PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

महामन्त्रीको प्रतिवेदनमा विवादपछि कांग्रेस केन्द्रिय समिति स्थगित



पहिलोपोस्ट

महामन्त्रीको प्रतिवेदनमा विवादपछि कांग्रेस केन्द्रिय समिति स्थगित

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजका लागि तोकिएको बैठक स्थगित भएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ८ बजे स्थगित भएको कांग्रेस कार्यालयले जनायो।

सानेपामा बिहानबाटै भिड 

केन्द्रीय समितिको आज अन्तिम दिन भएकोले कांग्रेस मुख्यालयमा सानेपा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो। पदाधिकारी तथा केन्द्रीय सदस्यहरु बैठकका लागि उपस्थित भइसकेका थिए।

महामन्त्री शशांक कोइरालाले पार्टीको प्रतिवेदन पेश गर्ने  सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा उठेका सवालहरुको जवाफ दिने कार्यक्रम थियो।

महामन्त्री कोइरालाको प्रस्ताव हिजै प्रस्तुत गरिने कार्यक्रम थियो। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदारले आफ्नो धारणा राखेपछि लन्च ब्रेक भएको थियो।

ब्रेकपछि महामन्त्रीले प्रतिवेदन पेश गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए। पछि पार्टी सभापतिको व्यस्तता देखाउँदै केन्द्रीय समिति स्थगित भयो।

महामन्त्री कोइरालाले मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र अरु दलसँग कसरी प्रस्तुत हुने भन्ने एजेन्डामाथि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम थियो।

मुस्लिम संघको दोस्रो महाधिवेशन पनि केन्द्रीय कार्यालयमै आयोजना भयो। कार्यक्रम पार्टीका अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरु उपस्थित भएका थिए। पार्टीका पदाधिकारीले कार्यक्रममा सम्बोधन गरेका थिए।

केमा कुरा मिलेन?

हिजो प्रतिवेदन अन्तिम रुप दिन नभ्याएको भन्दै केन्द्रीय समिति स्थगित भएको थियो। आज ९ बजे बस्ने भनिएको केन्द्रीय समितिमा नेताहरु समयमै उपस्थित थिए। सभापति देउवा मुस्लिम संघको महाधिवेशनमा बोल्ने भएपछि प्रकाशमान सिहंलगायतका नेताहरु पार्टी कार्यालयबाट बाहिरिए। 

देउवाले सम्बोधन गरेपछि बैठक सुरु हुने भनिएको थियो। तर बाहिरिएका नेताहरु कार्यालय फर्केनन्। ढिला गरी फर्केपछि केन्द्रीय समिति ढिलै भएपनि सुरु गर्ने गरी छलफल शुरु भयो। तर, प्रतिवेदनमाथि नै सहमति नजुटेपछि केन्द्रीय समिति स्थगित भएको एक केन्द्रीय सदस्यले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell