काठमाडौं : बेलायतमा पाँच महिना लामो उपचारपछि डाक्टर उपेन्द्र देवकोटा आफ्नै अस्पतालमा छन्। गत शनिवार नेपाल फर्केका उनी बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। अस्पतालले उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताए पनि उनी आफैले भने धेरै समय नबाच्ने कुरा सार्वजानिक गरिसकेका छन्।
बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो। उनी नेपाल फर्केको केही दिनपछि अस्पतालले देवकोटाको स्वास्थ्य अवस्थास्थिर रहेको सार्वजानिक गर्यो।
अस्पतालको विज्ञप्ति आएसँगै उनलाई निको नहुने रोग लागेको अड्कल बाजी हुन सुरु भइसकेको थियो। नभन्दै त्यस्ता अड्कलबाजीलाई उनी आफैले स्वीकार गरे। अर्थात् उनले आफुलाई 'वाइल डक्ट' (पित्त थैली) क्यान्सर देखिएको कुरा सार्वजानिक गरे।
चिकित्सकहरुका अनुसार 'वाइल डक्ट' अर्थात् निको नहुने क्यान्सर हो। यो क्यान्सर लागेपछि मानिसको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ। अर्थात १ प्रतिशत भन्दा कम।
आत्मविश्वासले क्यान्सर जित्न सकिन्छ र कतिपय मानिसहरु आत्मविश्वसकै कारण क्यान्सर जितेको समेत बताउँदै आएका छन्। तर, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अविश अधिकारी भन्छन्, 'आत्मविश्वासले क्यान्सर जित्न सकिन्न। क्यान्सर आत्मविश्वासले जित्ने रोग पनि हैन।'
उनी विश्वभर चर्चित कम्पनी एप्पलका मालिक स्टिभ्स जब्सको उदारण दिँदै भन्छन्, 'स्टिभ्स जब्सको मृत्यु पनि क्यान्सरकै कारण भयो। न उनको आत्मविश्वासले क्यान्सर जित्यो। न त उपचारले नै।'
स्टिब्स जब्सलाई प्यान्क्रियाजको क्यान्सर भएको थियो। जुन क्यान्सर ब्रेन क्यान्सर, ब्रेन ट्युमर क्यान्सर र पित्त नलीको क्यान्सर जस्तै खतरनाक थियो। डा देवकोटालाई पनि त्यस्तै खतरनाक क्यान्सर भएको हो। जसबाट बाँच्ने सम्भावना अत्यन्तै कम छ।
कतिपय मानिसहरु क्यान्सर लाग्दा समेत बाँचेका उदारण नभएका होइनन्। कसरी बाँच्छन् त त्यस्ता व्यक्ति?
डाक्टर अधिकारीका अनुसार क्यान्सरका तीन आधार छन् -
- पहिलो, क्यान्सरको प्रकृति।
- दोस्रो, कुन अंगको क्यान्सर।
- तेस्रो, कुन स्टेजको क्यान्सर।
यो कस्तो क्यान्सर?
पित्त थैली वा पित्त नलीको क्यान्सर नराम्रो क्यान्सरको क्याटोगरीमा पर्ने क्यान्सर हो। यस्ता क्यान्सर विकसित देशका विरामीमा पनि ढिलो मात्र देखिन्छ। अर्थात् क्यान्सर लास्ट स्टेजमा आइपुग्दा मात्र थाहा हुने क्यान्सर हो— पित्त नलीको क्यान्सर। डा अधिकारी भन्छन्, 'कलेजो भन्दामुनि हुने भएकाले यस्ता क्यान्सरहरु ढिलो मात्रामा थाहा हुन्छ। अर्थात् जण्डिस भएपछि मात्र क्यान्सर भएको थाहा हुन्छ, त्यो पनि चेकअप गराए मात्र।'डा अधिकारीका अनुसार कलेजोले पित्त बनाउँछ। कलेजोबाट पित्त बग्दैबग्दै पित्त थैलीमा बस्छ। पित्तको थैलीको पित्त बगेर आन्द्रामा मिसिन्छ। डा अधिकारी भन्छन्, 'पित्त थैली, पित्तको नली र कलेजोको पित्त भनेको फरक कुरा हो। डा देवकोटालाई कुन अंगमा कस्तो क्यान्सर भएको थाहा छैन्। क्यान्सर कुन स्टेजमा छ र कुन अंगमा छ त्यो नि प्रष्ट छैन।'
डा देवकोटाले स्वीकार गरेको कुरा के हो भने उनलाई निको नहुने रोग लागेको छ। त्यो भन्दा बढी अरु केही भन्न सकिने अवस्था छैन।
'किन हुन्न त निको?'
अन्तिम अवस्थाको क्यान्सरको उपचार भन्दा पनि रोकथाम गर्न सकिन्छ। सर्जरी, रेडिएसन र केमोथेरापी क्यान्सरका चलेका उपचार पद्धति हुन्। सर्जरी र रेडियसन पद्धति सबै किसिमका क्यान्सरलाई सम्भव हुन्न। केमोथेरापी क्यान्सरको सुरुवाती अवस्थादेखि अन्तिम अवस्थासम्मको लागि उपयोगी उपचार विधि हो।स्वास्थ्य सम्बन्धि चर्चित साइट वेबमेड डटकम लेख्छ- क्यान्सर केमोथेरापी विभिन्न प्रकारका औषधि प्रयोग गरी क्यान्सर निर्मुल गर्ने पद्धति हो। औषधि प्रयोगले क्यान्सर कोसिकाहरूलाई मारेर शरीरलाई क्यान्सरमुक्त बनाउने काम गर्छ। केमोथेरापी पद्धतिमा विभिन्न प्रकारका इन्जेक्सन औषधिलाई सलाइन पानीमा मिसाएर दिइन्छ। कतिपय केमोथेरापी औषधि खाने चक्कीको रुपमा पनि हुन्छ।
क्यान्सरको अवस्था अनुसार किमोथेरापी गर्ने तरिका पनि फरक हुन्छ। क्यान्सर सम्बन्धि वेबसाइट केमोकेयरका अनुसार क्यान्सरको स्टेज र कुन क्यान्सर भएको हो त्यो अनुसार नै यस्ता फरक फरक केमोथेरापी गरिन्छ।
क्युरेटिभ इन्टेन्ट सबै प्रकारको क्यान्सरमा सम्भव छैन। तर यो उपचारपछि क्यान्सर मुक्त भएर बिरामीहरुले जीवन निर्वाह गर्न सक्छन्।
आडजुव्हेट इन्टेन्ट क्यान्सरको अपरेसन गरेका बिरामीलाई गर्ने केमोथेरापी हो। क्यान्सरमुक्त गर्नकै लागि अपरेशन पछि केमोथेरापी गरिन्छ।
निकक आडजुव्हेट इन्टेन्ट अपरेसन गर्नुभन्दा अघि ट्युमरको साइज ठूलो भएमा गरिने किमोथेरापी हो। यो केमोथेरापीपछि क्यान्सरको अपरेसन गरिन्छ।
प्यालियेटिव इन्टेन्ट निर्मुल गर्न नसकिने क्यान्सरहरुलाई गर्ने किमोथेरापी हो। क्यान्सरबाट हुने लक्षण कम गरी बिरामीको जीवन बढी सजिलो बनाउनको लागि यो किमोथेरापी गरिन्छ। यस प्रकारको केमोथेरापीबाट बिरामीको आयु पनि केही लम्बिन्छ।
पित्त थैलीको क्यान्सर, प्याङक्रियाजको क्यान्सर, मेटास्टाटिक ब्रेस्ट क्यान्सर, मेटास्टाटिक आन्द्राको क्यान्सर र रिकरेन्ट क्यान्सर लगायतका क्यान्सरमा प्यालियेटिव इन्टेन्ट केमोथेरापी गरिन्छ। यसले बिरामीको आयु बढाउने काम गर्छ।
'त्यसो भए किमो थेरापी नगरी किन फर्किए त देवकोटा?'
चिकित्सकहरु भन्छन् फाइदाको साथसाथै किमोथेरापीको असरहरु पनि धेरै छन्। त्यसको असर जानेर नै डा देवकोटा नेपाल फर्के।क्यान्सर सम्बन्धि वेबसाइट क्यान्सर डट नेट लेख्छ- केमोथेरापी सिस्टेमिक थेरापी भएको हुँनाले यसले क्यान्सर कोसिकाका साथै नर्मल कोसिकामा पनि असर गर्छ।
किमोथेरापीकै कारण कपाल झर्ने, मुखमा घाउ आउनेजस्ता असर देखिन्छ। शरीरको रगत कम हुने केमोथेरापीकै कारण हो। न्यूट्रोफिल कम भइ इन्फेक्सन हुने, प्लटेलेट कम भइ रगत बग्ने असर पनि केमोथेरापीकै कारणले हुन्छ। केमोथेरापीको असरले शरीर कमजोर हुने, आलस्य हुने, केही पनि गर्ने शक्ति नभएको जस्तो हुने गर्छ।