काठमाडौँः सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दूरीका यात्रु मारमा परेका छन्।
उपत्यकामा कम्पनीमा आवद्ध सवारी चले पनि समिति आवद्ध सवारी नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।
सबै गाडी ग्यारेजमा थन्क्याइएको कर्माचार्यले बताए।
चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति खारेज गर्ने निर्णय सरकारले गरेको थियो। निर्णयपछि यातायात व्यवसायी आन्दोलित छन्।
सरकारको निर्णयबाट असार मसान्तपछि तीन सयभन्दा बढी समिति खारेजीमा पर्नेछन्। संस्था दर्ता ऐन अनुसार चलाइएका समिति नवीकरण नगर्ने सरकारको निर्णयपछि केही समिति कम्पनीमा दर्ता भइसकेका छन्।
गाडी नचलाए रुट खारेज
सरकारले भने गाडी नचलाए रुट खारेज गर्ने चेतावनी दिएको छ। उक्त रुटमा अन्य सवारीलाई सञ्चालन अनुमति दिने तयारी सरकारको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले कसैले अत्यावश्यक सार्वजनिक सवारीसाधन विनाकारण रोकेमा स्थानीय प्रशासनको सहयोगमा लगत संकलन गरेर त्यसको तत्काल रुट खारेज गरी नयाँ रुट परमिट खुल्ला गरिने बताए।
‘सार्वजनिक यातायात चलाएर सेवा दिने भन्दै कमिन्टमेन्ट गरेर बस चलाउन अनुमति लिनेले अत्यावश्यक सेवा रोक्न पाइन्न,’ उनले भने।
विभागका अनुसार कुनै पनि रुटमा कम्पनी, फर्म वा सहकारीमा दर्ता भएर प्रक्रिया पुर्याएर आए एकै दिनमा अस्थायी रुट दिइनेछ भने स्थायी रुट विभागले अध्ययन गरेर दिने व्यवस्था समेत मिलाएको छ।
विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो। निर्देशिकामार्फत् सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागबाट सेवा पञ्जीकृत गराएपछि रुट दिने निर्णय गरेको थियो।
निर्देशिका एकतर्फी ल्याएको भन्दै यातायात व्यवसायीहरुले चरणवद्ध रुपमा हड्तालको घोषणा गरेका छन्। २१ गते शुक्रबार ग्यारेजमा गाडी थन्काउने र सरकारलार्इ दवाव दिने र २७ गतेदेखि अनिश्चितकालीन बन्द गर्ने निर्णय व्यावसायीले गरेका छन्।