PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोदीको भ्रमणका लागि 'रेकी' गर्न भारतीय हवाई सेना नेपालमा, के नेपाली सुरक्षाकर्मी कमजोर छन्?



पहिलोपोस्ट

मोदीको भ्रमणका लागि 'रेकी' गर्न भारतीय हवाई सेना नेपालमा, के नेपाली सुरक्षाकर्मी कमजोर छन्?
फोटो : पुरन साह

  • बिधुर ढकाल / बीपी साह
काठमाडौं : वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति भारतीय सुरक्षाकर्मीको चासो बढेको छ। त्यसैले भारतीय वायुसेना आज नेपाल प्रवेश गरेको छ। मोदीको भ्रमणका लागि सुरक्षा अवस्था बुझ्न भारतीय वायुसेनाको विमानले जनकपुरको अवलोकन गरेको छ। मुक्तिनाथ, काठमाडौंमासमेत भारतीय सुरक्षा निकायको निगरानी छ। सोमवार भारतीय वायु सेनाको विमान जनकपुरबाट नेपाल प्रवेश गर्‍यो। सोमबार दिउसो करिब १:१५ बजे दिल्लीबाट आएको वायुसेनाको विमान जनकपुरस्थित विमानस्थलमा अवतरण गरेको थियो। 

वैशाख २८ गते बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको राजधानी पटना हुँदै जनकपुर प्रवेश गर्दैछन्। उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पाँच घेराको सुरक्षा योजनासमेत तयार गरेको छ। 

उनको सुरक्षामा जनकपुरमा मात्रै ७ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका अधिकारी तथा मोदीको नजिकको घेरामा भारतीय सुरक्षाकर्मी रहने गरी पाँच घेराको सुरक्षा योजना बनेको छ। 
 

के नेपालले मोदीको सुरक्षा दिन सक्दैन?

भारतीय प्रधानमन्त्रीको सुरक्षा चासो बढ्दै जाँदा एउटा प्रश्न भने खडा भएको छ। के नेपाल सुरक्षित छैन? के नेपाली सुरक्षा निकाय भारतीय प्रधानमन्त्रीको सुरक्षा दिन सक्षम छैनन्? भारतीय वायुसेनाको विमानमा सेनाका २५ जना अधिकारीहरु जनकपुर विमानस्थलमा ओर्लिएपछि स्वभाविक रुपमा यस्तो प्रश्न उठेको हो।  

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता गोकुल भण्डारी नेपाली सेना सुरक्षा प्रदान गर्न सक्षम रहेको दाबी गर्छन्। 

‘हामी उहाँको सुरक्षा दिन सक्षम छौं, भारतीय सेना नेपाल आउनुलाई नै लिएर हामी असुरक्षित र असक्षम छौं भन्ने होइन्,’ उनले भने, ‘राष्ट्र प्रमुखको भ्रमणका बेला अर्को देशका सुरक्षाकर्मी आउनु सामान्य हो, हामी पनि प्रधानमन्त्रीको भारत भ्रमणको बेला त्यहाँ गएका थियौँ। हामी सानो संख्यामा थियौँ, उनीहरु ठूलो र एड्भान्स रुपमा आएका छन्।’ 

भारतीय सुरक्षाकर्मीको यो सक्रियताले नेपाली सेनाको विश्वसनीयता माथि प्रश्न खडा भएको सुरक्षा तथा भूराजनीतिका मामिलामा जानकार गेजा शर्मा वाग्ले बताउँछन्। 

‘आफ्नो प्रधानमन्त्रीको सुरक्षामा भारतीय चासो स्वभाभिक नै हो। उनलाई उच्च सुरक्षा थ्रेट रहन्छ,’ उनले पहिलोपोस्टसँग भने, ‘यसको मतलब नेपाली सेना उनको सुरक्षा दिन असक्षम छ भन्ने होइन। नेपालले भारतलाई भन्न सक्नुपर्थ्यो -हामी सुरक्षा दिन सक्षम छौं। तपाईँहरुले चिन्ता लिनु पर्दैन। नेपालले भन्न नसक्नु हाम्रो कमजोरी हो।’ 

यसले गलत नजिर बस्नसक्ने तर्फ उनले सचेत गराए। ‘आज भारतीय प्रधानमन्त्री आँउदै छन्, भोलि चिनियाँ राष्ट्रपति आउलान्, बेलायतका प्रधानमन्त्री आउलान्, अमेरिकाका राष्ट्रपति पनि आउलान्, त्यतिबेला पनि उनीहरुले उतैबाट आफ्ना सेना लिएर आए भने के बुझ्ने? यसले नेपाली सेना सक्षम छैन भन्ने नजिर बस्न सक्छ,’ उनले भने।
 
नेपालले भारतीय पक्षलाई सुरक्षा प्रत्याभूति दिन नसकेको उनको भनाई छ। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको सुरक्षा योजना भारतीय सेनाले नै बनाउनु नेपाली सेनाको सक्षमतामाथि प्रश्न उठाएको वाग्लेले बताए। 
 

अनुमतिमै आयो सैनिक विमान

भारतीय वायु सेनाको विमान जनकपुर प्रवेशका लागि नेपालले अनुमति दिएको थियो। नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाली पक्षको अनुमति लिएर नै विमान नेपाल प्रवेश गरेको जानकारी दिए। 

‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको लागि कुटनीतिक रुपमा अनुरोध भइ आएपछि अनुमति दिइएको हो,’ उनले भने, ‘कुटनीतिक रुपमा भीभीआईपी मुभमेन्ट हुँदा यसअघि पनि यस्तो हुन्थ्यो। यसलाई अन्यथा लिनु हुन्न।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell