PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जीवनको अन्तिम स्क्रिप्टसम्मै सिकाइ त जारी रहन्छ : खगेन्द्र

जीवनको अन्तिम स्क्रिप्टसम्मै सिकाइ त जारी रहन्छ : खगेन्द्र

पहिलोपोस्ट /पहिलोपोस्ट


  • रीना मोक्तान -
२०७२ वैशाख १२ गते नेपालीको स्मृतिमा अमेट बन्यो – भुइचालोले। त्यही साल भूकम्पको कथा समेटिएको फिल्म बन्यो- 'पशुपतिप्रसाद'। माघ १५ गते फिल्म प्रदर्शन भयो। फिल्म दर्शकले रुचाए। यही फिल्मबाट अमेट छाप छाड्न सफल रहे खगेन्द्र लामिछाने।  

अभिनयमा अब्बल खगेन्द्रकै लेखनमा 'पशुपतिप्रसाद' बनेको थियो। उनकै लेखन फिल्म टलक जंग भर्सेस टुल्के प्रदर्शनमा नआएको होइन। नाटक हुँदै सिनेमाको पर्दामा आएको यो फिल्म पशुपतिप्रसाद जति सफल रहेन। पशुपतिप्रसादले खगेन्द्रलाई मास अडियन्सबीच परिचित गरायो। आफ्नो पहिलो फिल्म टलक जंग भर्सेस टुल्केको लेखनबाट धेरै कुरा सिकेका लामिछाने भन्छन् - 'फिल्म लेख्नु गाह्रो विषय हो।'

उनले आजसम्म चारवटा फिल्मका कथा लेखेका छन्। टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति र डण्डीबियो। 

हरेक फिल्ममा फरक तर महत्वपूर्ण विषय उठान गर्नु उनको विशेषता बनेको छ। लेखेका कुनै कथाले उनलाई निराश बनाएन? 

प्रश्न खस्न नपाउँदै खगेन्द्रले भने, 'अहिलेसम्म बनाएको छैन। मलाई सायद नबनाउला। किनभने मलाई पर्सनल्ली एउटा आइडिया आयो, लेखें र मन परेन भने म त्यसलाई कहिल्यै छुन्न। आफूलाई मन परेन भने अरुलाई पनि बेच्दिँन। किनभने त्यसरी बनेको फिल्म बन्छ फिल्म नाम आफ्नो पनि आउँछ।'

पहिलोदेखि दोश्रो र दोश्रोदेखि तेश्रोमा आइपुग्दा स्वभाविक रुपमा लेखनमा सुधार आएको अनुभव उनले गरेका छन्। 'टलकजंग भर्सेस टुल्केको लेखनले पशुपतिप्रसादमा अलिकति इम्प्रुभ गरियो, धनपतिमा थप गर्‍यौं, यहाँसम्म आइपुग्दा अझै इम्प्रुभ गरिएको छ,' उनले भने, 'अब लेख्दै जाँदा त नयाँ नयाँ कुरा सिक्दै जाने हो। जीवनकै लास्ट स्क्रिप्ट लेख्दा पनि सिकिरहेकै हुइन्छ।'  

उनी अहिले लेखनमै रमाउँदैछन्। निर्देशकको रुपमा देख्न सक्छौं कि सक्दैनौं? अधिकांश संचारकर्मीले उनलाई सोध्ने प्रश्न हो यो। तर, उनी भने भविष्यको कुरामा आलटाल गर्छन। 'अहिले नै गर्छु भन्दिन, गर्दिन पनि भन्न सक्दिन, अब जे पनि हुन् सक्छ। भोलि कुनै विषयमा रहर लाग्ला फिल्म बनाउन,' उनले सुनाए।    

अहिलेसम्म आफुले लेखेका हरेक फिल्मको केन्द्रीय पात्रको भूमिका उनी आफैँ देखिएका छन्। अहिले उनी छेतेन गुरुङको निर्देशनमा तयार भएको फिल्म डमरुको डण्डी बियोको मुख्य अभिनेता हुन्। यो फिल्म पनि उनैले लेखेका हुन्। 

अरु कलाकारमाथि विश्वास नभएर हो? या आफैँले जन्माएको पात्रको भूमिकालाई न्याय गर्न?

उनको जवाफ – 'सबै फिल्ममा सायद म केन्द्रीय पात्रमै छु आजसम्म। भोलि अरुमा पनि होउँला। म आफु निर्देशक नभएकाले मलाई त्यो भन्न मिल्दैन। किनभने निर्देशकले क्यारेक्टर सेलेक्ट गर्छ। भोलि मैले लेखेको फिल्ममा अर्को मान्छेले पनि खेल्न हुन्छ, अरुले लेखेकोकोमा म खेलिहाल्छु।'  

डमरुको डण्डीबियो उनले हेरिसकेका छन्। फिल्म पारिवारिक कथामा आधारित छ जसमा खेल उत्तिकै मिसिएको छ। फिल्म गर्दा उनले डण्डी-बियो खेल्न सिके। नेपालमा डण्डी-बियो संघ पनि छ भन्ने कुरा बुझे। अहिले उनी फिल्म प्रदर्शनको पर्खाइमा छन्। फिल्मले लगानी सुरक्षित गर्नेमा उत्तिकै आशावादी पनि। 

चाहेको टाइटल अर्कैले विकास बोर्डमा दर्ता गराइसकेको पाएपछि निर्माण टीमले फिल्मको कथा अनुसार फिल्मको न्वारन गर्‍यो- डमरुको डण्डीबियो। लोपन्मुख यस खेललाई फिल्मले स्मरण गराउने अपेक्षा छ। 'उदाहरणका लागि -कुनै चिज थियो पहिला। अहिले हराएर गयो भने मान्छेले त्यसलाई बिर्सिंदै जान्छन्। डण्डीबियोको केसमा पनि त्यो पक्कै पनि हुन्थ्यो,' उनले भने, 'यो विषयमाथि फिल्म बनेको हुनाले एउटा राम्रो डकुमेन्सटेन पनि भयो। खेलकै इतिहास रह्यो। भोलि जसले जहाँ बसेर पनि फिल्म हेर्न सक्छ। राष्ट्रिय सम्पतिकै रुपमा रहन्छ जस्तो लाग्छ।' 

फिल्म गर्ने क्रममा उनलाई खेलका नियम थाह थिएन। तर, पछि संघले बनाएको नियम उनीहरुले फिल्ममा फलो गरेका छन्।

फिल्म वैशाख २१ मा प्रदर्शन हुनेछ। फिल्मलाई विनोद गुरुङ र नोर्बु छिरिङ घलेले निर्माण गरेका हुन्।


ट्रेन्डिङ पोस्ट

Ncell