PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पूर्व सांसद ठकुरीको स्मृतिमा कार्यक्रम



पहिलोपोस्ट

पूर्व सांसद ठकुरीको स्मृतिमा कार्यक्रम

काठमाडौँ : पूर्व सांसद स्वर्गीय चक्रबहादुर ठकुरीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सच्चा सिपाही बताएका छन्। 

तीन वर्ष अघि वैशाख १२ गते भूकम्पका कारण ठकुरीको निधन भएको थियो।

चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले कांग्रेसलाई ठूलो घाटा पुगेको बताए। 

“पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रछ,” उनले भने। ठकुरीले देखेको सपना पूरा गरेमात्र उनीप्रति सच्चा श्रद्धान्जलि हुने देउवाको भनाइ थियो। पूर्व प्रधानमन्त्री देउवाले मुलुकको विकास र समाजसेवामा ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनप्रिय नेता ठकुरीले पुर्याएको योगदान अतुलनीय रहेको बताइन्। 

नेकपा (एमाले) काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राईले ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता रहेको स्मरण गरे। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले ठकुरीको अभाव सधै खड्किने बताए। ठकुरीका छोरा विमलले बुबाको सपनालाई पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।

फाउण्डेशनका अध्यक्ष गजेन्द्रकुमार लामाले ठकुरीको नाममा सामाजिक काम गर्ने लक्ष्य सहित फाउण्डेशन स्थापना गरिएको जानकारी दिए। कार्यक्रममा ठकुरीको स्मृतिमा निकालिएको स्मारिकाको देउवाले विमोचन गरेका थिए। ठकुरीकै स्मृतिमा भएको ब्याडमिन्टन प्रतियोगिताको विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरियो। २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ३ बाट ठकुरीले जित हासिल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell