PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भत्किएको धरहराबाट प्रधानमन्त्रीको आह्वानः म कोदालो र डोको बोक्न तयार छु, तपाईँ पनि आउनुस्



पहिलोपोस्ट

भत्किएको धरहराबाट प्रधानमन्त्रीको आह्वानः म कोदालो र डोको बोक्न तयार छु, तपाईँ पनि आउनुस्

काठमाडौंः प्रधानमन्त्री केपी शार्मा ओलीले भूकम्पले ढलेका राष्ट्रिय महत्त्वका संरचनाहरूलाई स्वाभिमानका साथ पुनर्निर्माण गर्ने बताएका छन्। उनले ढलेका सानलाई उठाउनका लागि कोदालो खन्न, खर्पन र डोकोमा इटा बोक्न आफू तयार रहेको समेत बताएका छन्।

तीन वर्ष अगाडि गएको भूकम्पले भत्काएका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माणले गति लिन नसकेको अवस्थामा उनले यस्तो बताएका हुन्। २०७२ साल वैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा सुनधारास्थित ‘भत्किएको’ धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीको इतिहास र सान बोकेको धरहरा पुनर्निर्माण गर्न प्रतिबद्धता समेत जनाए। 

पढ्नुस्ः प्रधानमन्त्री ओलीको 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान, यसै आर्थिक वर्षमा अगाडि बढ्दै

अघिल्लो पटक प्रधानमन्त्री हुँदा 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरेका उनले भने, ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा, यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा, के गर्न सक्छौँ हामी त्यो गरौँ।’

उनले धरहरा निर्माणका लागि आफू कोदालो बोकेर आउने बताउँदै भने, ‘यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु। इटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु। अथवा मैले सक्ने अरू योगदान गर्नुपर्छ भने त्यो पनि गर्छु। त्यस कारण मै बनाउँछु मेरो धरहरा।’

उनले भूकम्पले ढालेका नेपालका ऐतिहासिक सम्पदाहरूलाई स्वाभिमानका साथ उठाउनु पर्ने समेत बताए। प्रधानमन्त्री ओली पुनःनिर्माका लागि हरेक नेपाली आफ्नो आफ्ना स्थानबाट नवनिर्माणमा जुट्नुपर्ने बताए। 

उनले धरहरा देखाएर कसैले व्यापार गर्न नपाउने समेत बताए। ‘हामी कुनै लाभको उद्देश्य मिसाएर धरहरा पुनर्निर्माणको लागि भनेको होइन। उदार भावना र निःस्वार्थ भावनाले भनेको हो। धरहरालाई देखाएर व्यापार गर्ने मनसायले धरहरा बनाउन खोजिँदैछ, व्यापार गर्ने हो भने अन्य स्थान छन्, व्यापारिक संरचना बनाए हुन्छ,’ उनले भने, ‘धरहरा हाम्रो स्वाभिमानको उचाइ हो, हाम्रो इतिहास हो। अब धरहरा यही स्वाभिमानका साथ उठ्ने छ। हाम्रो धरहरामा कीर्तिमानी र गौरवका तला-तला भएको स्वभिमानी धरहरा यहाँ थियो। हामी फेरि त्यही कीर्तिमानी र गौरवको तला-तला भएको स्वाभिमानका साथ धरहरा उठाउने छौँ।’ 

धरहरालाई पौराणिक, ऐतिहासिक र कलात्मक ढंगले निर्माण गरिने उनले बताए। दोस्रो पटक प्रधानमन्त्री भएसँगै धरहराको पुनर्निर्माणलाई गति दिन प्रधानमन्त्री ओलीले 'मेरो धरहरा म आफैँ बनाउँछु’ अभियानलाई तीव्रता दिने गरी प्रक्रिया अगाडि बढाएका छन्। 

पाँच वर्षमा धरहराको पुनर्निर्माण गर्ने उद्देश्य लिएको उनको भनाई थियो। उनले पुनर्निर्माणले गति नलिएको बताउँदै त्यसलाई गति दिन सरकारले तदतारुकताका साथ अगाडि बढ्ने बताए। 

धरहरा पुनर्निर्माणका लागि पाँच वर्षको लक्ष्य लिएको थियो। प्रधानमन्त्रीले भने, तीन वर्षसम्म केही हुन सकेन। अब धरहरा पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनु पर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell