वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटवार्ता अगाडि उत्तर कोरियाले बन्दी बनाइएका अमेरिकी तीन नागरिकहरूलाई रिहा गर्ने भएको छ।
उत्तर कोरियाले ती अमेरिकी बन्दीलाई दुई महिना अगाडि नै रिहा गर्ने निर्णय गरेको सिएनएनले जनाएको छ। दुई महिना अगाडि उत्तर कोरियाका परराष्ट्रमन्त्री रि योङ होले आफ्नो स्वीडेन भ्रमणका क्रममा यस्तो जानकारी गराएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।As everybody is aware, the past Administration has long been asking for three hostages to be released from a North Korean Labor camp, but to no avail. Stay tuned!
— Donald J. Trump (@realDonaldTrump) May 3, 2018
तीन अमेरिकी नागरिकहरू किम डोङ चल, किम हक सङ र टोनी किम भनेर चिनिने किम सङ डुकलाई उत्तर कोरियाले बन्दी बनाएर राखेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को महिना किमसँग भेट गर्नु अगाडि ती अमेरिकीलाई स्वदेश फर्काउने प्रयास गरिरहेका छन्।
राष्ट्रपति ट्रम्पले ती तीन अमेरिकी नागरिकको रिहाइको संकेत गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सबै जना यस विषयमा जानकार छन् कि अघिल्ला प्रशासनहरूले उत्तर कोरियाको श्रमशिविरमा बन्दी बनाइएका तीन जनाको रिहाइका लागि पहल गरेका थिए। तर, त्यसमा प्रगति भएन, हेर्दै जानुहोला।’
किम डोङ चल ट्रम्प निर्वाचित हुनुपूर्व नै उत्तर कोरियामा पक्राउ परेका थिए भने बाँकी दुई जना गत हिउँदमा पक्राउ परेका थिए।
किम हक सङ प्योङयाङ विश्वविद्यालयमा कृषि विकासका क्षेत्रमा काम गर्दै आएका थिए। उनी सन् २०१७ को मे मा प्योङयाङ रेलवे स्टेसनबाट पक्राउ परेका थिए। उनी चीनमा जन्मिएका र क्यालिफोर्नियामा अध्ययन गरेका थिए भने १० वर्ष देखि अमेरिकामा बस्दै आएका थिए।
त्यस्तै किम सङ डुक गत वर्ष अप्रिलमा प्योङ्याङस्थित विमानस्थलबाट पक्राउ परेका थिए। उनी चीनको यानविन विश्व्विद्यालयका पूर्वप्रध्यापक हुन्। उनी उत्तर कोरियाको ग्रामीण बस्तीमा बालबालिकाका लागि राहत वितरणमा खटिएका थिए।
त्यस्तै किम डोङ चल दक्षिण कोरियामा जन्मिएका अमेरिकी व्यवसायी हुन्। उनलाई १० वर्ष कडा श्रम शिविरको सजाय भएको छ। उनी २०१५ को अक्टोबरमा पक्राउ परेका थिए।