपछ विमानमा रिफ्युलिङ गर्नुपर्छ।
 
१३ हजार किलोमिटर सम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाएको उत्तर कोरियाका नेता भने पुरानो जमानाको विमान चढ्दै आएका छन्। त्यस कारण पनि यी दुई नेताबीच उत्तर कोरियाको ३२ सय किलोमिटर भित्र कहीँ कतै भेट हुने सम्भावना रहेको छ।
 
उत्तर कोरियाको ३२ सय किलोमिटर भित्र चीन, जापान, रुस, ताइवान, दक्षिण कोरिया र मंगोलिया लगायतका देश रहेका छन्।
 
अन्य देशहरूमा वार्ता हुने सम्भावना टरेपछि मंगोलिया यो वार्ताको लागि एक उत्तम स्थानको रूपमा अगाडि देखिएको छ। मंगोलिया यस्तो देश हो जुन अन्तर्राष्ट्रिय मामिलामा त्यति चासो दिँदैन् र प्रतिक्रिया समेत दिँदैन। त्यतिमात्र होइन मंगोलियाले समेत यो वार्तालाई आफ्नो देशमा सम्पन्न गराउनका लागि चासो व्यक्त गर्दै आएको छ।
 
यसै विषयमा मंगोलियाका राष्ट्रपति खल्तमा बतुल्गाका प्रमुख सल्लाहकारसँग दुई देशका प्रतिनिधिहरूले समेत छलफल गरेका छन्। अर्को कुरा किमलाई मंगोलिया पुग्न त्यति असुरक्षित पनि छैन। चीन र रुसको सीमा क्षेत्र मंगोलियाको राजधानी उलानबटारमा किम आफ्ना विमान एयर फोर्स उन वा रेलमार्फत समेत पुग्न सक्छन्। मंगोलियाको सम्बन्ध प्योङ्याङसँगै वासिङटनसँगको सम्बन्ध समेत सुमधुर रहेको सीएनबीसीले जनाएको छ। 

दुई देशबीच शिखर वार्ता हुने चर्चा सुरु भएसँगै यहाँका राष्ट्रपति खल्तमाले ट्वीट गर्दै दुवै नेतालाई वार्ताका लागि उलानबटारमा निम्तो गरेका थिए। 

अन्य देशको समेत चर्चा

मंगोलियासँगै स्विट्जरल्याण्डको समेत चर्चा छ। यहाँ किमले अध्ययन समेत गरेका थिए भने दुई देशबीचको सम्बन्ध समेत सुमधुर रहेको छ। रुस, जापान, चीन र दक्षिण कोरियाको नाम चर्चा समेत रहेका छन्।
 

थाइल्याण्डको चासो

त्यस्तै थाइल्याण्डले समेत ट्रम्प र किमलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्यता गर्ने इच्छा व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार आफ्नो देशले उहाँहरूको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सबै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मंगलबार जनाएको छ। 

थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भने, ‘त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ।’ थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कूटनीतिक सम्बन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कूटनीतिक सम्बन्ध रहेको छ ।

उत्तर कोरियाको प्रस्ताव प्योङ्याङ

उत्तर कोरियाले दुई देशबीचको शिखर वार्ताका लागि आफ्नो देशको राजधानी प्योङ्याङलाई प्रस्ताव गरेको छ। यद्यपि, यो प्रस्तावलाई अमेरिकाले स्वीकार नगर्ने सीबीएस न्यूजले जनाएको छ। 

‘हामीले सुनेका छौँ उत्तर कोरियाले वार्ता प्योङयाङमा गर्ने भनेर प्रस्ताव गरेको छ,’ सेन्टर अफ स्ट्राटेजिक एण्ड इन्टरनेशन रिलेसन स्टडीजकी सिनियर फेलो लिसा कोलिनले भनिन्, ‘मलाई लाग्दैन की ट्रम्प प्रशासनले यो प्रस्तावलाई स्वीकार गर्दछ।’
 

पानमुनजोमको सम्भावना पनि उस्तै

यसैबीच यी सबै स्थानको सम्भावनासँगै पानमुनजोमको सम्भावना पनि उस्तै छ। यो गाउँ हतियार प्रतिवन्धित गाउँ हो। उत्तर र दक्षिण कोरिया विभाजन पछि यो क्षेत्र डिमिलिटराइजेसन जोन (डीएमजेड)को रूपमा दुई देशबीचमा अवस्थित छ।
 
यहाँ ‘पिस हाउस’ (शान्ति घर) छ। यही घरमा दुई देशबीच यसै साता शिखर सम्मेलन हुँदैछ। उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच अप्रिलको अन्त्यमा एतिहासिक अन्तर कोरियाली शिखर सम्मेलन हुँदै छ।
 
यहाँ यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्प पुग्ने प्रयास गरेका थिए। दक्षिण कोरिया भ्रमणका क्रममा उनी त्यहाँ पुग्न चाहन्थे तर खराब मौसमका कारण उनी त्यहाँ पुग्न पाएनन्। 

यो विश्वमै यस्तो सीमा क्षेत्र हो जहाँ यहाँ जतिको सुरक्षा व्यवस्था कहीँ छैन। यस गाउँलाई बाहिरबाट उत्तर र दक्षिण दुवैले सुरक्षा दिइरहेका छन्। 

उत्तर कोरियाका नेता किमले आउँदो शुक्रवार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ। त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell