काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्।
वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने,‘श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन गए। उहाँहरुको अनुकुल यो सरकार छ।’
‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ? कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ? कसरी उत्पादनमा वृद्धि हुन्छ ? कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ?’, प्रधानमन्त्रीले भने, ‘त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ।’
ओलीले वर्तमान सरकारको श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताए।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारीहरु प्रधानमन्त्रीसँग भेट गरेका थिए। दुई दिनअघि मात्र जिम्मेवारी सम्हालेका श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका थिए।