PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

३३ किलो सुन प्रकरणका पछिल्ला शिकार : मकवानपुर जिल्लाका प्रहरी प्रमुख खनाल प्रहरी नियन्त्रणमा



सविन ढकाल

३३ किलो सुन प्रकरणका पछिल्ला शिकार : मकवानपुर जिल्लाका प्रहरी प्रमुख खनाल प्रहरी नियन्त्रणमा
एसपी विकासराज खनालको फाइल फोटो उनको फेसबुकबाट

काठमाडौँ : ३३ किलो सुन प्रकरणमा छानबिन गरिरहेको समितिले एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ। 

मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रुपमा कार्यरत खनाललाई नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो।

गृह मन्त्रालयबाट गठित समितिले मंगलबार खनालसँग बयान समेत लिएको थियो। बयानलगत्तै उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयको एक नम्बर गणमा लगिएको हो।

गत आइतबार समितिले पूर्व डिअाइजी गोविन्द निरौलालाई पनि पक्राउ गरेको थियो।

३३ किलो सुन प्रकरण अहिलेसम्म नसुल्झिएको एउटा जटिल केस हो, जससँग जोडिएका दुई जनाको ज्यान गइसकेको छ, हाइ प्रोफाइल प्रहरी अधिकारीहरु नै फन्दामा परिसकेका छन्। तर सुन कहाँ गयो, अहिलेसम्म अत्तोपत्तो छैन। 

मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भएपछि यो प्रकरण सतहमा आएको हो। 

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए। मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करीब २० फिट तल जुटको बोराभित्र बेपत्ता बनेको नौ दिनपछि साजनको शव भेटिएको थियो।

केही महिना अगाडि दुवईबाट विमानस्थल हुँदै भित्रिएको ३३ केजी सुन एकाएक हरायो। तस्करहरुले नै समूह बनाएर छानबिन थाले। सुन लुकाएको भन्दै तस्करहरुले यातना दिन थाले। उनको शरीरमा करेन्ट लगाइयो। यातनाकै क्रममा सनमको मृत्यु भयो।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सुन विमानस्थलबाट बाहिरिएको सुइँको पाइसकेको थियो। डिएसपी प्रजित केसीको नेतृत्वमा अनुसन्धान गर्ने टोली विराटनगर पुग्यो। टोली पनि शाक्यलाई फलो गर्दै थियो जसलाई तस्करहरुले मारिसकेका थिए।

घटना त्यसपछि सामसुम भएको थियो। मृतकका परिवारले हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीदेखि प्रहरी प्रधान कार्यालय नक्सालसम्म निवेदन गरे।

एकाएक घटना ट्विस्ट आयो, फिल्मी शैलीमा नै। ३३ केजी सुन प्रकरणमा केही प्रहरी नै शंकाको घेरामा परे। महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइयो। गृह मन्त्रालयबाट सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको छानविन समितिले अझै घटनाको अनुसन्धान गरिरहेको छ।

गृह मन्त्रालयबाट गठित छानविन समितिले अहिलेसम्म २० जनाभन्दा बढीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरुमा विमानस्थलमा कार्यरत कर्मचारीदेखि सुन व्यापारीसम्म रहेका छन्।

समातिनेमा न्युरोडस्थित आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जयमातादी गोल्डका सञ्चालक पवन अग्रवालसमेत रहेका छन्। समितिले नियन्त्रणमा लिएकामध्ये थाइ एयरका कर्मचारीसमेत् छन्। मन्त्रालय स्रोतका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलगायत छन्। समातिनेमा एक भारतीय नागरिक महावीर गोल्यान समेत छन्।

समातिएकैमध्येका एक प्रेमलाल चौधरीको पनि ज्यान गइसकेको छ। तस्करीको यो प्रकरणमा भरपर्दो सूचना दिनसक्ने चौधरीको फिल्मी शैलीमा मृत्यु भयो। उनको मृत्यु – आफ्नै सुरुवालको 'इजारमा झुन्डिएर' भएको थियो। 

प्रहरीको नजरमा 'गोरे' 

मोरङको उर्लावारी घर भएका चुडामणि गौतम 'गोरे' प्रहरीको अनुसन्धानको घेरामा रहेका छन्। प्रहरी स्रोत गोरेले नै ३३ केजी सुन मगाएको दावी गर्छ। गोरेको उर्लावारीसहित काठमाडौंको पुरानो बानेश्वरमा सुनको पसल छ। महाशाखाबाट खटिएका सई बालकृष्ण सञ्जेल र गोरेको चिनजान रहेको पनि पुष्टि भएको छ। गोरे समय समयमा दुवई आउजाउ गरिरहन्छन्। गोरे नेपाली सेनाका भगौडा जवान रहेको समेत खुलेको छ।  

सम्बन्धित समाचार 
३३ किलो सुनसँग जेलिएको नसा, एक अपराधले लिइसक्यो दुईको ज्यान
तस्करको ताकमा सुन नै किन? नाफा बढी कि तस्करी सजिलो?
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell