बलिङमा पुन: एक पटक उत्कृष्ट प्रदर्शन गरेको सनराइजर्स हैदरवाद राजस्थान रोएल्सलाई पराजित गर्दै आइपीएलको शीर्ष स्थानमा उक्लेको छ। हैदरावादले १५१ रन डिफेण्ड गर्दै राजस्थानलाई ११ रनले हरायो।
उता क्रिस लिन र आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरेको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हरायो। यस सिजन कोलकताको यो चौथो जित हो।
आइतवारको पहिलो खेलमा हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान केन विलियमसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। ४३ बल खेलेका विलियमसनले ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए। यस्तै आइपीएलमा डेब्यु गरेका एलेक्स हाल्सले ४५ रन योगदान गरे। मनिस पाण्डेले १६ रन जोडे। राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।
जवाफमा १५२ रनको लक्ष्य पछ्याएको राजस्थानले कप्तान अजिन्का रहानेको अर्धशतकका बावजुत पनि लक्ष्य भेट्न सकेन। राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो। ओपनर रहानेले ५३ बलमा नटबउट ६५ रन बनाए। सन्जु सामसनले ४० रन जोडे।
बलिङमा हैदरावादका सिद्दार्थ कउलले ४ ओभचरमा २३ रन खर्चेर २ विकेट लिए। सन्दीप शर्माले ४ ओभरमा १५ रन मात्र दिएर १ विकेट लिए।
सिजनको छैटौँ जितपछि ८ खेलबाट १२ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा उक्लेको हो।
आइतवारै भएको दोस्रो खेलमा दुई विदेशी खेलाडी जम्दा कोलकताले विराट कोहलीको अर्धशतक छायँमा पार्दै ६ विकेटको जित हात पार्यो।
घरेलु मैदान बैंगलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले कप्तान कोहलीको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर १७५ रन बनाएको थियो। कोहलीले ४४ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ६८ रन बनाए। ए बि डे भिलिएर्सको स्थानमा खेलेका ब्रेण्डन म्याकुलमले ३८ तथा क्वेन्टन डे ककले २९ रन जोडे। बलिङमा कोलकताका आन्द्रे रसेलले ३ विकेट लिए।
१७६ रनको लक्ष्य कोलकताले १९.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। कोलकताको जितमा ओपनर क्रिस लिनले नटआउट ६२ रन बनाए। ५२ बल खेलेका लिनले ७ चौका र १ छक्का प्रहार गरे। यस्तै रोविन उथापाले ३६, स्निल नारिनले २७ तथा कप्तान दिनेश कार्तिकले २३ रनको योगदान गरे।
बलिङमा मोहमद सिराज र मुरुगान आश्विनले २-२ विकेट लिए।
८ खेलमा ४ जित र ४ हारको नतिजा निकालेको कोलकता ८ अंकका साथ चौथो स्थानमा छ।