PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यो मूर्तिको कति? : एक करोड ३५ लाख हजुर  



सविन ढकाल

यो मूर्तिको कति? : एक करोड ३५ लाख हजुर  

काठमाडौं : 'यो मूर्तिको मूल्य कति हो साहुजी?'

बिक्रेताको मूल्य आउँछ – 'एक करोड ३५ लाख रुपैयाँ।'

मूर्तिको मूल्य चर्को सुनेपछि सुरु भयो 'बार्गेनिङ'। बेच्नेले मूर्तिको मूल्यसँग यसका विशेषता जोड्न थाले।

 'एकदमै मूल्यवान हो यो। १२ ‌औं शताव्दीको मूर्ति,' विक्रेताले बताए। मुर्ति हो 'रत्न सम्भव'को। ९ सय वर्ष पुरानो।

 व्यवसायी दीपकरत्न शाक्यले यति भनेपछि किन्न पुगेका व्यक्तिको अनुमान सही निक्लिन्छ। क्रेताको भेषमा थिए प्रहरी।

केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अधिकृतले तत्काल शाक्यलाई नियन्त्रणमा लिन्छन्।

 प्राचिन मूर्तिको अवैध बिक्रीमा जुटेका दीपकरत्नसँगै उनका दाजुभाइ सुगनरत्न शाक्य र शिशिर शाक्यलाई पनि प्रहरीले पक्राउ गरे। तीन पुस्तादेखि यस्तै मूर्तिको व्यापारमा थिए – शाक्य परिवार।

विशेष सुचनाको आधारमा नेपालका प्राचिन मुर्तिको कारोबार हुने गरेको सुचनाको आधारमा व्यूरोले 'अप्रेसन' शुरु गरेको व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।

व्यूरोको टोलीले शाक्य परिवारले संचालन गरेको तीन वटा पसलबाट २४ थान मुर्ति, १८ थान विभिन्न धानुका मूल्यवान प्रतिमा र पुराना प्वाल पारेका सिक्का १ सय १ थान समेत बरामद गरेको छ। डिआइजी कार्कीले भने, 'विदेशीहरुले करोडौं मूल्य तिरेर नेपालबाट प्राचिन मूर्ति लग्ने गरेका छन्।'

भाइवर र ह्वाट्सअपबाट मूर्तिको माग

विदेशीहरुले शाक्यसँग सामाजिक सञ्जाल भाइवर र ह्वाटसअपको माध्यबाट प्राचिन मूर्तिको कारोबार गर्नेगरेको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरुले एउटा मूर्तिको ५० लाखदेखि एक करोड ५० लाख रुपैयाँसम्ममा खरिद गर्ने गरेको डिआइजी कार्कीले बताए। उनीहरुले घरमा सजावट र अन्य प्रयोजनका लागि पनि मुर्तिको खरिद गर्ने गरेका छन्। यसरी प्राचिन मुर्ति खरिद गर्नेमा सबैभन्दा बढी चिनियाँ रहेको खुल्न आएको छ। नेपालबाट बिक्री भएका मूर्ति अमेरिका, जापान, यूरोप लगायतका देशमा जाने गरेको छ।

मन्दिरबाट मुर्ति चोरी

विदेशीको माग अनुसार व्यापारीहरुले मठमन्दिर, देवालयबाट मूर्ति ल्याउने गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए। उनले भने, 'व्यापारीले केही पैसा दिएर अरुलाई नै मूर्ति चोरेर ल्याउन लगाउँछन्।' प्रहरीले बरामत गरेका केही मूर्ति हालै उखेलेर ल्याएको देखिन्छ।

पूरातत्वकै कर्मचारी शंकाको घेरामा

प्रचिन मूर्तिको कारोबारमा पुरात्व विभागका केही कर्मचारीको समेत मिलोमतो भएको हुनसक्ने भएकाले अनुसन्धान थालिएको छ। बिदेशीले किनेको मूर्ति विदेश लैजान विभागको अनुमति लिनुपर्छ। विभागबाट बिक्री भएको मुर्ति 'एन्टिक लुक'को भएको पत्र दिएपछि सजिलै लैजान पाउँछन्। एक प्रहरी अधिकृत भन्छन्, 'विभागसँग मूर्ति कति पुरानो हो भन्ने चेक गर्ने कुनै मापदण्ड छैन। नाङ्गो आँखाले मुर्तिको बारेमा थाहा हुँदैन। थाहा भए पनि व्यापारीले आर्थिक प्रलोभनमा पार्ने गरेको पनि हुनसक्छ।'
विभागले स्वकृत दिएको पत्र भए सहजै विमानस्थलबाट मूर्ति बाहिरिन्छ। चिनियाँ मूर्ति तस्करले सडकमार्गबाट पनि तस्करी गर्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell