PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दंगाली गोर्खाजले जित्यो पहिलो नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधि



पहिलोपोस्ट

दंगाली गोर्खाजले जित्यो पहिलो नेपालगन्ज कप टी-२० क्रिकेटको उपाधि

नेपालगन्ज : आशिर्वाद पेन्ट्स नेपालगंज कप टी-२० क्रिकेटको उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ। बुधवार भएको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो।

उपाधिसंगै दंगाली गोर्खाजले १ लाख ११ हजार रुपैयाँ र ट्रफी हात पार्‍यो। उपविजेता रोल्पा गोरिल्लाजले ६० हजार प्राप्त गर्‍यो।

प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको रोल्पा गोरिल्लाजले १९.१ ओभरमा ८९ रनमा अलबउट भयो। खराब सुरुवात गरेको रोल्पाले ३३ रनको स्कोरमै ८ विकेट गुमाएको थियो। कप्तान सौरभ खनाल ३, रमेश सिंह १, आकाश थापा ५, नन्दन यादब १०, समसुद्दिन अन्सारी ४, भिम सार्की ३, बसन्त कार्की ४ रनमा पेभेलियन फर्किएका थिए।

तर नवौँ विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ पुर्‍याएका थिए। शेर १४ रन बनाएर आउट भएपछि रोशनले मेराज अन्सारीसंग दशौं विकेटको लागि २१ रनको साझेदारी गरे। अन्तिम विकेटको रुपमा आउट हुनु अघि रोशनले मात्र २४ बलमा १ छक्का र ४ चौका प्रहार गरे भने मिराज अन्सारीले अविजित ७ रन बनाए। रोल्पालाई अलआउट गर्न दंगाली गोर्खाजका देब्रे हाते स्पीनर अनिल खरेलले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दिप सुनारले २ विकेट लिए।

जवाफमा ९० रनको लक्ष्य दंगाली गोर्खाजले ८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो। कप्तान सन्दिप सुनारले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ८ चौका र २ छक्का मदतले ४६ रन बनाए। यस्तै मनोज सुनारले नटआउट २४ रन बनाए।

दंगाली गोर्खाजका संदिप सुनार फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिता उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए। यसैगरी पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान र च्याम्पियन दंगाली गोर्खाजका साहिद अन्सारी उत्कृष्ट बलर घोषित भए। दैगाली गोर्खाजकै सदाब अन्सारी उदयीमान खेलाडी घोषित भए।

सिद्धान्त राज शाही (पाल्पा योद्धाज) फेयर क्याप्टेन, आर्शिवाद पेन्ट्स पाल्पा योद्धाज फेयर प्लेयिङ टिम घोषित भए।

वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमहरुको सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई संघिय ईकाइ कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई लगायतले पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell